इटहरी : नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले नेपाली काँग्रेसका नेता, कार्यकर्ता नसुध्रिए जनताले नपत्याउने बताएका छन् ।

उनले काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधि वडा अध्यक्ष देखी सांसद, मन्त्री सम्मले सुध्रिनु पर्ने बताउँदै चुनावमा जाँदा ‘जनताले देख्दा मुख्य बिगार्दै उही त रैछ नि, भन्ने अवस्था’ रहे सम्म जनताले नपत्याउने बताए ।

नेपाल प्रेस युनियन केन्द्रीय समितिको बैठक पूर्वसन्ध्या शुक्रवार आयोजित ‘लोकतन्त्रमा सञ्चार माध्यमको भूमिका’ विषयक अन्तरक्रियामा उनले राजनीतिक दलहरूका नेता, कार्यकर्ता जनता माझ अलोकप्रिय हुँदै गएको बताए ।

उनले भने ‘काङ्ग्रेसबाट चुनाव जितेका गाउँपालिका अध्यक्ष, नगरपालिका प्रमुख देखी वडा अध्यक्ष सम्मको छवि जनतामा माझ सुधार हुन आवश्यक छ ।’

पार्टी सत्तामा रहेको बेला मन्त्रीहरूलाई लाभको पदमा आफ्ना मानिसलाई नियुक्ति, सिफारिसको लागि दबाब, चाकरी गर्ने प्रवृत्ति काँग्रेसका तल देखी माथि सम्मकै नेताहरूमा बढेकाले पार्टीका मन्त्री र नेताहरू बदनाम हुन थालेको उनले बताए ।

आफू न्याय तथा कानुन मन्त्री हुँदा न्यायाधीश नियुक्तिका लागि थुप्रै प्रलोभन र दबाब आए पनि आफूले ‘ब्रिफकेस’ बोकेर नेताहरूको ढोका चहार्नेलाई नियुक्ति नदिएको दाबी गरे ।

पार्टीको मन्त्रीलाई गलत काम गराउने प्रवृत्तिका कारण नै अहिले काँग्रेस, एमाले, माओवादी मात्र होइन नयाँ आएको रास्वपा समेत जनताको नजरमा बदनाम भएको उनले बताए ।

उपसभापति गुरुङले जनतामा बढेको निराशले लोकतन्त्र, गणतन्त्रप्रति वितृष्णा जागेको बताउँदै  उनले सञ्चार माध्यमा आएका कुराले होइन राजनैतिक दलका नेता कार्यकर्ताकै कारण लोकतान्त्रिक प्रणाली  कमजोर बन्दै गएको बताए ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पत्रकारहरूमा खोजपूर्ण आलोचनात्मक लेखन क्षमता कमजोर बन्दै गएको बताउँदै सत्ताको नजिक रहने प्रवृत्तिले उनीहरू कमजोर हुँदै गएको बताए ।

Kedar-karki-Press-union-Proउनले हिजोआज पत्रकारिता नेता, मन्त्री सत्ताको प्रलोभनमा परेको कुरालाई घुमाउरो भाषामा भने ‘हिजोआज पत्रकारहरू ‘तेल’ लेख्न थालेका छन् ।’ उनले सञ्चार माध्यम निर्भीक र आलोचनात्मक हुनुपर्ने बताए ।

नेपाल प्रेस युनियनका संस्थापक सदस्य तारानाथ दाहालले स्वतन्त्र सञ्चार माध्यम बिना लोकतन्त्र नहुने र स्वतन्त्र पत्रकारीले स्वतन्त्र सञ्चार माध्यम जीवित राख्ने बताउँदै लोकतन्त्र कसैबाट प्राप्त हुने कुरा नभएको बताए ।

उनले भने ‘पछिल्लो समय सामाजिक सञ्जालको व्यापकताले अब पत्रकारिता नै रहन्छ रहँदैन भन्ने आशङ्का बढेकोले त्यस विषयमा बहस गरिनु जरुरी छ ।

अन्तरक्रियामा पत्रकार महासङ्घका केन्द्रीय सदस्य अमर खड्काले कार्यपत्र प्रस्तुत गरे । सञ्चार माध्यमले लोकतन्त्र प्राप्तिमा खेलेको भूमिका र अहिले सम्मको सरकारले स्वतन्त्र पत्रकारिताप्रति गरेको व्यवहारका बारेमा प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले आलोचनात्मक धारणा राखे ।

उक्त अवसरमा नेपाली काँग्रेस केन्द्रीय अनुशासन समिति सदस्य राजीव कोइराला, केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, जिल्ला अध्यक्ष केदार भण्डारी, काँग्रेसका युवा नेता विकाश केसी, प्रेस युनियन प्रदेश अध्यक्ष मीनकुमार नवोदित लगायतले आफ्ना धारणा राखेका थिए।

उक्त अवसरमा प्रेस युनियनका पूर्व केन्द्रीय सदस्यहरू हर्ष सुब्बा, इकबाल अहमद, दिवस पोखरेल र हेमराज दाहाललाई सम्मानित गरिएको थियो ।

Harsha-Subba-SammanDIWAS-POKHREL-SAMMAN