धरान: सोनाम ल्होछार २८५६ जिवा ल्हो (मुसा वर्ष) चा खाम (फलाम)को अवसरमा यही माघ ४ गते धरानमा भव्यरुपमा साँस्कृतिक उत्सव मनाइने भएको छ ।

नेपाल तामाङ महिला घेदुङ सुनसरीले बुधबार एक प्रेश विज्ञप्ती जारी गर्दै माघ ४ गते धरान १० स्थित सैनिक भवनमा चौथो सोनाम ल्होछार साँस्कृतिक उत्सव २०७६ मनाउने जानकारी दिएको हो । सोनाम ल्होछार माघ ११ गते भएपनि त्यसअघि नै उत्सव आयोजना गरिन लागेको हो । घेदुङकी अध्यक्ष विष्णु मोक्तान तामाङले विज्ञप्ती जारी गर्दै उत्सवमा राष्ट्रिय कलाकारद्वय जितु लोप्चन र विशाल काल्तेनको सांगीतिक प्रस्तुति हुने जानकारी दिएकी छिन् । साथै उक्त साँस्कृतिक उत्सवमा धरानमा रहेका जातिय संस्थाहरुको तथा स्थानीय कलाकारहरुले गायन र नृत्य समेत समावेश गरिने महिला घेदुङले जनाएको छ ।

सोनाम ल्होछार मध्यम वर्गीय कृषक तामाङ लगायत अन्य जाति जनजातिहरुमा नयाँ वर्षको रुपमा हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । तामाङ समाजमा सोनाम ल्होछारलाई २ प्रकारले स्थापित पर्वका रुपमा मनाइन्छ । नेपाल उपत्यकाको पानी चोभारको डाँडा काटी बगाएर बस्ती योग्य बनाई धर्माकरलाई नेपाल उपत्यकाको पहिलो राजा बनाउने महामञ्जुश्रीको स्मरणमा सोनाम ल्होछार मनाउने गरिन्छ । बोधिसत्व मञ्जुश्रीको जन्म सोनाम ल्होछारका दिन मंगलबार मुसा वर्षमा चीनको रेबा चेङा नाम गरेको मातातीर्थमा ज्ञानको आदि देव बालकको रुपमा कमलको फूलमा भएको थियो । उनले ८४ हजार तत्व ज्योतिष विज्ञानको नाग्चीको धर्मदेशना गरी पृथ्वीलाई दिव्यमान गरेको हुनाले मञ्जुश्रीको यस संसारमा आगमन भई ज्ञानको नयाँ श्रृष्टि भएको रुपमा सोनाम ल्होछार मनाउने गरिन्छ ।

यस्तै, ऋतु परिवर्तनको आधारमा सोनाम ल्होछार मनाउने गरिन्छ । शरद ऋतुको चिसो मौसममा वनस्पतिका पातहरु झरेका जीवजन्तुले खान नपाउने बेला हुन्छु, मानवले आफुनो तेज, चमकका साथ शक्ति समेत गुमाएका हुन्छ । त्यस अवस्थाबाट गुज्रिने क्रममा जेठ सूर्य उत्तरायणको प्रारम्भ्कि चरणमा प्रवेश गर्छ र आकाश मण्डलमा मगा नामक नक्षत्रको उदय हुन्छ त्यही माघ शुक्ल प्रतिपदाको दिनलाई ल्होछार अर्थात नयाँ वर्ष भन्ने गरिन्छ । जुन नयाँ वर्षबाट बसन्त ऋतुको शुरुवात भई प्रकृतिमा हराभरा जीवनको शुरुवात हुन्छ । प्रकृतिमा चिसो क्रमशः कम हुँदै न्यानोपन बढ्दै जाँदा हिमालका हिउँहरु पग्लिएर पानीमा परिणत भई समथर भूमिमा बग्न थाल्छ । मानिसको त्वचामा जाडोले भएका समस्याहरु हराएर चमक सृजना हुन्छ । यहि ऋतु परिवर्तन भई बसन्त ऋतुको शुरुवातको प्रथम चरणलाई विश्वका २० भन्दा बढी देशका मानिसहरुले नयाँ साल, प्रकृतिको नयाँ मुहार, नयाँ चरणको प्रवेश भएको रुपमा सोनाम ल्होछार मनाउने गर्दछन् ।