चतरा : सुनसरीको बराहक्षेत्र धाममा माघ १ गते लाग्ने मकर सङ्क्रान्ति मेलाको तयारी सुरु गरिएको छ। मेला आयोजक समिति बराहक्षेत्र संरक्षण मञ्चका अनुसार मेलाको तयारी सुरु गरिएको हो। बराहक्षेत्र संरक्षण मञ्चका सचिव राजु घिमिरेले भक्तजन तथा तीर्थयात्रीलाई स्वागत गर्न बराहक्षेत्र धाम तयार रहेको बताए। स्वास्थ्य मापदण्ड, सुरक्षा जस्ता कुराको व्यवस्थापन भइरहेको जानकारी दिए। नेपाल प्रहरी, सशस्त्र प्रहरीले मेलामा सुरक्षा व्यवस्थापन गर्ने उनले जानकारी दिए।
पौष मसान्तको रात र माघ १ गते लाग्ने मेलाका लागि सरसफाइ र रङ रोगन लगाई सकिएको तथा व्यापारीका लागि स्टल र स्नान घाट व्यवस्थापन गर्न बाँकी रहेको घिमिरेले बताए। मेलामा १ लाख तिर्थालु आउने अनुमान गरिएको उनले जानकारी दिए। माघ १ गते कमर स्नान गर्न तिर्थालु वराहक्षेत्र आउने गर्दछन् । बराह पुराणका अनुसार माघ १ गतेबाट उत्तारक सुर हुन्छ र देवताहरू जागृत हुन थाल्छन्। माघ १ गतेबाट नै सूर्य मकर राशिमा प्रवेश गर्ने भएकाले यसलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ। यस दिन ठुला तीर्थ र तलाउमा गएर स्नान गर्दा पुण्य प्रप्ती हुने पण्डित योगेश भण्डारी बताउँछन्।
माघ १ गनेका दिन बराहक्षेत्रमा स्नान गर्दा अनन्तकाल सम्म भगवानको धाममा बस्न पाइने उनको भनाइ छ। यसदिन बराहक्षेत्र स्थित कोका कौशिकीमा स्नान गरे विगतका गरेको गल्तीबाट मुक्ति भइने मान्यता रहेको छ। शरीरमा भएका लुतो, खटिरा जन्य बस्तु हराएर जानेछन् भने शुद्ध मनले स्नान गरेर वराह भगबानको दर्शन गरे सोचेका कुरा पूरा हुन जनविश्वास र किंमदन्ति समेत रहेको छ। उक्त दिन मेला भर्न मकर स्नान गर्न नेपाल बाहिरबाट पनि तिर्थालुहरु आउने गर्दछन्। माघे मेलामा कोका कौशिकीको संगमस्थलमा गएर स्नान गर्ने परम्परा रहेको छ।
कोका-कौशिकीको सङ्गममा स्नान गर्न देश विदेशबाट भक्तजन आउने संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठ बताउँछन्। सनातन कालदेखि स्नान गर्ने पर्वको रूपमा मनाउने माघे मेलाको अवसरमा नदिहरुका संगमस्थलहरुमा धार्मिक मेला लाग्ने गर्दछ। सोही अवसरमा हिन्दु धर्मका प्रमुख चारधाम मध्ये एक मानिएको बराहक्षेत्र धाममा लाग्ने माघे सङ्क्रान्ति मेला संसारमै प्रसिद्ध छ।
मकर स्नानसँगै मेलामा स्थानीय क्षेत्रमा उत्पादित बस्तुसँगै होटेल, प्रसाद, फलफूल, तरुल, बदाम, सुन्तला जस्ता बस्तुहरूको समेत व्यापार बढ्ने छ। माघ संङ्ग्रान्तिका दिन लाग्ने माघेमा मेला तरुल, सुठुनी, बदाम, सुन्तला जस्ता बराहक्षेत्रसँग जोडिएको धनकुटाको सुन्तला, सुर्यकण्डका हर्दि, अदुवा जस्ता बस्तुहरू आगन्तुकको रोजाइमा पर्ने गर्दछ।









































































