• अनुसा थापा

मुलुकमा अहिले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था छ । तर, यो व्यवस्था सहज रूपमा आएको होइन । हजारौँ जनताको बलिदानपछि मात्र यो व्यवस्था ल्याउन सकिएको हो । जनताले आफ्नो ज्यानको बाजी राखे । व्यवस्था परिवर्तनको लडाइँमा १७ हजार नेपाली जनता सहिद र हजारौँ अङ्गभङ्ग भए ।

देशको व्यवस्था फेरिए पनि सत्तामा पुग्नेहरूको अनुहार फेरिएनन् । पूर्वराजा ज्ञानेन्द्र शाहले असक्षम प्रधानमन्त्री भनेर बर्खास्ती गरेको व्यक्ति यो व्यवस्थामा पटक पटक प्रधानमन्त्री बने । उनी हुन्, काँग्रेसका सभापति शेरबहादुर देउवा । उनी राजाको पालामा गृहमन्त्रीपछि प्रधानमन्त्री भएका थिए ।

राजाले नियुक्त गरेको प्रधानमन्त्री राजाले नै हटाएका हुन् । राजाको पालामा बारम्बार मन्त्री भएका व्यक्ति हुन्, कमल थापा । उनी अहिले राप्रपा, नेपालका नेता हुन् । २०६२/६३ मा भएको १९ दिने आन्दोलनमा उनी गृहमन्त्री थिए । देशमा लोकतन्त्र-गणतन्त्र आइसकेपछि पनि उनले उपप्रधानमन्त्री खाए । दुई पटक सरकारमा गए ।

जनयुद्धका कमाण्डर मानिने पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उनी सहभागी थिए । अर्कोतर्फ, एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारमा पनि उनी गए । हप्ता उठाउने दिपक मनाङ्गे, गगन थापा, महेश बस्नेतजस्ता व्यक्ति यो व्यवस्थामा मन्त्री भए । १९ दिने आन्दोलन जारी रहँदा पनि ओली राजा हटाउनुहुँदैन भन्ने मतमा थिए ।

बेलगाडीमा चढेर अमेरिका पुगिन्छ लगायतका भाषण ठोक्थेँ । तर, उनै राजतन्त्र फालेर आएको व्यवस्थामा तीन पटक प्रधानमन्त्री भइसकेका छन् । उनी राजाको पालामा गृहमन्त्री र परराष्ट्रमन्त्री भएका थिए । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मोहोर राखेर राजालाई ढोग गरेका थिए, प्रधानमन्त्री खान पाइन्छ कि भनेर ।

प्रधानमन्त्री बन्नका लागि दौरा सुरुवाल सिलाएर राखेका उनले आमा मर्दा किरियासमेत गरेनन् । तर, राजाले उनलाई प्रधानमन्त्री दिएनन् । उनले त्यतिबेला मन्त्री खाइसकेका थिए । झलनाथ खनाल पनि राजतन्त्रका मन्त्री हुन् । अहिले पनि समाजवादीका वरिष्ठ नेता छन् । लोकतान्त्रिक व्यवस्था आएपछि बल्ल उनी प्रधानमन्त्री भए ।

राजाको पालामा प्रधानमन्त्री र मन्त्री खाएकाहरू लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा पनि मन्त्री र प्रधानमन्त्री बने । राजा बिगार्ने यिनीहरू नै हुन् भन्नेमा दुईमत छैन । सत्तामा गएर भ्रष्टाचार गर्ने, जनतालाई शोषण गर्ने, आफ्ना मान्छेलाई जागिर लगाउने, सरकारी सम्पत्ति दुरुपयोग गर्ने, एनजिओ खोल्ने, निजी अस्पताल, स्कुल सञ्चालन गर्ने, मीटरब्याजमा पैसा लगाउने यिनीहरू नै थिए ।

तर, दोष राजाको टाउकोमा मात्र थुपारिदिए । राजाले काम गरेनन् भनेर विरोध गर्नेहरूले आफ्नो हातमा सत्ताको चाबी परेपछि के गरे ? २०६५ जेठ १५ गते देशमा लोकतन्त्र गणतन्त्र घोषणा भयो । यिनीहरूले नै सरकारको नेतृत्व गरे । यिनीहरूले मिलीजुली देशलाई खोक्रो बनाएका छन् ।

विदेशीबाट २७ खर्ब ऋण ल्याएर खाने यिनीहरू हुन् । देशको युवाशक्ति विदेशमा बेच्ने श्रेय यिनीहरूलाई जान्छ । सार्वजनिक, सरकारी, गुठी, मठमन्दिर, तालतलैया, खोलानाला सबै दर्ता गरेर व्यक्तिको नाममा लगे । देशलाई भ्रष्टाचारको दलदलमा फसाउने नामुद किरा यिनीहरू नै हुन् ।

खेतीयोग्य जमिन मासिनुमा यिनीहरूकै योगदान छ । २०६० सालअघि चप्पल लगाउने हैसियत नभएकाहरूको आज अर्बौँको सम्पत्ति छ, कसरी ? भ्रष्टाचार होइन ? २०६० सालअघि गगन थापा, महेश बस्नेत लगायतसँग त एकजोर लुगा किन्ने पैसा हुँदैनथ्यो । केपी शर्मा ओली, शेरबहादुर देउवालगायतका नेताहरूको दसौँ रोपनीमा दरबारजस्तो महल छ ।

व्यापार व्यवसाय केही छैन । सम्पत्ति भने उप्रोमाथि थुप्रो छ । ओलीको हातमा तीन करोड पर्ने घडी छ । लाखौँ रुपैयाँको चश्मा, कोट, जुत्ता, दौरासुरुवाल भिरेर हिँड्छन् । दिनको ७० हजार रुपैयाँको त पानी मात्रै पिउँछन् । उनको आम्दानीको स्रोत के छ ? यत्रो खर्च गर्नलाई । यसको सिधा जवाफ राज्यको सम्पत्ति दोहन हो ।

नेताको नाममा गैरकानुनी काम गर्ने, पैसा असुल्ने कार्यले प्राथमिकता पाएको छ । यहाँ सबै उस्तै छन् । त्यसैले त तै चुप मै चुपको अवस्था बनेको छ । देउवापत्नी डा. आरजु राणामाथि नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका बेचेको आरोप लागेको थियो ।

ओलीमाथि गिरीबन्धु टी स्टेटको जग्गा हिनामिनालगायतको थुप्रै आरोप लागेको छ । विडम्बना, यिनीहरूमाथि छानबिन नै हुँदैन । इमान सकिएका नेताका कारण आज अन्तर्राष्ट्रिय स्तरमै नेपालको बदनामी भएको छ । छिमेकीहरूको दादागिरी हामी चुपचाप सहन बाध्य भएका छौँ ।

नेताहरूले जनतालाई नेपाली भन्न लाज लाग्ने स्थितिमा पुर्‍याइदिए । नेपाल भ्रष्टाचारी नेता, सरकारी कर्मचारी, भूमाफिया, दलालीहरूको लागि स्वर्ग बनेको छ । नेताहरूले आफूहरूलाई अप्ठेरो पर्छ भनेर जनतालाई विदेश लखेटे । जनता जम्मै विदेशमा भएपछि यहाँ बोल्ने कोही छैन ।

जसका कारण यहाँ नेताहरूको राज चलेको छ । अहिले आएर जनताहरूले राजा नै ठिक रहेछन् भन्न थालेका छन् । अधिकांश जनता राजा फर्काउनुपर्ने मतमा देखिएका छन् । अहिले जो पनि राजा चाहिन्छ भनिरहेका हुन्छन् । नेताहरूले ठुलो बलिदानमाथि ल्याइएको व्यवस्थालाई खाडलमा हालेका छन् ।

१० वर्ष जनयुद्ध लडेर, जनताका छोराछोरी सहिद बनेर बल्लतल्ल ल्याएको व्यवस्था सङ्कटमा परेको छ । हिजो जनयुद्ध लडाइँ लड्ने माओवादी हुन् । हिजो जनयुद्ध लड्ने बेला प्रचण्ड, बाबुराम भट्टराई, विप्लव, सीपी गजुरेल, मोहन वैद्यलगायत एक जुट भए । एकतामा बल हुन्छ भनिन्छ, त्यसैले जनयुद्ध सफल भयो ।

तर, शान्तिवार्ता हुने बित्तिकै यिनीहरूको पनि स्वार्थ बाँभियो । जसका कारण माओवादी टुक्रा टुक्रा भयो । अहिले व्यवस्थामाथि नै कालो बादल मडारिएको छ । २०६४ चैत २८ गते पहिलो संविधान सभाको निर्वाचन भयो । १२१ क्षेत्रबाट माओवादीले प्रत्यक्ष निर्वाचन जित्यो । धेरै क्षेत्रमा थोरै भोटले माओवादी हारेको थियो ।

त्यतिबेला संविधान बनाउन सकेको भए र माओवादी नटुक्रिएको भए आज व्यवस्था सङ्कटमा पर्दैनथ्यो । एमाले, काँग्रेस र राप्रपा त राजा ल्याउन ठिक्क परेर बसेका छन् । कि राजा आए पनि खाने यिनीहरूले नै हुन् । माओवादीको लडाइँ व्यर्थै गयो । राजाले आफू फर्किनका लागि टाउको उठाइसकेका छन् ।

देशमा राजतन्त्र आउने कन्फर्म झैँ भइसकेको छ । माओवादीका सच्चा नेताहरू जम्मै विस्थापित भए । माओवादी दलालको पार्टी बन्न पुगेको छ । सत्तामा पुगेपछि माओवादीका नेताहरूले आफ्नो सिद्धान्त बिर्सिए । विलासितामा लागे । उनीहरू लोभीपापी भए । सहिदका परिवारलाई उनीहरूले अनदेखा गरे ।

पदमा हुँदा केही गर्न नसकेका प्रचण्ड गाउँगाउँ पुगेर नौटङ्की देखाइरहेका छन् । टपरीमा भात खाएर आफू जनताको नेता भन्छन् । यता, जनता भने राजा चाहियो भन्दै दरबारमार्गको सडकमा आउँछन् । गाडी राम्रो भएर के गर्ने, चलाउन नजान्ने ड्राइभर भएपछि । देश त्यस्तै भयो ।