माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्री पञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदै छ । आज देखि सूर्य उत्तरतिर लागि, दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी" पनि भन्ने गरिन्छ ।
वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरहरूमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेको छ । आज सम्पूर्ण विद्यालयहरूमा विशेष विधिले विद्यार्थीहरू द्वारा सरस्वतीको पूजा गरिँदै छ। विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा यता सरस्वतीलाई आराधना गर्दछन् ।
सरस्वती उत्सवले एकातिर हाम्रो सभ्यतामा शिक्षा र कलाको महत्त्व दर्शाउँछ भने अर्कोतिर मातृ शक्ति नै ज्ञान निर्माणको आधारभूत स्रोत रहेको उजागर गरेको छ । सरस्वती माताको एउटा हातमा रहेको वीणालाई नादको रचना गर्ने यन्त्र मानिएको छ । ब्रह्माण्डमा नाद अर्थात् ध्वनि मात्र सर्वव्यापक छ । यही यन्त्र र नादको लयबाट सङ्गीतको रचना भएको वैदिक मान्यता रहेको छ। यसैगरि अर्को हातमा रहेको पुस्तकलाई अक्षरको स्रोत मानिएको छ । अक्षर अर्थात् क्षय नहुने रचनालाई अक्षर भनिन्छ । लेखिएका कुराहरू कहिल्यै नाश हुँदैनन् भन्ने भावबाट नै मानव सभ्यताले लेख्य भाषाको विकास र परिष्कार गरेको हो ।
त्यसैकारण, वसन्त पञ्चमीकै दिन बालबालिकाहरूलाई घरमै अक्षरारम्भ गराउने वा विद्यालय भर्ना गर्ने, कला-सङ्गीतका साधकहरूले आफ्ना कुची एवं वाद्ययन्त्रहरूलाई सरस्वतीकै देन मानेर पूजा गर्ने परम्परा विकास भएको हो। नवीन कार्यको प्रारम्भ गर्न र साइत जुराउनु पर्ने शुभ कार्यका लागि समेत यही दिनलाई रोजी विवाह, व्रतबन्ध आदि गर्ने प्रचलन रहिआएको छ ।
वसन्त पञ्चमीको प्राकृतिक महत्त्व उत्तिकै छ । साहित्यकार र कविहरूका लागि वसन्त आफैँमा नयाँ रङ्ग र फूलहरूको उत्सव हो । वसन्त ऋतुको प्रारम्भ हुने र सूर्य उत्तरायण हुँदै जाँदा दिन लामो र रात छोटो हुँदै हिउँदको जाडोबाट क्रमशः न्यानो हुँदै जाने हुनाले आजको दिनले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाउँछ ।
सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी।
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे।
प्रथमं भारती नाम द्वितीयञ्च सरस्वती।
तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी।।
पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा।
सप्तमं चैव कौमारी अष्टमं वरदायिनी।।
नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारिणी।
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी।।
अर्थात् चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागिश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागिश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्याका पिपासुहरूले यस नामलाई प्रतिदिन प्रातः श्रवण किर्तन गर्नाले विद्यामा सिद्धि प्राप्त हुने शास्त्रोक्त वचन रहेको छ ।