धरान : धरानमा आज सोमवार आयोजित वीपी कोइराला जन्म जयन्तीमा प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले मुलुकको राजनीतिमा उत्पन्न विशेष परिस्थितिका कारण काँग्रेस-एमाले सहकार्य भएको बताएका छन् ।

उनले त्यो ‘विशेष परिस्थिति’ राजनीतिक अस्थिरता भएको बताउँदै भने ‘त्यस्तो अस्थिरताको अन्त्य गर्ने काँग्रेस एमाले सहकार्यको मुख्य उद्देश्य हो ।’

उनले ‘संविधान संशोधन’को उच्चारण नगरी मुलुकमा अहिले राजनीतिक अस्थिरता अन्त्य गर्न समानुपातिक प्रणाली हटाउनु पर्ने, थ्रेस होल्ड बढाउनु पर्ने लगायतका सङ्घीयता नै समाप्त गर्ने कुराहरू आइरहेको बताए ।

काँग्रेस उपसभापति गुरुङले भने ‘अब पछि हट्नु मिल्दैन ।’ राजनीतिक अस्थिरताका कारण उत्पन्न विशेष परिस्थितिसँग सामना गर्न काँग्रेस-एमाले मिलेर लड्ने निष्कर्षले दुवै पार्टी बिच सहकार्य भएको उनले बताए ।

मुलुकको प्रमुख ठुला दुई पार्टी मिलेर देशका मनोमानी गर्न आँट्यो भन्ने कुरा पनि उठ्न सक्ने बताउँदै उनले भने ‘त्यस्तो केही होइन, आशङ्का गर्ने अत्तालिने कुनै कुरा छैन ।’ काँग्रेस कार्यकर्ता पनि यसबाट अल्मलिन नहुने उनले बताए ।

समानुपातिक प्रतिनिधित्व पनि निर्वाचनबाट हुनुपर्छ

पार्टी केन्द्रीय उपसभापति गुरुङले राजनीतिक अस्थिरता अन्त्य गर्ने नाममा समानुपातिक प्रतिनिधित्व अन्त्य गरेर पछाडि फर्कन नमिल्ने बताउँदै समानुपातिक प्रतिनिधित्वलाई प्रत्यक्ष निर्वाचन पद्धतिमा समावेश गर्ने विकल्पको प्रस्ताव आफूले काँग्रेसको केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको स्पष्ट गरे ।

उनका अनुसार अहिलेको ११० समानुपातिक सिटको सूची प्रणाली हटाउनु पर्छ । अहिले कायम रहेको  १६५ प्रत्यक्ष निर्वाचन क्षेत्रबाटै क्लष्टर छुट्याएर समानुपातिक निर्वाचन क्षेत्र तोकिनु पर्छ ।

कुल संसदीय सिट मध्ये अहिलेको समानुपातिक ११० सिटको आधारमा ५५ सिट सबै जातीय समानुपातिक प्रतिनिधित्व हुने गरी महिलाका लागि छुट्याइनु पर्दछ ।

सबै समानुपातिक प्रतिनिधित्व गर्न प्रत्यक्ष ५५ सिटमा पुरुष चुनावमा उम्मेदवार हुने व्यवस्था गरिनु पर्दछ । बाँकी ५५ संसदीय सिट खुल्ला निर्वाचन क्षेत्र कायम गरिनु पर्दछ ।

उपसभापति गुरुङले भने ‘यसो गर्दा सांसदको सङ्ख्या पनि घट्छ, समानुपातिक प्रतिनिधित्व पनि हुन्छ ।’ प्रत्यक्ष निर्वाचनबाटै दलहरूले समानुपातिक प्रतिनिधित्व सहित स्पष्ट बहुमत ल्याउन सक्ने बताउँदै भने ‘यसबाट राजनीतिक अस्थिरता समाप्त हुने निश्चित छ।’

राष्ट्रिय मेलमिलाप नीति अनुसार काँग्रेस-एमाले सहकार्य

उपसभापति गुरुङले वीपी कोइराला २०३३ सालमा अन्तर्राष्ट्रिय राजनीतिकका कारण मुलुकको सामुन्ने देखिएको विषम स्थितिमा राष्ट्रिय मेलमिलापको नीति प्रतिपादन गर्दै स्वदेश फर्किएको बताए ।

नेपालमा अनेकौँ मुद्दाको निहुँमा फाँसीको सजाय हुने चुनौतीलाई स्वीकार गर्दै वीपीले राष्ट्र, राष्ट्रियताकै अस्तित्वमा विषम परिस्थितिसँग सामना गर्न जुनसुकै मूल्य चुकाउन तयार भएको स्मरण गराउँदै उनले भने ‘अहिले मुलुकमा देखिएको विशेष परिस्थितिमा काँग्रेस–एमाले सहकार्य राष्ट्रिय मेलमिलापकै आधारमा गरिएको हो ।’

पार्टीमा पदका लागि लालियत नबनौँ 

उपसभापति गुरुङले काँग्रेसमा पदका लागि हुने लुछाचुँडीकै कारण गुटबन्दीको राजनीति पनपिएको औँल्याउँदै कार्यकर्ताहरूलाई आफूलाई भन्दा पार्टीको पद अरूलाई दिने चैँ वीपीको अनुसरण हुने बताए ।

उनले भने ‘प्रतिबन्धित कालको बेला भारतमा भएको पार्टी महाधिवेशनमा सबैले वीपीलाई सभापति बस्न दबाब दिँदा उहाँ आफैले नेपालमा आजीवन कारावास पाएका टङ्कप्रसाद आचार्यलाई काँग्रेस सभापतिका लागि प्रस्ताव गर्नु भएको थियो ।’

पार्टी सङ्गठनका सबै कार्य वीपी कोइरालाबाट भइरहेको थियो । उहाँकै भूमिकामा सबै आश्रित थिए । तर सभापतिमा आफू नबसेर नेपालको जेलमा रहेका टङ्कप्रसाद आचार्यलाई बनाएको वीपीले किन निर्णय गरे ? वीपीका अनुयायी हौँ भन्नेहरूले अनुसरण गरे पार्टीमा गुटफुटको कुरानै नहुने उपसभापति गुरुङको भनाई थियो ।

सङ्गठन ठुलो बनाएर मात्र होइन एजेण्डाले चुनाव जितिन्छ 

उपसभापति गुरुङले काँग्रेसले २०१५ सालको चुनावमा दुई तिहाइ बहुमत त्यसै ल्याएको होइन भन्दै ध्यानाकर्षण गराए ‘पार्टी ठुलो बनाएर मात्र हुँदैन, चुनाव जित्न एजेण्डा महत्त्वपूर्ण हुन्छ ।’

उनका अनुसार त्यस बेलाको नेपालमा राजा, राणाहरूले दिएको बिर्ता जग्गामा भूस्वामीहरुको रजगज थियो । कृषकहरू हली गोठाला, बँधुवा श्रमिक सरह थिए । जतिसुकै कुत बुझाए पनि जमिनको स्वामित्व उनीहरूको नाममा आउँदैन थियो ।

त्यो समयमा काँग्रेसले चुनावी एजेन्डा 'बिर्ता उन्मुलन' र 'जमिन जोत्नेको' लिएर जनता माझ गएकोले काँग्रेसलाई प्रचण्ड बहुमत दिएको उनले बताए ।

उपसभापति गुरुङले भने ‘काँग्रेसले एजेण्डा मात्र अघि सारेन, चुनाव जितेपछि कार्यान्वयन पनि गर्‍यो ।’ कार्यान्वयन गर्दा पार्टीकै नेताहरू उदाहरण बनेको उनले बताए । बिर्ता उन्मुलन पार्टी उपसभापति सुवर्ण शमसेर राणाबाट भएको थियो । जमिन जोत्नेको एजेण्डा कार्यान्वयन त्यसै बोला सुरु भएको उनले बताए ।

वीपी चिन्तन प्रतिष्ठान र नेपाली काँग्रेस धरान उपमहानगर समितिद्वारा आयोजित विचार गोष्ठीमा काँग्रेसमा लामो समय योगदान दिएका ६ जना अग्रजहरूलाई सम्मानित गरियो ।

सम्मानितहरूमा रतन प्रसाद राई, वराहक्षेत्र-२, पुष्पराज ढकाल धरान-१३, जमुना राई वराहक्षेत्र-५, फुलमाया तामाङ वराहक्षेत्र-५, शैलेन्द्र श्रेष्ठ, धरान-१६, माधव गोविन्द श्रेष्ठ धरान-२, भरथ चौधरी रामधुनी-६ रहेका छन् ।

प्रतिष्ठानकी अध्यक्ष श्यामा रेग्मी र काँग्रेस नगर सभापति श्याम पोखरेलेको सभापतित्वमा भएको गोष्ठीमा काँग्रेस कोसी प्रदेश महामन्त्री उमेश थापा, सुनसरी काँग्रेस संस्थापक सभापति हरिनाथ बास्तोला, पूर्व केन्द्रीय सदस्य मिना सुब्बा, प्रजातान्त्रिक विचार समाजका सुनसरी अध्यक्ष यमनाथ बरालले वीपीका बारेमा प्रकाश परेका थिए ।

साथै नेविसंघ केन्द्रीय सदस्य दोर्ची सेर्पा, तरण दल केन्द्रीय सदस्य विशाल कटवाल, महिला सङ्घ केन्द्रीय सदस्य उर्मिला प्रधान, काँग्रेस जिल्ला सभापति केदार भण्डारी र सम्मानित रतनप्रसाद राईले मन्तव्य व्यक्त गरेका थिए ।