धरान : लिम्बु सामाजिक, भाषिक, सांस्कृतिक, ऐतिहासिक पक्षलाई पत्रकारिताको माध्यमबाट योगदान पुर्‍याउने सञ्चारकर्मीलाई प्रदान गरिने पुरस्कार कोष स्थापना गर्न सुरु गरिएको १ सुका अभियानले १ महिनामा १ लाख ६४ हजार रुपैयाँ संकलन गरेको छ ।
पुरस्कार कोष लिम्बु पत्रकार सङ्घ सुनसरी जिल्ला समितिले स्थापना गर्न लागेको हो ।
सङ्घको आज बुधवार बसेको बैठकमा अध्यक्ष स्वर्णिमहाङ लिम्बुले उक्त जानकारी दिएका हुन । उनका अनुसार अहिले सम्म कोषमा ६४ जना दाताहरूले ५०० सय रुपैयाँ देखी २५ हजार रुपैयाँ सम्म प्रदान गरेका छन् ।
कुल १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्यका साथ सुरु गरिएको ‘एक सुका अभियान’ ५ लाख सम्म पुगेपछि उक्त कोषको व्याजबाट प्रत्येक वर्ष पुरस्कार प्रदान गर्न थालिने छ ।
पुरस्कार योगदानको आधारमा १ जना गैह्र लिम्बु सञ्चारकर्मी, १ जना पुरुष र १ महिला लिम्बु सञ्चारकर्मीलाई प्रदान गरिने छ ।   
धरान–१५ चुम्लुङ हिम स्थित सङ्घको कार्यालयमा बसेको बैठकले भोली बिहीबार किरात याक्थुङ चुम्लुङद्वारा आयोजित ‘शिसेक्पा तङनाम’ साउने संक्रान्ति कार्यक्रमका बिच संघव्दारा अहिले सम्म ५ हजार रुपैयाँ भन्दा माथि योगदान गर्नेहरूलाई कदर पत्र प्रदान गर्ने निर्णय गरेको छ ।