धरान : धरान छाता चौक स्थित पुरानो अस्पताललाई धरान नगर अस्पताल बनाउन गत: चैत १ गते प्रधानमन्त्री केपी आली, चैत ३ गते स्वास्थ्य मन्त्री र अर्थमन्त्री समेतलाई भेट गरी प्रस्ताव पत्र बुझाउँदा सकारात्मक वचन पाएको तर, धरान उपमहानगरपालिकाले ‘एउटा पत्र’ समेत लेख्न नचाहेको कोशी प्रदेश सांसद यशोदा कायस्थले बताएकी छन् ।
उनका अनुसार प्रधानमन्त्री, स्वास्थ्य मन्त्री, अर्थमन्त्रीबाट धरान अस्पताल कायम गर्ने वचन दिएको, त्यसका लागि धरान उपमहानगरपालिकाको कार्यपालिकाको निर्णय सहितको पत्र लिएर आउन् भनिएको थियो ।
सांसद कायस्थले भनिन् ‘धरान आएर नगर प्रमुख ज्युसँग सबै कुरा कागजपत्र राखे, एउटा पत्र लेखिदिनु होस पनि भनेँ तर उहाँले चासो राख्नु भएन ।’
४ महिना अघि त्यसै बेला एउटा पत्र मात्र लेखेर चासो राखिएको भए धरान अस्पताल कायम हुने प्रक्रिया अहिले धेरै अघि बढेको हुन्थ्यो भन्ने उनको भनाई छ ।
स्वास्थ्य बिमा बोर्डको निर्णयले बिमा गरेका गरेका बिरामीहरूले प्रथम स्वास्थ्य सेवा विन्दुको रूपमा बिपी प्रतिष्ठानबाट सेवा नपाउने भएपछि इटहरी, वराहक्षेत्र, इनरुवाबाट रेफरल लिएर आउनु पर्ने भएपछि धरान नगर अस्पताल नहुनु मुख्य कारण बनेको छ ।
धरान नगर अस्पताल बनाऊ
धरानमा नगर अस्पताल नबन्नुमा उपमहानगरपालिकाको लापरबाहीमा अहिले आम नागरिकले साल उठाएका छन् ।
धरान उपमहानगरपालिका निवर्तमान मेयर तिलक राईले सामाजिक सञ्चालनमा टिप्पणी गर्दै लेखेका छन् ‘स्थानीय सरकारले प्रदेश र सङ्घ सरकार सँग समन्वय गरी (धरान आधारभूत अस्पताल) प्रथम सेवा विन्दुको लागि तुरुन्त तयारी गर्नुपर्यो, त्यतिन्जेल सेवा सुचारु पाउनुपर्छ ।’
नेकपा माओवादी केन्द्रका इन्चार्ज चोत्लुङले सामाजिक सञ्जालमा लेखेका छन् ‘स्वास्थ्य बिमा बोर्डको पत्र अनुसार धरान उपमहानगरपालिकाको लापरबाहीले धरानवासी इटहरी, चतरा अस्पताल जानू पर्ने भएको रहेछ ।’
बिमा बोर्डको निर्णय कार्यान्वयन हुनुअघि स्वास्थ्य मन्त्रालयले सबै स्थानीय तह नगरपालिकाहरूलाई प्रारम्भिक स्वास्थ्य अस्पताल बनाउन परिपत्र जारी गरेको थियो ।
तर उपमहानगरपालिकाले स्वास्थ्य मन्त्रालयको परिपत्र बेवास्ता गरी नगर अस्पताल कायम गर्ने प्रक्रिया सुरु नगरेकाले धरानवासी स्वास्थ्य बिमाबाट वञ्चित भएका छन् । धरानमा १ लाख ७८ हजारले स्वास्थ्य बिमा गराएका छन् ।
बिमा बोर्डले धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखालाई सरकारी अस्पातालहरुबाट मात्र बिमा सुविधा दिन पाइने र अन्य स्वास्थ्य संस्थाबाट प्रथम बिन्दु हटाउने असार ८ गतेको बोर्डले निर्णय गरे बमोजिम परिपत्र पठाएको थियो ।
असार १९ गते नगरको प्रथम स्वास्थ्य बिन्दु कायम गर्न परिपत्र पठाएको थियो । असार १० प्रथम सेवा बिन्दुबाट सेवा लिने सूचना पठाएको थियो ।
असार २९ गते प्रथम बिन्दु बिस्तार गर्न परिपत्र पठाएको थियो । हाल बिमा बोर्डले १ महिना भित्र प्रारम्भिक अस्पताल निर्माण गर्दे मार्फत बिमा रिफर गर्न पत्र पठाएको छ ।
राजनीतिक दलहरूको दबाब जारी
बिपी प्रतिष्ठानमा साउन १ गतेदेखि स्थानीय र जिल्ला अस्पतालबाट रेफर सिफारिस लिएर आएका वीमित बिरामीहरूले मात्र उपचार सेवा पाउने स्वास्थ्य बिमा बोर्डले सूचना जारी गरेको छ ।
धरानमा नगर अस्पताल कायम नभएकाले धरानका बिरामीले बिमाको सुविधा पाउन इटहरी, चतरा, इनरुवा अस्पतालबाट रेफर भएर बिपी आउनु पर्नेछ । धरानमा प्रथम विन्दुको अर्को अस्पताल कायम नभए सम्म वीपीलाईनै प्रथम विन्दु र रेफरल अस्पताल कायम गर्न माग गर्दै राजनैतिक दलहरू शनिवार देखि आन्दोलित छन् ।शनिवार विरोध र्याली सहित कोणसभा भयो ।
आइतबार ईलाका प्रशासन कार्यालय धरान मार्फत बिमा बोर्ड स्वास्थ्य मन्त्रालयलाई नेपाली काँग्रेसका सभापति श्याम पोख्रेल, नेकपा एमालेका अध्यक्ष हर्कजंग एभेङ, नेकपा माओवादी केन्द्रका अध्यक्ष उद्धव लिम्बु, जसपा नेपालका अध्यक्ष ताजुब लिम्बु, नेकपा एकीकृत समाजवादीका अध्यक्ष रेवती रमण राईले संयुक्त हस्ताक्षर ध्यानाकर्षण पत्र पठाए ।
बिपीको बिमाको सेवा निष्क्रिय भएको सूचना
यसै बिच बिपी प्रतिष्ठानले आइतबार विज्ञप्ति सार्वजनिक गर्दे बिमाको सम्झौता नवीकरण हुन नसकेको र असार ३१ गते देखि बिमाको म्याद सकिने र स्वास्थ्य बिमाबाट सञ्चालित सम्पूर्ण सेवाहरू स्वतः निष्क्रिय हुने जानकारी गराएको छ ।
विज्ञप्तिमा नेपाल सरकारको स्वास्थ्य बिमा बोर्डले बिपी प्रतिष्ठानसँग २०७४ साउन १ देखी स्वास्थ्य बिमा कार्यक्रम सम्झौता गरेको गरेको हो । प्रतिष्ठानले सामाजिक उत्तरदायित्वलाई सर्वोच्च प्राथमिकतामा राख्दै स्वास्थ्य बिमा बोर्डतर्फ हालसम्म झन्डै साढे ७४ करोड बराबरको बक्यौता भुक्तानी प्राप्त हुन बाँकी रहेको जनाएको छ ।