धरान : धरानमा शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवस स्वास्थ्य मनाइएको छ ।

विशेष गरी धरान नगर सहकारी समन्वय समितिको कार्यालय स्थापन गर्ने विषयमा केन्द्रित रहेर नगर स्तरीय सहकारी भेला समेत एकै पटक सम्पन्न भएको छ ।

धरान नगर सहकारी समन्वय समिति र जिल्ला सहकारी संस्था लिमिटेड. सुनसरीको संयुक्त आयोजनामा भएको कार्यक्रमबाट आउने साउनबाट धरान ९ मा समन्वय समितिको कार्यालय स्थापन गर्ने सहमति जुटेको छ । कोष नभएकाले कार्यालय सञ्चालनका लागी जिल्ला सहकारी सङ्घ सुनसरीका अध्यक्ष तथा वडा नं. १५ का अध्यक्ष नरेश इङ्वारामले एक वर्षका लागी मासिक १ हजारको दरले सहयोग गर्ने प्रतिबद्धता जनाए । यस्तै, जिल्ला सहकारी सङ्घका १५ जना सदस्य तथा समन्वय समितिका २१ जना सदस्यले मासिक ५ सय, प्रारम्भिक सहकारी संस्थाले मासिक ३ सयको दरले सहयोग गर्ने सहमति भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका इवारमले सहकारी ऐन २०७४ अनुसार व्यवस्थित रूपमा चलेको सहकारीलाई लकडाउनले पनि कुनै समस्या नदिएको बताउँदै उनले सबै सहकारीलाई एन अनुसार चल्नका लागी आग्रह गरेका छन् । तर लकडाउनका कारण धरानको अधिकांश सहकारीमा समस्या देखिएकोले यस्तो बेला एउटा सहकारीले अर्को सहकारीलाई साथ सहयोग गरी एक हुनका लागी समेत आग्रह गरे ।

कार्यक्रममा धरानको फुड बैङ्कमा सहयोग गर्ने ५५ वटा सहकारीलाई प्रशंसा पत्र समेत वितरण गरिएको छ । कोभिड १९ को कारण समस्यामा परेको परिवारलाई राहत प्रदान गर्न स्थापना भएको फुड बैङ्कमा ५ लाख १८ हजार बराबरको खाद्यान्न प्रदान गरिएको थियो ।