धरान : जेन-जी विद्रोहले झकझक्याएको नेपाली काँग्रेसलाई नयाँ राजनीतिक परिस्थितिमा पूनःसंरचना गर्ने विवेक गाउँ टोल तहका क्रियाशील सदस्यहरू समक्ष पुर्याउनु पर्ने भएको छ ।
पार्टीका वर्तमान नेतृत्व र संरचनाबाटै विशेष अधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने भन्ने विवाद टुङ्गिएको छ । असोज २८ गते देखी सुरु भएको काँग्रेस केन्द्रीय समितिको झण्डै डेढ महिना लामो बैठक पछि अन्ततः नियमित महाधिवेशन गर्ने निर्णय गरेको हो ।
आउँदो पुस २६ देखी २८ गते ३ दिन महाधिवेशन आयोजना गर्ने निर्णय भएको हो । महाधिवेशनको लागि तल्लो तह देखी नयाँ नेतृत्व चयन गर्न क्रियाशील सदस्यता वितरणको प्रक्रिया मङ्सिर २० गते देखी सुरु हुनेछ । पुस १४ गते भित्र क्रियाशील सदस्यताको अन्तिम प्रमाणित नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाइने छ ।
नयाँ परिस्थितिमा पार्टीमा जेन-जी पुस्तालाई क्रियाशील सदस्यता वितरण गर्दा देखी नै व्यापक सहभागिता गराउने निर्णय गरेको छ । निर्णय अनुसार १८ वर्ष देखी ३० वर्ष उमेर समूहका युवा पुस्तालाई प्राथमिकता दिएर क्रियाशील सदस्यता वितरण गर्नु पर्नेछ ।
पार्टीको उक्त निर्णयले प्रारम्भिक सङ्गठनहरूका युवा पुस्ताको सहभागिता र नेतृत्वको कल्पना गरेको प्रतीत हुन्छ । पार्टीलाई पुरानै गुटगत ढाँचामा लैजाने प्रवृत्ति प्रभावित सङ्गठनले उक्त निर्णयलाई बेवास्ता गरे काँग्रेसको पूनःसंरचनामा धोका हुनेछ ।
काँग्रेसको जनधार क्षय हुनमा पछिल्लो समय क्रियाशील सदस्यताको दुरुपयोग मुख्य कारण हुँदै आएको थियो । पार्टी सङ्गठनलाई गुटगत कब्जामा राख्न डमी क्रियाशील सदस्य बनाउने र वडा सङ्गठनमा कायशील सदस्यहरूले मतदान गर्नै नपर्ने कथित ‘सर्वसम्मति’ अवस्था बनाइँदै आएको थियो ।
काँग्रेसको निर्णय अनुसार पन्धौं महाधिवेशनका लागि यसपालि गाउँ÷नगर÷वडा अधिवेशन र नेतृत्व चयन पुस १७ गते भित्र गरिसक्नु पर्नेछ । ती अधिवेशनबाट आउने अनुहारले पार्टी सङ्गठनको पूनःसंरचनाको निर्धारण गर्नेछ । गाउँ/नगर/वडामा पार्टी बलियो नभए आउँदो फागुन २१ को चुनावमा काँग्रेसको हविगत अहिलेको भन्दा तल झर्नेछ ।
केन्द्रीय समितिको बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली तर्फ भाग लिनका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको छ । समानुपातिक पद्धतिमा पार्टीको उम्मेदवार नभएको निर्वाचन क्षेत्रमा मतदाताले पार्टीलाई मतदान गर्ने सुविधा हुन्छ।


































































