धरान : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले पिण्डेश्वर विद्यापीठ छात्रावास प्राङ्गणमा स्थापित स्वर्गीय पण्डित छविलाल पोखरेलको अर्धकदको शालिक मङ्गलवार अनावरण गरेका छन् ।

संस्कृतका विद्वान सबैका गुरु स्वर्गीय पोखरेल जीवित रहँदा पूर्वका व्यास उपनामले प्रसिद्ध थिए । उनको स्मृतिमा पण्डित छविलाल पोखरेल बालमाया स्मृति प्रतिष्ठानले उक्त शालिक र प्रतीक्षालय निर्माण गरेको हो ।

उक्त अवसरमा मन्त्री राईले पण्डित छविलाल पोखरेल शिक्षाका अभियन्ता, छुवाछुत विरुद्ध समाज सुधारक, संस्कृति विद्वान भएको चर्चा गर्दै विद्यापीठको प्राङ्गणमा उनको शालिक स्थापना अत्यन्तै गरिमामय कार्य भएको बताए ।

उनले भने ‘संस्कृत भाषाको संरक्षण र व्यावहारिक रूपमा प्रयोग आवश्यक छ ।’ यसको लागि संस्कृत भाषामा योग्य जनशक्ति उत्पादन गर्नु जरुरी भएको बताए । संस्कृत भाषा संसारकै सर्वोत्कृष्ट भाषा मध्ये एक भएको मन्त्री राईको भनाई थियो ।

शालिक अनावरण प्रतीक्षालय हस्तान्तरण कार्यक्रममा कोशी प्रदेश सभा सांसदत्रय रमेश बस्नेत, विजय राई, पूर्व सङ्घीय सांसद जयकुमार राईले धरानको शिक्षा, समाज सुधारमा पण्डित छविलाल पोखरेलको  योगदानको चर्चा गरेका थिए ।

प्रा.डा. टङ्कप्रसाद न्यौपानेले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रदेश सांसद यशोदा कायस्थको पनि उपस्थिति थियो ।

chhabilal-Pokhrel-2ashok-rai-dharan-campus