- गोविन्द शर्मा पोखरेल
आज अक्टोबर महिनाको ३ तारिख, आज २०७९ सालको मनसुनको अन्तिम दिन र आज शायद यस वर्षको बाढी पहिरोको विलाप गर्ने अन्तिम दिन, अन्तिम मौका । यस्तै छ हाम्रो एडभोकेसी । खडेरी परेको वेलामा बाढीको विलाप कसले सुन्छ ? अव फेरी २०८० को असारमा भेट होला बाढीका नयाँ गीत र नयाँ शब्द तथा उही परिवेशमा । अलबिदा २०७९ को बाढी ।
बाढी के हो : नेपालमा बाढी एउटा नियमित प्रक्रिया हो । नेपालमा प्रत्येक वर्ष बर्षातको समयमा, साउन भदौमा बाढी आउँछ । यो नौलो कुरो होइन । यो प्रत्येक वर्ष आउँछ । कुनै पनि श्रोतबाट पानी आई पानी बग्ने मार्ग वा खोलामा वा नदीमा पानीको मात्रा स्वाभाविक वा अस्वाभाविक रूपमा बढ्यो भने त्यसलाई बाढी भनिन्छ । बाढीको खास परिभाषा यही हो । प्रत्येक बाढीको पानी सँग मिसिएर विभिन्न गेग्र्यान, माटो, रुख पात हाँगा आदी मध्ये केही वा सबै बग्नु नेपालको बाढीको साधारण चरित्र हो ।
साधारण बाढी नियमित प्राकृतिक प्रक्रिया हो । त्यसैले यो कुनै प्रकोप होइन किनभने कुनै पनि नियमित प्रक्रिया प्रकोप होइन । साथै प्रत्येक वर्ष बर्षातको समयमा ठुला बाढीहरू पनि आउँछन् । तर नदीमा आउने सबै ठुला बाढीहरू पनि प्रकोप होईनन । किनभने बाढीहरू साना ठुला त हुन्छन् नै । तर, कहिले कहिले अस्वाभाविक रूपमा अति ठुला बाढीहरू आउन सक्छन् जुन साधरणतया सालाखाला १०० वर्ष वा सो भन्दा ठुलो अन्तरालमा मात्र आउने गर्छन् । यस्ता अस्वाभाविक रूपका ठुला बाढीहरूलाई प्रकोप मान्न सकिन्छ । यस्ता बाढीहरूको केही उदाहरणमा २०५० सालमा बाग्मती तथा पूर्वी राप्ती र त्रिशूली जलाधार क्षेत्रमा आएका भीषण बाढी, कोसी नदिमा आएको १९५४ (वि.सं २०१०) साल र १९६८ (वि.सं २०२५) सालमा आएको सबैभन्दा ठुला बाढीलाई लिन सकिन्छ । त्यस्तै २००८ अगस्ट १८ मा कुशाहाबाट कोसी नदीले पूर्वी तटबन्ध भत्काएर पसेको बाढीलाई पनि लिन सकिन्छ ।
बाढी विभिन्न प्रकारका हुन्छन्। जस्तै, साधारण बाढी, ठुला बाढी, असाधारण ठुला बाढी, आयातित बाढी, व्यवस्थित बाढी, परव्यवस्थित बाढी, पहाडी बाढी, आदी । धेरै बाढीजन्य प्रक्रियालाई नेपालमा पहिरो भनेर पनि भन्ने गरिन्छ तर यो ठिक पहिचान वा नामकरण भने होइन । किनभने बाढी र पहिरो प्राविधिक रूपमा भिन्न प्रक्रियाहरू हुन । तिनीहरूको परिचालन हुने प्रक्रिया, व्यवस्थापन र रोकथाम पनि त्यसै बमोजिम भिन्न हुन्छन् । त्यसैले तिनीहरूको नामकरण तथा पहिचान उचित रूपमा भए मात्र तिनीहरूको नियन्त्रण र व्यवस्थापन व्यवस्थित रूपमा गर्न सजिलो हुन्छ ।
साधारण बाढी, ठुला बाढी, असाधारण ठुला बाढी, यी तिन प्रकारका बाढीहरू नदी तथा खोलानालामा आउने गर्दछन् भने आयातित बाढी विभिन्न क्रियाकलाप सँग सम्बन्धित निर्माणले गर्दा सिर्जित भएका हुन्छन् । जस्तै कुलेखानीको इन्द्रसरोबर, तराईमा बाढी नियन्त्रणका लागि निर्मित बाँधहरू (embankments) का कारण आउने बाढी, २०६५ सालको भदौ (Aug 18, 2008) महिनामा कोसीको कुशाहाबाट छिरेको बाढी, आदी । कुलेखानीको इन्द्रसरोबर जस्तो पानीको व्यवस्थित सञ्चालन (regulation) गर्न निर्माण गरिएका पोखरी र तालहरूमा पानी जम्ने जमाउने कार्यले सो पोखरी तथा पोखरी निर्माणस्थलका बासिन्दामा ल्याएको बाढी । नेपाल भारत सिमानामा भारतले अन्तर्राष्ट्रिय कानुन तथा मानवीय मर्मका विपरीत नेपाल भित्र डुबान हुनेगरी निर्माण गरिएका संरचनाहरूका कारण नेपालमा सिर्जित बाढीहरू परव्यवस्थित बाढी को श्रेणीमा पर्दछन् । साथै, नेपाल भारत सम्झौताका आधारमा भारतद्वारा सञ्चालन सम्भार गरिएका पानी नियन्त्रण सँग सम्बन्धित कोसी, गण्डक तथा महाकाली टनकपुर जस्ता आयोजनामा भएका प्राविधिक तथा गैर प्राविधिक कारणले नेपालमा सिर्जना भएका बाढीहरू समेत परव्यवस्थित बाढी भित्र नै पर्दछन् । पहाडका खोल्सा खोल्सिमा विभिन्न कारणले आउने भल तथा सो भल सँगै बगेर आउने गेग्र्यान, माटो तथा रुख पात र बुट्यान (debris) जसलाई सामाजिक सञ्जालमा पहिरो भनिन्छ लाई पहिरो नभनेर “पहाडी बाढी” वा भल-पहिरो भन्न उचित हुन्छ । किनभने पहिरोको सर्वमान्य परिभाषाले नै यस प्रक्रियालाई पहिरो भित्र समेट्दैन ।
अव प्रकोपको कुरा गरौँ : प्रकोप भनेको विपत्ति हो । बर्षातका समयमा बर्षातका कारण आउने बाढी, पहिरो वा अर्को कुनै विपत्ति आदी सबै प्रकोप हुन र प्रत्येक प्रकोपको स्थायी समाधान हुनु पर्ने आवश्यकता हो । बाढी र प्रकोपको कुरा गर्दा सबैभन्दा बुझ्न जरुरी के छ भने बर्षातको मौसममा आउने बाढी प्राकृतिक प्रक्रिया हो तर यसलाई सरकारी अव्यवस्थाका कारण प्रकोपमा परिणत गरिन्छ । सरकारको प्रमुख दायित्व नागरिकको सुरक्षा भएता पनि सरकार अनुपस्थित भएको जस्तो अवस्थाले गर्दा तराईका जनता कम उचाइ भएको पानी जम्ने जमिनमा सके सम्म बाँच्न बाध्य छन् भने पहाडका जनता पहिरोको अत्यधिक जोखिम भएको भिरालो जग्गामा खेती गर्न र बस्न बाध्य छन् । प्रकोपलाई परिभाषित गर्ने प्रमुख पक्षहरूमा प्रकोपको अप्रत्याशित स्वरूप हो जुन धेरैजसो जोखिमयुक्त पहाडी क्षेत्र र तराईका नदी किनारका क्षेत्रहरूमा प्रायजसो पाइँदैन ।
बाढीलाई प्रकोपमा परिणत गराउने विभिन्न कारणहरू जे-जस्ता भए तापनि तिनीहरूको निराकरणमा निम्नलिखित तीन प्रकारका कमी कमजोरीहरू देखिएका छन् ।
१. पूर्व तयारीको कमी: नियमित रूपमा वर्षै पिच्छे वा केही वर्षको अन्तरालमा आएका बाढी तथा पहिरो जन्य जोखिमयुक्त स्थानहरूमा सके सम्म जोखिम ज्यादा भएको बर्षातको समयमा, खास गरी रातको समयमा नबस्नु वा बाध्यतावश बस्नै पर्ने भए चनाखो भएर बस्ने ता कि केही अप्रत्याशित घटना हुन आँटेमा आफ्नो, आफ्नो परिवार र छरछिमेक को बचावट गर्न सकियोस् ।
२. आपत्कालीन ज्ञानको कमी: पहिलो त कुन ठाउँमा कस्तो आपद् कति वेला आउन सक्छ भन्ने ज्ञान हुन जरुरी छ र कस्तो विपद् आएको वेला कतातिर भाग्ने वा सो विपद्को निराकरण कसरी गर्ने भन्ने ज्ञान जोखिमयुक्त स्थानहरूमा बस्ने सबैलाई हुनु अति नै आवश्यक छ ।
३. द्धिदेशीय सिमाना क्षेत्रमा बनाइएका पानी थुन्न सक्ने संरचनाहरू र त्यस्ता संरचनाहरूको प्रभाव बारे दुवै देशका प्रभावित क्षेत्रका राजनीतिक दल, राजनीतिक नेता तथा कार्यकत्र्ताहरुको उदासीनता र भारतीय पक्षको असहयोग र मिचाहा प्रवृत्तिले गर्दा द्धिदेशीय सहकार्यको अभाव भएको । यस्तो अवस्थामा अन्तर्राष्ट्रिय सिमानाको वारिपारि बस्ने स्थानिय जनताको सक्रियतामा प्रकोप न्यूनीकरणको काम भए मात्र "रेटी बेटी को सम्बन्ध" ले सार्थकता पाउँछ ।
थप विचार गर्नु पर्ने कुरा के छ भने जलवायु परिवत्र्तनका कारण माथि उल्लेखित प्रकोप तथा जोखिममा व्यापक वृद्धि भई धनजनको क्षतिमा समेत अकल्पनीय वृद्धि हुन सक्नेछ ।
समाधानका उपायहरुः
पानी पर्न रोक्न वा कम गर्न सम्भव छैन । त्यसैले बाढीलाई प्रकोप हुन नदिनु नै रोकथामको प्रमुख उपाय हो । प्रकोपको प्रकृति तथा कारण का आधारमा समाधानका उपायहरू खोजिनुपर्छ । केही यस्ता उपायहरू बारे तल चर्चा गरिएको छ ।
१. तराईमा नदीको सतह बढ्न नदिनु । यसो गर्न सम्भव नभए तत्कालकालागि समय मै सुरक्षित स्थानमा पलायन हुनु । दीर्घकालीन समाधानकालागि नदीमा जमेको सेडिमेन्टलाई नियमित रूपले सफा गर्ने । सो कार्य नियन्त्रित रूपमा हुनु पर्दछ किनभने अनियन्त्रित खोला दोहन ले नयाँ समस्याको सिर्जना गर्न सक्तछ । साथै खोला मिचेर संरचना बनाउने प्रवृत्तिको अन्त्य हुनु पर्दछ ।
२. नेपालको पहाडी क्षेत्रका नदी किनारमा आउने बाढी तथा अन्य स्थानमा आउने भल पहिरो भिन्न प्रक्रिया भएकाले तिनीहरूबाट बचाउ गर्ने उपायहरू समेत अलग अलग नै हुन्छन् ।
२क. नदी किनारमा आउने बाढी
माथि उल्लेख गरिए झैँ नदीहरूमा बर्षातको समयमा बाढी आउनु नियमित प्रक्रिया हो त्यसैले यो विपद् होइन । तर, माथिल्लो तटीय क्षेत्रमा हुनसक्ने प्रक्रियाहरू जस्तै हिमतालको विस्फोटन बाट आउन सक्ने बाढी (GLOF), खोला थुनिएर निर्मित ताल थुन्ने बाँध भत्किएर आउन सक्ने बाढी (LDLOF) वा अस्वाभाविक रूपमा भएको मुसलधारे वर्षाका कारण अप्रत्याशित रूपमा आउन सक्ने बाढीहरू पर्दछन् । यस्ता माथि उल्लेखित प्रकारका अप्रत्याशित रूपमा आउन सक्ने बाढीहरू तथा तिनीहरूले गर्न सक्ने क्षतिको सही आङ्कलन गर्न असम्भव प्राय हुने भएकाले त्यस्ता जोखिमयुक्त स्थानहरूमा स्थायी बास बनाउन प्रतिबन्धित हुनुपर्दछ । जलवायु परिवत्र्तनका कारण यस्ता प्रकोपजन्य प्रक्रियाहरूमा बढोत्तरी हुन सक्ने सम्भावना समेत भएकाले यस्ता असुरक्षित स्थानहरू स्थायी बसोवासकालागि अयोग्य हुन्छन् । त्यसैले, सोही अनुरूपको सरकारी नीति नियमहरू बन्नुपर्दछ र तिनीहरूको पालना हुनुपर्दछ ।
नेपालमा अत्यधिक प्रचलनमा भएको खोला मिचेर भवन तथा संरचनाहरू निर्माण गर्ने कार्य तत्काल र स्थायी रूपमा बन्द गरिनु पर्दछ । सरकारी निकायहरू तथा ठुला ठालु वर्गले यस्तो कार्य ज्यादा मात्रामा गर्ने पाइएकाले यो नियन्त्रण गर्न अलिक कठिन भए पनि यस्तो कार्यले अन्यलाई समेत बलमिच्यांई गर्न प्रोत्साहित गर्ने भएकाले जसरी भए पनि यस्तो गलत कार्य पूर्ण रूपमा निरुत्साहित गर्नु पर्दछ ।
२ख. पहाडका अन्य स्थानमा आउने भल पहिरो तथा पहिरो
भल पहिरो तथा पहिरो पहाडी क्षेत्रमा बसोबास गर्ने सवैकालागि ठुलो जोखिमको विषय हो । यस्ता भल पहिरो तथा पहिरो आउन सक्ने क्षेत्रहरूको पहिचान सधैँ सरल नभए पनि पहाडवासी नेपालीहरूको धनजनको सुरक्षाको लागि अति आवश्यक छ । त्यसैले, यस्ता क्षेत्रहरूको पहिचान गर्ने अथवा भल पहिरो तथा पहिरो नआउने क्षेत्रहरूको पहिचान गरी स्थायी बसोबास कालागि योग्य र अयोग्य क्षेत्रमा विभाजन गर्ने र स्थायी बसोबासकालागि अयोग्य ठानिएका क्षेत्रहरूमा स्थायी बास बनाउन निषेध गरिनु पर्दछ । यो कार्य भने जस्तो सजिलो छैन तर पहाडवासीहरूको सुरक्षाका लागि यो अति नै आवश्यक छ ।
३. नेपाल भारत सिमानामा भारत तर्फ निर्माण भएका पानीको बहाव रोक्ने संरचना हटाउन नेपालका तर्फबाट उचित पहल गर्नु जरुरी छ । यस्तो कार्यको वैकल्पिक उपाय केही हुँदैन । तर, अन्तर्राष्ट्रिय सिमानाको वारीपारी बसोबास गर्ने स्थानिय जनसमुदायले आपसमा मिलेर यसको स्थायी समाधान निकाल्ने एउटा विकल्प देखिए पनि त्यस्ता गलत डिजाइन वा गलत मनसायले डिजाइन गरिएका संरचनाहरू हटाउने वा तिनीहरूको डिजाइन परिवर्तन गरी गराई नेपालमा त्यस्ता संरचनाहरूबाट हुने हानी नोक्सानी तथा जोखिम उन्मुलन गर्ने ।
४. बाँधहरूको निर्माण गरेर बाढीको प्रकोप कम गर्ने ।
पहाडमा पहिरो तथा भूक्षयको जोखिम कम गर्न सानाकालागि साना संरचनाका साथै साधारण उपायहरू गर्ने तथा ठुला जोखिमका लागि विशेष प्रकारका संरचनाहरूको निर्माण का साथै अन्य आवश्यक रोकथामका कार्यहरू गर्ने गराउने । ठाउँ-ठाउँमा पोखरीहरूको निर्माण तथा सञ्चालन सम्भार गरेर पनि पहिरोको रोकथाममा सहयोग गर्न सकिन्छ । साथै विभिन्न साइजका बाँधहरूको (साबोबांध) को निर्माणबाट बाढी पहिरो र भल पहिरो को व्यवस्थापन गरी जोखिम न्यूनीकरण गर्न सकिन्छ ।
नेपालमा बाढी पहिरोको कुरा वर्षा लागे पछि गर्न प्रारम्भ गरी वर्षा सकिने बित्तिकै सेलाउने प्रवृत्ति सबै भन्दा घातक हो । यसले नेपालमा बाढी पहिरोलाई जोखिममा अवस्थित स्थानिय बासिन्दा बाहेक अन्य सबैले गफ गर्ने विधा मात्र बनाएको भान हुन्छ । किनभने, सबै अध्ययन अनुसन्धान र पूर्व तयारीका कार्यहरू तथा सो विषयमा स्थानिय बासिन्दाहरूलाई सुसूचित गर्ने समय नै हिउँदको समय हो, यस वेला सो कार्य नगरे अर्को बर्षातमा फेरी उस्तै गीत विलाप गाउनु पर्ने हुन्छ ।
त्यसैले, सबै सम्बन्धित व्यक्ति तथा निकायहरूमा आवश्यक खबरदारी गर्न यो छोटो आलेख लेख्ने कार्य गरेको हुँ ।
आवद्धता : नेपाल पानी सदुपयोग फाउन्डेशन