खोला र ढलमा के फरक छ खोला प्राकृतिक रूपमा वनेको संरचना हो भने ढल नितान्त पानी निकासका लागि बनाइएको संरचना हो । खोलालाई कृत्रिम रूपमा फर्काउन सकिन्छ तर त्यो खोलो नै रहन्छ ढल बन्दैन । प्राकृतिक नदीनालामा मलमूत्र विसर्जन गर्ने गराउने कार्य विकासको विकृति हो, त्यसो गर्दैमा सो नदी जति गन्हाए पनि त्यसलाई ढल भन्न मिल्दैन । त्यसैले, टुकुचा खोला वा नदी नै हो ढल होइन ।
दोस्रो विषय : टुकुचा नदीको उद्गम स्थल
यो नदीको उद्गमस्थल चुनदेवी मन्दिर पछाडिको क्षेत्र हो । विगतमा यसको सुरुवात जहाँसुकैबाट भएको भए पनि हाल यसको सुरुवात महाराजगन्ज चक्रपथ भन्दा उत्तर तिर पर्न सक्तैन । यो वर्षातको समयमा मात्र बग्ने खहरे होइन, यो नदी वर्षभरि नै बग्दछ। चुनदेवी मन्दिर पछाडिको ढुङ्गेधारा यसको एक सुरुवाती श्रोत हो । त्यसैले, यो नदी काठमाडौँ खाल्डोका बागमती, विष्णुमती, धोविखोला जस्तै भूमिगत जलमा आधारित नदी हो र वर्षातको समयमा बाढी आउनु यस क्षेत्रका सबै नदीहरूको प्राकृतिक विशेषता हो ।
तेस्रो विषय : नदी प्रदूषण तथा भौतिक संरचना
यो नदी काठमाण्डौका दरवारक्षेत्रबाट बग्ने गरेकाले यसको प्रदूषित हुने दुर्भाग्यको सुरुवात भएको हुनुपर्दछ । यस नदीमा ढल मिसाउने कार्य कसले र कहिले सुरु गर्यो भन्ने विषय अनुसन्धानको विषय बन्न सक्छ किनभने हिन्दु धर्म अनुसार दिशा पिसाबलाई नदीमा फाल्न वा विसर्जन गर्न त के नदीको धारको धेरै नजिक दिशा पिसाब गर्दा समेत पाप लाग्छ भन्ने विश्वास गर्ने जो कहिले पनि यस्तो पापजन्य कार्य गर्न सक्तैन । राणा शासन जस्तो धर्मका नाममा कडा शासनकालमा त त्यस्तो कार्य जनताबाट हुनै सक्तैन थियो । त्यसैले, बेलायतको भ्रमण गरेका राणाजीहरूले बेलायतको देखासिकी गरी चाकडिवाजहरुको सल्लाहमा यस नदीमा ढल मिसाउने कार्यको सुरुवात गरेको हुनुपर्दछ ।
यसको सुरुवात नारायणहिटी दरबारमा बस्ने धार्मिक प्रवृत्तिका रणोद्दिप सिंहबाट नभई धीर शमशेरको दरबार, लाल दरबार वा हात्तीसार दरबारबाट भएको अनुमान गर्न सकिन्छ । त्यसैले, काठमाण्डौका जनताले नदीमा दरबारको ढल मिसाइएको नदेखुन् र धार्मिक आस्था कायम रहोस् भन्ने हेतुले यो नदीलाई बि.सं १९४९ मा प्रधानमन्त्री वीर शमशेरका नाममा देव शमशेरले जारी गरेको लिखतमा उल्लेख गरिए बमोजिम दरबारको पटाङ्गिनी विस्तार गर्न होइन अपितु यो पापजन्य कार्यको ढाकछोप गर्न यस नदीलाई भूमिगत गरिएको हुनुपर्दछ । तर कालान्तरमा गएर यस नदीमा नारायणहिटी दरबार, सेतो दरबार, लाल दरबार, हात्तीसार दरबार आदी नजिकका सबै दरबारहरूबाट ढल निकास गरिएको हुन सक्तछ । तर, सो भएको भए ढल निकास गर्न बनाइएका सो समयका अन्य संरचनाहरू जे जस्तो अवस्थामा भए पनि हाल सम्म विद्यमान हुनु पर्दछ ।
चौथो विषय : ढल निकासको व्यापकता
दरबार बाहेक यस नदीमा ढल मिसाउने कार्यको सुरुवात दरबारका गुरुपुरहित, सरदार तथा अन्य उच्चपदस्थ कर्मचारी, चाकडिबाजहरुबाट दरबारको देखासिकीमा भएको हुन सक्तछ । २००७ साल पछि काठमाडौँ उपत्यकामा व्यापक जनसङ्ख्या बढे सँगै उपत्यकावासी नेपालीहरूको धार्मिक आस्थामा समेत भएको गिरावट तथा अन्य चलाखी र लोभका कारण यो नदी लगायत अन्य सबै नदीहरूको अपमानजनक सङ्कुचन तथा प्रदूषण भएको अनुमान गर्न सकिन्छ ।
पाँचौँ विषय : भौतिक संरचनाको विवाद
तर जसले यो आपराधिक कार्यको प्रारम्भ गरेको भए पनि इतिहासको जुनसुकै कालखण्डमा यो नदी मिचाई, प्रदूषण लगायत नदी माथि नै भौतिक संरचनाहरू निर्माण भई सञ्चालन हुन गएको भए पनि यस्तो कार्यले काठमाण्डौवासीहरुको गौरवशाली सभ्यताको प्रदर्शन गर्दैन । यस्तो कार्य जो सुकैले गरेको भएता पनि यो गैर कानुनी कार्य हो भन्ने कुरामा कुनै शङ्का छैन । यसलाई भत्काउन भइरहेको प्रयासको उचित मूल्याङ्कन इतिहासले गर्ने नै छ तर यो विषयलाई लिएर हाल भइरहेको पक्ष विपक्षको विवाद गर्ने जो कोहीले पनि निम्न बमोजिमका प्रश्नहरूको उत्तर दिएर मात्र विवादमा पस्न उचित होला ।
प्रश्न १ : १९४९ को जग्गा प्राप्ति बारेको वीर शमशेरको पालाको लिखत ले यो संरचना सोही समयमा भएको प्रमाणित गर्छ कि गर्दैन ?
प्रश्न २ : यसको निर्माण कार्य तत्काल सुरु गरी ५ वर्षमा सम्पन्न भएको भए यो नदीलाई सीमित गर्ने कार्य सम्पन्न भएको यो संरचनाको उमेर करिब १२५ वर्ष भयो ? यस्तो १२५ वर्ष पुरानो संरचनालाई नष्ट गर्न वा भत्काउन हुन्छ कि हुँदैन ?
प्रश्न ३ : यदि हुँदैन भने कति वर्ष सम्म पुरानो भौतिक संरचनालाई भत्काउन मिल्दैन ? अनि सो भन्दा १ वर्ष पछि निर्माण सम्पन्न भएको संरचना भत्काउन मिल्छ त ? कि हाल निर्माण सम्पन्न भई चालु अवस्थामा रहेका कुनै पनि भौतिक संरचनाहरूलाई भत्काउन मिल्दैन ?
प्रश्न ४ : यदि उत्खननका क्रममा माथि उल्लेख गरिएका दरबारहरू वा अन्य भवनहरूबाट १९४९ कै हाराहारीमा निर्माण भई चालु अवस्थामा रहेका नदीमा निकास गर्ने ढलहरू भेटिए त्यस्ता संरचना ढलहरूलाई भत्काउन मिल्छ कि मिल्दैन ? कति पुराना सम्मका त्यस्ता भौतिक संरचनाहरूलाई भत्काउन मिल्दैन ? वा कुनैलाई पनि मिल्दैन ?
प्रश्न ५ : यदि नदीमाथि निर्माण गरिएका भौतिक संरचनालाई नभत्काई यथावत् अवस्थामा राख्दा त्यस्ता भौतिक संरचनाहरूको डिजाइन कत्तिको सुरक्षित छ भन्ने विषय र सो सँग सम्बन्धी जोखिम महानगरपालिकाको चासोको विषय हो कि होइन ?
प्रश्न ६ : हराभरा काठमाण्डौको अग्रगामी नारा सहित प्रदूषण रहित काठमाण्डौको सपना देख्ने देखाउने सबैले नदिको प्राकृतिक अधिकारका बारेमा पनि सोच्ने वेला भएन र ?
अन्त्यमा, हाल टुकुचामा भएको महानगरपालिकाको कदमले नेपालभरिका खोलानाला मिचुवाहरुलाई केही न केही सन्देश त पक्कै दिएको होला । साथै यस कदमले काठमाडौँ उपत्यकाभरिका नगरपालिका प्रमुखहरूलाई पनि आफ्नो नगरपालिका क्षेत्र भित्र केही गर्ने उचित दबाब सिर्जना गर्छ होला भन्ने विश्वास गरेको छु ।
[ शर्मा नेपाल विद्युत् प्राधिकरणमा ३० सेवा गरेर १० वर्ष अगाडि निर्देशक पदबाट सेवा निवृत्त भएका हुन । हाल उनी नेपाल पानी सदुपयोग फाउन्डेशन, काठमाडौँमा आबद्ध छन् साथै बाग्मती शुद्धीकरण अभियानमा अभियन्ताको रूपमा सक्रिय छन् ।
Email : govindaspokharel@gmail.com ]