इटहरी : इटहरी उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट अनिश्चित भएको छ । संवैधानिक मान्यता अनुसार असार मसान्तसम्म पास गरिसक्नुपर्ने बजेटमा विवाद भएपछि समस्या भएको हो ।
बुधवार बसेको १६औँ नगरसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ । अर्थ विधेयक, विनियोजन विधेयक र राजस्वको दररेट कुनै पनि उपलब्ध नगराई गोलमोटोल तरिकाले पास गर्न खोजेपछि विवाद भएको उपमेयर सङ्गीत चौधरीले बताइन् । वडाबाट छनौट भएर आएका योजना समेत लुकाएर पेल्न खोजेपछि नगर सभा सदस्यहरूले विरोध जनाएको उनको भनाइ छ ।
उपमेयर चौधरीले गत असार १० गते २ अर्ब ५५ करोड २१ लाखको अनुमानित बजेट प्रस्तुत गरेकी थिइन् । चालुतर्फ १ अर्ब ४ करोड ११ लाख, वित्तीय व्यवस्थातर्फ ९० लाख र पुँजीगत खर्चतर्फ १ अर्ब ३० करोड १९ लाख विनियोजन गरिएको छ ।
चालु आर्थिक वर्षमा ३ अर्ब ५७ करोड ८४ लाख ५० हजारको महत्त्वाकाङ्क्षी बजेट ल्याएको उपमहानगरपालिकाले नगर स्तरीय योजना सञ्चालन गर्न सकेन । दायित्व भुक्तानीले थलिएको उपमहानगर नयाँ बजेट मार्फत लयमा फर्किने बुझिएको छ ।
तथापि बुधवार बजेट पास नभएपछि थप जटिलता बढेको छ । मेयर हेमकर्ण पौडेलले बजेट पारित हुन नदिन नेकपा एमाले इटहरीका नेताहरूलाई दोष दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ‘नेकपा एमाले इटहरीका नेताहरूले मागेको बजेट दिन नसक्दा बहुमतको आडमा नगरसभा स्थगित । इटहरीवासी बजेटबाट विमुख ।’