धरान : धरान: धरान रंगशालमा आज बिहीबार देखी सुरु भएको अन्तर वडा महिला नकआउट रनिङकप फुटबल दोस्रो संस्करणको उद्घाटन खेलमा धरान– १७ ले विजयी सुरुआत गरेको छ ।
प्रतिस्पर्धात्मक खेलमा धरान–१७ ले धरान–१६ लाई १–० गोलले पराजित गरेको हो । निर्धारित ६० मिनेटको खेलमा पहिलो हाफको १४ मिनेटमा सुनिता राईले गरेको एक मात्र गोल नै उद्घाटन खेलको निर्णायक बन्यो ।
खेलको ‘फेयर–प्ले अफ द म्याच’ वडा नं १६ की खेलाडी प्रमिला जिमी घोषित भइन्। उनले नगद १ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरिन्।
प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले खेलकुदको सहर मानिने धरानमा महिला फुटबलको भविष्य उज्ज्वल रहेको उल्लेख गरे । प्रजिअ घिमिरेले यस्ता प्रतियोगितालाई निरन्तरता र विस्तार गर्दै लैजानु पर्ने बताए।
विशेष अतिथि एन्फा केन्द्रीय वरिष्ठ मानार्थ उपाध्यक्ष, कोशी प्रदेश एन्फा अध्यक्ष किशोर राईले धरानमा टोल कपदेखि गोल्ड कपसम्म प्रतियोगिता भए पनि तयारी भने अझै सुधार गर्न आवश्यक रहेको बताए ।उनले महिला फुटबललाई वडाले सदैव प्रोत्साहन गर्दे प्रवर्द्धन गर्नु जरुरत रहेको बताए ।
उनले भने, “वडाहरूमा महिला फुटबल खेलाडी उत्पादन गर्न विद्यार्थी खेलाडीबिच प्रतिस्पर्धा गराइएको हो। विद्यालयमै प्रोत्साहन पाए खेलाडी बन्ने आधार बलियो हुन्छ।”
कार्यक्रमका अतिथि धरान उपमहानगरपालिका–१६ का वडाध्यक्ष मुरारी भट्टराईले महिला फुटबललाई विद्यालय तहदेखि नै प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिताहरू सञ्चालन भइरहेको बताए।
मंसिर २७ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ९० हजार र उपविजेताले ४५ हजार रुपैयाँ पाउनेछ। व्यक्तिगत विधातर्फ ‘फेयर–प्ले अफ द म्याच’ विजेताले २ हजार, उत्कृष्ट मिड फिल्डर र किपरले ३ हजार ५ सय र उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतियोगिताको आयोजना जनपथ जागरण समाज, धरान–१६ ले गरेको हो। प्रतियोगितामा धरानका २० वटै वडाका टोली सहभागी छन्।भोलि शुक्रवार पहिलो खेल धरान–३ र धरान–१४ बिच हुनेछ । दोस्रो खेल धरान–२० र धरान–५ बिच हुने आयोजकले जनाएको छ । प्रतियोगिता हेर्न प्रवेश शुल्क सामान्य खेलहरूमा २० रुपैयाँ र फाइनल खेलमा २५ रुपैयाँ तोकिएको छ।




































































