धरान : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा शर्मा गौतमले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा लैजाने एजेन्डाहरूबारे पदाधिकारीहरुसंग छलफल गर्न आज मङ्गलवार धरान आइन् ।
उनले पत्रकारहरूसँग भनिन् ‘सिनेट बैठकको पूर्ण तयारी गर्न, अस्पताल र शैक्षिक अवस्था, कर्मचारीको कठिनाई बुझ्न धरान आएको हुँ ।’
स्वास्थ्य मन्त्री प्रतिष्ठानको सहकुलपति हुन। सिनेट बैठकको मिति बारे भने प्रतिष्ठानले जानकारी दिएको छैन ।
यसअघि सिनेटको बैठकको एजेन्डा र मिति तय गर्न पदाधिकारीहरू स्वास्थ्य मन्त्रीसँग छलफल गर्न काठमाडौँ जाने गरेका थिए ।
जेनजी आन्दोलन पछि बनेको अन्तरिम सरकारका मन्त्री भने सिनेट बैठकबारे छलफल गर्न आफै धरान आएकी हुन ।
बिपी प्रतिष्ठानको अनुगमन पनि गरिने बताउँदै मन्त्री शर्माले भनिन् ‘जेनजी आन्दोलन पछि बनेको सरकारको संस्थागत सुधार स्वास्थ्य प्रणलीकोे सुधार निरीक्षण र सेवा गुणस्तरमा भूमिका प्रबल रहन्छ ।’ मन्त्रालयले अनुगमनलाई भ्रष्टाचार न्यूनीकरण, संस्थागत सुधार र प्रभावकारी स्वास्थ्य सेवा सुनिश्चिततामा केन्द्रित गरेको उनको भनाई थियो ।
अनुगमनमा अस्पतालको कार्यसम्पादन, वेटिङ टाइम, क्लिनिक सञ्चालन र स्रोत–साधनको प्रयोग प्रत्यक्ष मूल्याङ्कन गरिने बताइएको छ ।
सरकारी अस्पतालहरूमा कर्मचारीको क्षमता र तालिम उत्कृष्ट भए पनि प्रयोगमा शून्य रहेको बताउँदै मन्त्री शर्माले भनिन् ‘विभिन्न सरकारी अस्पताल अवलोकन गर्दा स्रोत साधनको प्रभावकारी प्रयोग नभएको र व्यवस्थापन कमजोर भएको देखिएकोले प्रत्येक उपचार त्रुटिको गहिरो विश्लेषण गर्न आवश्यक देखिएको छ ।’
सरकारको अनुगमन अभियानले बिपी प्रतिष्ठानमा पनि कार्यसम्पादन सुधार, सेवा सहजता र पारदर्शिता सुनिश्चित गर्न थप दबाब सिर्जना गर्ने अपेक्षा लिएको उनले बताईन ।
प्रतिष्ठानका सहकुलपति मन्त्रीसँग प्रतिष्ठानका के कस्ता समस्या तथा सिनेटको बैठकमा प्रस्तुत हुने एजेन्डाका बारेमा भएको छलफलबारे प्रतिष्ठानले कुनै जानकारी दिएको छैन ।