• विजय लुम्फुङवा लिम्बु

विषय प्रवेश

बसाइसराइ सधैँ मानव समाजको एक विशेषता रही आएको छ । बसाइसराइ हुनमा धेरै कारणहरू छन् जसमा आर्थिक कारण, राजनीतिक उथलपुथल, प्राकृतिक प्रकोप, युद्ध र महामारी आदी प्रमुख छन् । यस्तै बसाइसराइले मानिसको प्रवास बसाई सुरुवात हुनको साथै स्थायी हुने गर्दछ । साझा पुस्तकको शब्दकोशलाई मान्ने हो भने प्रवास भन्नाले प्रदेशको बसाई वा विदेशमा बास भन्ने बुझाउँछ । जुन आफ्नो देशको सिमाना भन्दा फरक संस्कृति, कानुन र वातावरणको बसाई हो । मानिस एक ठाउँबाट अर्का ठाउँमा बसाई विभिन्न कारणले सर्दछ त्यो आन्तरिक देश भित्र पनि हुन्छ भने विदेशमा पनि हुन्छ । प्रवास भन्नाले विदेशको बसाई बुझ्नु पर्दछ ।  यस लेखले बेलायत प्रवासमा नेपालीहरूको बसाई र सांस्कृतिक अन्तरघुलनको सम्बन्धमा संक्षिप्त चर्चा गर्ने प्रयास गर्दछ । 

वर्तमान विश्वमा देखिएको बसाइसराइलाई पुँजीवाद भित्र कै विशिष्ट विशेषताहरू लिन सकिन्छ । औद्योगिक क्रान्ति, उपनिवेशवादको सुरुवात,युद्ध , भौतिक विकाशले सृजित प्राकृतिक प्रकोप आदि यिनै कारणले वर्तमान विश्वमा बसाइसराइ उच्च तहमा छ । यद्यपि बसाइसराइलाई प्रायः पुँजीवादी समाजको “सामान्य ” कार्य प्रणालीमा विसङ्गति वा अवरोधको रूपमा प्रस्तुत गरिन्छ ।  यसलाई “उत्पादन पुनर्संरचना र श्रमिक–वर्ग पुनर्संरचनाको विकसित प्रक्रियाको अभिन्न तत्त्व“ भनेर अझ सही रूपमा बुझ्न सकिन्छ । त्यसैले यो एक वर्तमान पुँजीवादी व्यवस्था प्रणालीको परिणाम मान्न सकिन्छ । 

बेलायतमा नेपालीहरूको बसाई सराई बेलायती उपनिवेशवादको परिणाम हो भन्दा अत्युक्ति नहोला । नेपालीहरूको बेलायती सेनामा प्रवेश अनि विभिन्न युद्धहरूमा बेलायतको पक्षमा लडाई गर्नुले त्यसको पक्षमा मत दह्रो हुन्छ । पत्रकार तथा लेखक सत्नाम संघारे Empireland पुस्तकमा उल्लेख गरे अनुसार उपनिवेशवादका कारणले नै पनि बसाइसराइको ठुलो आयाम थपिएको कुरा स्विकार्छन् । उनले अझ अधि भन्छन् यस्ता बसाई सराई उपनिवेश पारिएका राष्ट्रहरूको अधिकार हो । यो लेखले विस्तृत रूपमा गोर्खा र उपनिवेशवादको विश्लेषण गर्दैन बरु नेपालीहरूको बेलायत बसाइँ सराई पछिको सांस्कृतिक अन्तरघुलनको अवस्था हेर्ने प्रयास गरेको छ । 

नेपालीहरूको बेलायतमा बसाई

बेलायतमा पहिलो पाइला टेक्ने व्यक्तिको कुरा गर्दा धेरै इतिहासकारहरूले तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको चर्चा गर्दछन् । तर पछिल्लो चोटि केही इतिहासहरूले मोतीलाल सिंह भन्ने व्यक्ति पहिलो बेलायत टेक्ने व्यक्ति हो भनेका छन् । उनी ब्रिटिस नेपाल युद्ध लडेर पछि इष्ट इन्डियाले निर्माण गरेका फस्ट बटालियन गोर्खामा सामेल भएका थिए । पछि निजलाई एक इङ्लिस क्याप्टेनले विभिन्न प्रलोभन देखाई बेलायत लगेका थिए । पछि उही मोतीलाल सिंह प्रधानमन्त्री जङ्गबहादुर राणाको बेलायत भ्रमणको बेला भेट भएको कुरा डा.कृष्ण प्रसाद अधिकारीले A Nepali in Victorian England भन्ने लेख उल्लेख गर्नु भएको छ । यस्तो हो भने बेलायत टेक्ने पहिलो नेपाली मोतीलाल सिंह हो । 

बेलायतमा पहिलो नेपालीहरूको बसोबास सुरुवात सन् १९६५ मा लन्डन वल्थिफिल्डमा रहेको कुरा त्यहाँका १४५ वल्थिफिल्ड स्ट्रिटमा रहेको स्मारकबाट प्रष्ट हुन्छ । बेलायतमा विध्यार्थीहरु अध्ययनको लागि आउने क्रम कहिलेबाट सुरु भयो यकिन भन्न नसकेता पनि नेपालीहरूको बसोबासको वृद्धि सन् २००४ मा पूर्व गोर्खा सैनिकहरूलाई आवासीय भिसाको सुविधा दिए पश्चात् हो । त्यसपछि सन् २००९ मा पुनः थप अधिकार प्रदान गरेपछि पूर्व गोर्खा सैनिक नेपालीहरू थप वेलायलमा आवागमन भएको पाउँछौँ । यो सङ्ख्या आउने दिनमा अझ वृद्धि हुनेवाला छ । बेलायतको सन् २००८ को जनगणना अनुसार ७२,१७३ नेपालीहरूको जनसङ्ख्या देखाएको छ भने हाल करिब १,००,००० को जनसङ्ख्यामा नेपालीहरू रहेको अनुमान विभिन्न नेपाली संस्थाहरूले गर्दछन् । 

चाडपर्व र सांस्कृतिक रीतिरिवाज 

संस्कृति भनेको साझा मूल्यमान्यता, व्यवहार , अभ्यास र मानिसहरूको विश्वासको संयोजन हो ।  जसले व्यवहार, मूल्य र प्रतीकहरूका माध्यम एक पुस्ताबाट अर्को पुस्तामा जीवन जिउने तरिकालाई हस्तान्तरण गदै जान्छ ।  संस्कृति कै माध्यमबाट मानिसले आफूलाई परिभाषित गर्छन् ।  समाजको साझा मूल्यहरू अनुरूप हुन्छन्, र समुदायमा योगदान गर्छन् ।  यसले मानिस र समुदायको अन्य समुदाय र मानिस भन्दा फरक पहिचान निर्माण गर्दछ । संस्कृतिमा धेरै सामाजिक पक्षहरू समावेश हुन्छन् जस अन्तरगत भाषा, चाल चलन, मूल्य, मान्यता, नियम, उपकरण, प्रविधि, उत्पादनहरू, र संस्थाहरू  पर्दछन् । यसैका माध्यमबाट समाजमा विविध अन्तरकृयाहरु हुने गर्दछ । 

सांस्कृतिक अन्तरघुलनलाई सांस्कृतिक आदानप्रदानको रूपको रूपमा परिभाषित गर्न सकिन्छ ।  यसलाई समाजशास्त्रमा उत्संस्करण (Acculturation) पनि भनिन्छ । यो तब हुन्छ जब एक व्यक्ति वा समूहले आफ्नै संस्कृति त्याग नगरी अर्को समूहको अभ्यास र विश्वासलाई अनुकूल बनाउँछ । सामान्यतया, मानिसहरू जुन संस्कृतिमा हुर्केका हुन्छन् त्यसलाई आदर गर्ने र पालन गर्ने हुन्छन् । यसैले जब कोही फरक संस्कृति भएको ठाउँमा सर्छन्, उनीहरूले आफ्नो सुविधाको लागि आफ्नै संस्कृतिका विशेषताहरू परिचय गराउने प्रवृत्ति हुन्छ । त्यसरी नै मानिसले जुन समाजमा बसाइँ सरेको हुन्छ त्यही समाजका भाषा, दैनिक चालचलन, नियम कानुन र संस्कृतिहरू अवलम्बन पनि गर्दछन् । सांस्कृतिक अन्तर घुलन कार्यस्थल, विवाह, सामाजिक समारोह र समुदायका विभिन्न जस्ता विभिन्न क्रियाकलाप मार्फत हुन सक्छ । 

बेलायतमा बसेका नेपाली समाजले कसरी नेपाली चाडबाड मनाउँछन् ? त्यसरी नै कसरी सांस्कृतिक रीतिरिवाज जिउँदो राख्दछन् ? सांस्कृतिक अन्तर घुलन कस्तो छ ? यो एक प्रश्न सधैँ उठ्ने गर्दछ । चाडपर्व र सांस्कृतिक रीतिरिवाजले मानिस र समुदायको पहिचान पनि झल्किन्छ । नेपाल आफै बहुजातिय, बहुसाँस्कृतिक र बहु धार्मिक मुलुक हो । बेलायतमा पनि नेपाली समाजको विविधता देख्न सकिन्छ । बेलायतमा सबै भन्दा धेरै राई, लिम्बु र गुरुङ समुदायको मानिसहरू छन् । यी तीन समुदायले बेलायतका दुई तिहाइ नेपालीहरूको जनसङ्ख्या ओगट्छ (गेल्नर, सन् २०१४) । बेलायतमा मधेसी र नेपाली मुस्लिम समुदायका मानिसहरू नगण्य रूपमा छन् भने गुरुङ २२ प्रतिशत र लिम्बु ९.६ प्रतिशत छन् भने डेविट गेल्नरले सन् २०१४ को हिमाल साउथ एसिया म्यागेजिनको लेखमा लेखेका छन् । 

नेपालीहरूले बेलायतमा दसैँ, तिहार लगायत आफ्नो मौलिक चाडपर्वहरू पनि मनाउँछन् । त्यसरी नै पश्चिमी चाडपर्वहरू पनि मनाउँछन् । अहिले बेलायतमा पहिलो पुस्ताका नेपालीहरूले परिवार र समाजका नेतृत्व गरिरहेका छन् । त्यो पुस्ताहरू प्रत्यक्ष रूपमा नेपालका घामपानी माटो सँग भिजेर बेलायत आएका छन् जसले गर्दा नेपालीका संस्कार र संस्कृतिहरू बेलायतमा पनि जीवित राखेका छन् । दसैँ तिहारको सवालमा बेलायतमा नेपालीहरू घना बस्ती भएका ठाउँहरूमा दसैँ तथा दिपावाली पार्टीहरू राख्दछन् । जहाँ नेपाली खानपान सहित विहित नेपाली नाचगानहरू प्रस्तुत गरिन्छ । प्राय नेपालीहरू त्यस्ता पार्टीहरूमा सहभागी हुन्छन्, त्यसको अलावा दसैँ वा तिहारमा कामबाट बिदा लिने घर घरमा आफन्तहरुसंग भेटघाट गरी पनि दसैँ तिहार जस्ता चाडहरू मनाएका पनि देखिन्छ । त्यसरी नै बेलायतमा विभिन्न नेपाली जाति र समुदायहरू छन् । खास गरी थाक्थुङ/लिम्बु समुदाय, तमु गुरुङ र राई समुदायहरूले भव्य रूपमा क्रमशः सिसेक्पा तङनाम, तमु लोसार र साकेला मनाउने गरेका छन् । यस्ता समुदायगत पर्वहरू मेलाको रूपमा भव्य रूपमा मनाउने गरेका छन् । यहाँ मानिसको जन्म , विवाह र मृत्युमा पनि सकेसम्म मौलिक रूपमा नै कर्मकाण्डहरू पुरा गर्ने प्रयास गरेको देखिन्छ । जस्तै: लिम्बुहरूले फेदाङमाको प्रयोग गरेको देखिन्छ । गुरुङ सुमदायहरुले लामाको प्रयोग गरेको देखिन्छ । 

बेलायतमा नेपालीहरूले पश्चिमी कृष्मस , इस्टर र हलोइन लगायतका चाडबाडहरू पनि मनाएका पाउँछौँ । यो सांस्कृतिक अन्तरघुलनको एक महत्त्वपूर्ण पक्ष हो । भाषिक रूपमा अंग्रजी, छरछिमेकहरूको युरोपियन, त्यसरी नै यहाँ रोजगारमा रहेका विभिन्न व्यक्तिहरूको कार्यस्थल, सामाजिक समारोह्हरुमा सहभागिता र नयाँ पुस्ताहरूको स्कुल र कलेज मार्फतको समाजिकरणले पनि सांस्कृतिक अन्तरघुलनलाई बल पुर्‍याइ रहेको हुन्छ । यस प्रकार बेलायतमा नेपालीहरूले आफ्नो मौलिक संस्कार र संस्कृति अवलम्बन गर्नुको साथै बेलायती संस्कार र संस्कृतिहरूलाई पनि अवलम्बन गर्ने गरेको देखिन्छ । 

साँकृतिक अन्तरधुलन र पहिचानको सङ्कट 

सांस्कृतिक अन्तरधुलन भनेको दुई वा बढी संस्कृतिहरूको मिश्रण हो । संस्कृतिले आफ्नो अभ्यास, विश्वास, विचार र संस्कार आदानप्रदान गर्न सक्छ ।  सांस्कृतिक अन्तर घुलन तब मात्र सम्भव छ जब त्यो समाजमा अन्तर घुलन हुने नाममा आफ्नो मौलिक संस्कार र संस्कृति छोड्न पर्दैन । सांस्कृतिक अन्तर घुलन तब हुन्छ जब कोही एक संस्कृतिबाट फरक संस्कृति भएको समुदायमा सर्छ ।  यस्ता अन्तर घुलन पनि तब हुन्छ जब भिन्न संस्कृतिका दुई व्यक्तिले एक अर्कासँग विवाह गर्छन् ।  अर्को उदाहरण तब हुन्छ जब दुई संस्कृतिका मानिसहरू एउटै कार्यालयमा काम गर्छन् अनि एउटै टोल र छिमेकमा बस्छन् । 

नेपाली समुदाय बृहद बेलायती र पश्चिमेली संस्कृतिमा अन्तरघुलनको प्रयासमा छन् । जसले गर्दा कतिपय अवस्थामा नेपालीहरूमा पहिचानको सङ्कट देखा परेको छ । जस्तो होस्ट नेशनले उनीहरूलाई एसियाली वा दक्षिण एसियाली देख्दछन् त्यसरी नै समग्रमा नेपाली देख्दछन् । धार्मिक रूपमा सबै नेपालीलाई हिन्दु धर्मको झोलामा हाल्दछन् । जसले बृहद नेपाली समाजमा अन्योल सृजना हुने गर्दछ । 

सांस्कृतिक अन्तर घुलन हुन धेरै समय लाग्छ साथै यो विभिन्न तहमा हुने गर्दछ । सांस्कृतिक अन्तर घुलन एक हद सम्म सकारात्मक नै हुन्छ । यसले दुवै संस्कृतिको अस्तित्वलाई स्वीकार गर्दछ र यसले संग्लन कुनै पनि संस्कृतिहरूबाट टाढा लाग्दैन । मानिसहरूलाई उनीहरूको विश्वास र विचारहरू मिश्रण गर्न अनुमति दिइएको छ। उनीहरूले आफ्नो संस्कृति त्याग्नु पर्दैन ।

केही परिस्थितिहरूमा सांस्कृतिक अन्तर घुलन नकारात्मक पनि हुन्छ । होस्ट नेशन वा राज्यद्घरा कानुन वा दबाबमा जबरजस्ती वा प्रत्यक्ष र अप्रत्यक्ष हस्तक्षेपमा गरिएको अन्तर घुलन नकारात्मक हुन्छ । यस्तो अवस्था विशेष गरी ठुला समुदायमा सानो र कम शक्तिशाली समुदायको अन्तरघुलनको अवस्थामा हुने गर्दछ । यसलाई समाहितीकरण (Assimilation) भनिन्छ । नेपालीहरूको सवालमा यो जोखिम रहेको देखिन्छ । 

नेपालीहरू बेलायतको बसाई पनि यहाँको सामाजिक र सांस्कृतिक गतिविधिमा संग्लन हुनु स्वाभाविक हो । समाजशास्त्र र मानव शास्त्र अनुसार समाहितीकरण (Assimilation) यस्तो प्रक्रिया हो जसमा विभिन्न जातीय समुदाय वा व्यक्तिहरू समाजको प्रमुख संस्कृतिमा समाहित हुन्छन् । बेलायतमा नेपालबाट आएका समुदायहरू मुख्य गरी आदिवासी जनजातिहरू छन् । जसको आफ्नो मौलिक संस्कार, संस्कृति , धर्म, भाषा र लिपी नेपालको राज्य सत्ताका विभेदकारी नीति र व्यवहारका कारण सङ्कटमा छन् । अर्का पश्चिमेली समाजमा अन्तर घुलन हुनु पर्ने छ । यस्तो अवस्थामा बेलायतमा रहेका नेपालीहरूमा केही चुनौतीहरू छन् । 

१) हिन्दु संस्कृतिकरणको धङधङ्घी 

नेपालका आदिवासी जनजातिहरूमा हिन्दु धर्म र संस्कारका धेरै प्रभाव परेको छ, मुख्य गरी राज्य सत्ताले शिक्षा, कानुन र दण्ड यी सबैको भरमा हिन्दु धर्म मान्न लगाए र यसको थोर बहुत रूपमा सबै जाति र समुदायका हिन्दु धर्मको प्रभाव छ । यसरी नै आफ्नो मौलिक संस्कार र संस्कृति प्रतिको प्रेम पनि छ यसको दुवधायुक्त व्यवहार बेलायतमा पनि देखिन्छ जसको उदाहरणको रूपमा दसैँ, तीज आदि पर्व घुमघाम सँग मनाइन्छ । त्यसको साथै लोसार, साकेला र सिसेक्पा तङनाम जस्ता मौलिक पर्वहरूमा मनाइन्छ । 

२) स्थानिय संस्कृतिमा समाहितीकरण 
बेलायतमा रहेका नेपालीहरू प्राय पहिलो पुस्ताका छन् । जसले सके सम्म मौलिक संस्कार र संस्कृति जोगाउने चेष्टा गर्दैछन् भने यहाँका स्थानिय संस्कृतिमा फरक भाषा, दैनिक चालचलन आदिका कारण घुलमिल गर्न सङ्घर्षरत छन् ।  यही जन्मेका र नयाँ पुस्ताहरू स्कुल, कलेज र युनिभर्सिटी मार्फत सामाजिकीकरण प्रक्रियामा छन् । उनीहरू बेलायती संस्कार र संस्कृतिमा बढी रमाउने गरेका छन् । यहाँ ठुलो माछाले सानो माछालाई खान्छ भन्ने कथन जस्तै बेलायती पश्चिमेली संस्कृतिको सामु मौलिक संस्कार र संस्कृति हराउँछन् भन्ने भय छ । यसैले दुवै पुस्ताहरू समाहितीकरण (Assimilation)  को जोखिमबाट बच्न प्रयास गदै सामाजिक सांस्कृतिक अन्तरघुलनको प्रक्रियामा छन् । 
३) सीमित श्रोत र मौलिक संस्कार संस्कृति
आदिवासी जनजातिहरूको मौलिक धर्म संस्कार र कर्मकाण्डहरू पुरा गर्ने श्रोत र साधनको अभाव बेलायतमा हुने नै भयो । मुख्य गरी मौलिक कर्मकाण्ड गर्ने पुजारी, फेदाङमा, लामा आदिहरूको अभाव देखिन्छ । पशुवली गर्न बेलायतको कानुन अनुसार पाइँदैन । त्यसरी नै कर्मकाण्डहरू गर्दा चाहिने सरसमानको पनि अभाव रहेको देखिन्छ । यसले पनि मौलिक धर्म र संस्कार अवलम्बन गर्न चुनौती भएको देखिएको छ । 
बेलायतमा नेपालीहरूको धर्म र संस्कृतिको अवस्थाको बारेमा चर्चा गर्दा प्रोफेसर डेविट गेल्नरले  हिमाल साउथ एशियामाको अङ्क डिसेम्बर २०१४ मा लेखले स्पष्ट पार्दछ । वहाँले डा.चन्द्र लोक्सम्बा सँगको संवादको चर्चा डा.लक्सम्बाको भनाई उल्लेख गदै लेख्छन् “नेपाली जनता एउटै धर्ममा अडिग रहँदैनन्,  सधैँ कम्तीमा दुई–तीन धर्म मान्ने गर्छन् ।  म तीन वटा धर्ममा विश्वास गर्छु र पालन गर्छु,  म नेपाल जाँदा काठमाडौँको पशुपति मन्दिरमा जान्छु, जुन हिन्दु मन्दिर हो । म स्वयम्भू जान्छु र भगवान् बुद्धको जन्मस्थल हो त्यो बौद्ध धर्म सँग सम्बन्धित छ र म मेरो किरात धर्म मान्छु ।  मेरो दैनिक जीवनमा हिन्दु र बौद्ध धर्मको अभ्यास गर्छु,  पनि मेरो घरमा एउटा सानो पूजा स्थल छ । मसँग हिन्दु र बौद्ध मूर्तिहरू छन् ।  त्यसमाथि जन्म मृत्यु, मृत्यु संस्कार मुलरुपमा विवाह समारोह वा नामकरण गर्दा किरात धर्मको पालना गर्नुपर्छ । विशेष गरी हामी मर्दा मृत्यु संस्कार किरात धर्ममा आधारित हुन्छ । हामी हिन्दु पुजारी वा बौद्ध लामाहरू प्रयोग गर्दैनौँ म प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा तीन धर्मको अभ्यास गर्छु ।  तर हामी कट्टरपन्थी होइनौँ । जब म सेनामा थिएँ म चर्च जान्थेँ ।  हामी पनि क्रिसमस पनि मनाउँछौँ, हामी गोर्खाहरू सबै चाडपर्व मनाउँछौँ” । वास्तवमा अहिले बेलायती नेपालीहरूको स्थिति यस्तै छन् । धेरै नेपालीहरूले सबै चाडबाड मनाउँछन् । त्यसबाट वास्तविक पहिचान खुट्याउन सकिँदैन ।  तर मूल जन्म, विवाह र मृत्यु संस्कारमा मौलिक संस्कार र कर्मकाण्ड अनुसार गरिएको देखिन्छ । उनीहरूको मौलिक पहिचान उनीहरूले कसरी जन्म, विवाह र मृत्यु संस्कार गरिरहेका छन् सोबाट थाहा पाउन सकिन्छ । 
अन्तमा....
नयाँ देश र त्यस देशमा हुने सामाजिक सांस्कृतिक अन्तर घुलन एक लामो प्रक्रिया हो । पहिलो पुस्ताले जसरी आफ्नो पहिचानको सन्दर्भमा संवेदनशील भएर काम गर्दछ, नयाँ पुस्तामा त्यो नहुन पनि सक्छ किन की नयाँ पुस्ता नयाँ ठाउँको पपुलिष्ट संस्कृतिमा चाँडै आकर्षित हुन्छन् ।  त्यस क्रममा पहिलो पुस्ताले आफ्नो मौलिक संस्कार र संस्कृतिको हस्तान्तरण नयाँ पुस्तालाई गर्नु पर्दछ । माटो, मातृ भाषा, धर्म, संस्कार र पहिचान सम्बन्धी ज्ञान नयाँ पुस्तालाई दिनु पर्दछ । बेलायतमा हाल ४०० भन्दा बढी नेपाली सङ्घ संस्थाहरू छन् जसमा नयाँ पुस्ताको पनि सहभागिता देखिन्छ । यी संस्थाहरू मार्फत ज्ञान हस्तान्तरणको प्रक्रिया सुरु भई नै सकेको छ । चुम्लुङ, यायोख्खा आदि जस्ता जातिगत संस्थाहरूले नयाँ पुस्ताको सहभागिता वृद्धि गर्नु पर्दछ । नयाँ पुस्तालाई आकर्षण गर्न सक्ने कार्यक्रमहरू आयोजना गर्नु पर्दछ । । आफ्नो मौलिक ज्ञान मिमांसाको नयाँ पुस्तामा हस्तान्तरणले मात्र यो प्रवासमा हाम्रो पहिचान जोगिन सक्छ । 
हाल बेलायत पूर्वी केन्ट ।