धरान : प्रदेश १ को नाम कोशी राखिएकोमा धरानको भानुचौकमा आक्रोशित पहिचानवादीहरूले आगो जलाइरहेको बेला धरान सभागृहमा सांस्कृतिक दमन, पहुँच र अवसरबाट वञ्चित आदिवासी जनजाति युवाहरूको अवस्था चित्रण गरिएको कथा ‘कुमार मामा’को नाट्य रूपान्तर प्रदर्शन भइरहेको थियो ।
सभागृह बाहिर तिन ढुङ्गे चुलेमा आगो बलिरहेको थियो । छेउमा स्थापना गरिएको थानमा वाबु, डेक्से झुण्ड्याएका थिए । वरिपरि युवाहरू ढोल बजाउँदै सकेला नाचिरहेका थिए । कथाको नाट्य प्रस्तुतिको सुरुआत आगोबाटै भएको थियो । प्रदेश सभा भवन बाहिर विराटनगरमा ‘लिम्बुवान, किरात’ नाका पक्षधरहरूले विरोध प्रदर्शन गरिरहेका थिए । यता सभागृह बाहिर साकेलाको तिन ढुङ्गे चुल्होमा आगो बलिरहेको थियो ।
‘कुमार मामा’को नाट्य रूपान्तरकार, निर्देशक प्राज्ञ विष्णु मोक्तानको कल्पनाशील नाट्य सुरुआतले कथा अहिलेको जल्दो बाल्दो विषय भएको तर्फ दर्शकको ध्यानाकर्षण गराएको हो । कथाका लेखक पत्रकार जनकऋषि राई हुन् । उनी स्वयं प्रदेशको नामकरण किरात हुनुपर्ने आन्दोलनमा अगुवाका रूपमा रहेका सांस्कृतिक अभियन्ता हुन् । जनकको २०६६ सालमा प्रकाशित कथा सङ्ग्रह ‘वस्ति भित्र’को एउटा कथा हो ‘कुमार मामा’ ।
कुल ४ रंगमिञ्चय दृश्यमा समेटिएको नाटकले मुलुकमा गणतन्त्र ल्याउन सङ्घर्षमा सहभागी भएका आदिवासी जनजाति युवाहरूको कथालाई रोचक ढङ्गमा प्रस्तुत गरेको छ । देशमा परिवर्तन ल्याउने कल्पना लिएर द्वन्दमा होमिएका त्यस बेलाका युवाहरूको अहिलेको अवस्था कुमार मामाको अविवाहित मार्मिक वियोगान्तका रूपमा देखाइएको छ ।
२०६२/०६३ को जनआन्दोलनले देशमा गणतन्त्र ल्यायो । तर त्यो जनआन्दोलनमा संलग्न युवाहरूले जुन परिकल्पना गरेका थिए, उनीहरूले के पाए ? विशेषतः आदिवासी जनजाति युवाहरूले न अवसर पाए, न राज्यमा पहुँच पाउन सके । राणाकाल र पञ्चायती कालमा जस्तै लाहुरे जाने तयारी गर्नेहरू, त्यसमा असफल भएकाहरू गाउँ, सहरमा मजदुर गरेर जाँडरक्सी खाएर बेवारिसे मृत्युको अवस्था सम्म दोहोरिएको कथा नाटकमा रूपमा प्रस्तुत गरिएको छ ।
अवसर र पहुँच त पाएनन् नै । उनीहरूलाई आदिवासी जनजाति भएकैले सांस्कृतिक रूपमा विभेद गरिने व्यवहारमा समेत कुनै परिवर्तन आएन । उनीहरूको चाडपर्व मनाउने अधिकारलाई रोजगार दाताहरूले हाँसो उडाउने गरेका छन् । सम्मान जनक ढङ्गले हेरिन्न । अझ सहरिया संस्कृतिको अतिक्रमणले आफ्नै मानिसहरू पनि सांस्कृतिक कुराहरूलाई गौण मान्ने प्रवृत्ति बढेर परम्परागत जीवन विश्रृंखलित बन्दै गएको उदाहरणका प्रमुख पात्र ‘कुमार मामा’ मार्फत प्रकटीकरण गरिएको छ ।
कथाको नाट्य रुपान्तरका दर्शकलाई सवा घण्टा बितेको थाहा हुन्न । हिजोआजका गाउँ, सहरका भट्टी पसल, बसपार्कमा राती देखिने सडक मानवको अवस्था, सुकुम्वासी बस्तीका चौकहरूमा देखिने दृश्य नाटकमा स्वैरकाल्पनिक रूपमा प्रस्तुत गरिएको छ । नाटक हेर्दा चौथो दृश्य रोचक र अलि लामो भए पनि दर्शकलाई आफू त्यहीँ वरिपरि भएको आभास दिने खालका छन् ।
अहिलेका युवाहरूको अवस्था र अवसर नपाएर उमेर ढल्केकाहरूको दैनिकी व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरिएको छ । मदकृष्ण-हरिवंशको हाँस्य व्यङ्ग्य हेरिरहेको जस्तो अनुभूति पनि नाट्य प्रस्तुतिले दर्शकलाई गराउँछ । वास्तवमा मुलुकमा ‘कमन म्यान’ युवाहरूको अवस्था अहिले हाँस्य व्यङ्ग्यका पात्रहरूकै जस्तो छ । त्यसमा पनि आदिवासी जनजाति युवाहरूको दैनिकी जसरी व्यतीत भइरहेको छ, कुमार मामामा त्यसको सजीव चित्रण गरिएको छ ।
कथाले आजका जनजाति युवाहरूको जीवनको जटिलता भोलिको विद्रोहको पृष्ठभूमि पनि बन्न सक्ने सङ्केत गरेको छ । पटक पटकको असफलता, पहुँच नभएका युवाहरूको मनस्थिति जाँड, रक्सी खाएर विश्रृंखलित बन्नु देशको भविष्यका लागि नकारात्मक सङ्केत हो । तर नाट्य रूपान्तरमा अबको मार्ग चित्र के हो, यो अवस्थाले आदिवासी जनजाति युवाहरूको दिशा कता तिर लैजाँदै छ भन्ने सन्देश भने दिएको पाइन्न ।
नाट्य रुपान्तरका पात्रहरू विष्णु मोक्तान, उदय बेघा लिम्बु, सजेष्ट घायल राई, विकास कुलुङ, मानबहादुर राई, दीपेन्द्र राई, एलिना रुम्दाली, करिश्मा क्षेत्री, एञ्जल तामाङको टिम जमेको छ । पार्श्व सङ्गीत र ध्वनि सन्तोषजनक छ । सभागृहको लथालिङग अवस्थामा पनि मञ्चलाई नाटक प्रदर्शनका लागि सठिक गरेर यतिको नाट्य प्रस्तुति हुनु साधन, श्रोतको अधिकतम उपयोग हो । विष्णु तामाङको यो नयाँ प्रस्तुतिले धरानको नाट्य परम्परामा यौटा नयाँ ‘माइल स्टोन’ खडा गरेको छ ।