धरान : पछिल्लो समय धरानको रङ्गमञ्चलाई नयाँ गति प्रदान गर्दै आएको रंगभूमि एकेडेमी नयाँ प्रस्तुतिको तयारीमा लागेको छ । आधुनिक रंगमञ्चीय प्रस्तुतिमा प्रयोगवादी धारका नाट्य प्रस्तुतिले रंगभूमिका नाटकहरू प्रभावशाली हुने गरेका छन् ।
यसपालि एउटा कथाको नाट्य रूपान्तरण धरान सभागृहमा प्रस्तुत गर्ने तयारीमा रंगभूमि लागेको हो । लथालिङ्ग अवस्थामा रहेको सभागृहमा आज आइतबार पत्रकार सम्मेलन गरी रंगभूमिले उक्त जानकारी दिएको हो । नाट्य मञ्चन फागुन १७ देखी ३० गते सम्म हुँदैछ ।
२०६६ मा प्रकाशित जनकऋषि राईको ‘बस्ती भित्र’ कथा सङ्ग्रहको एउटा कथा ‘कुमार मामा’को नाट्य रुपान्तर मञ्चन गर्न लागिएको हो । कथालाई नाट्य रुपान्तर र रंगमञ्चीय निर्देशन प्राज्ञ विष्णु मोक्तानले गरेका हुन् । 
कथाको पृष्ठभूमि र परिवेश द्वन्देत्तर नेपाली समाजको निम्न वर्गका अवस्थामा आधारित रहेको निर्देशक तामाङले बताए । मुलुकको संक्रमणकालमा कुमार मामाले गरेको कल्पना परिवर्तनपछिका दिनहरूमा भोग्दै गरिएका यथार्थ मञ्चमा प्रस्तुत हुने मोक्तानले बताए ।
नाट्य मञ्चनमा १० जना कलाकारहरूले भूमिका निर्वाह गरेका छन् । त्यसमा 'मोक्ष' विक्रमसिंह थारु पनि रहका छन् । पत्रकार सम्मेलनमा सभागृहको अवस्था नाटक मञ्चको अभावप्रति चर्चित कलाकार थारुले गम्भीर असन्तुष्टि प्रकट गरे ।
पत्रकार सम्मेलन भइरहँदा सभागृहको मञ्चलाई नाटक प्रदर्शन लायक बनाउने तयारीमा खटिरहेका रङ्गकर्मीहरूको अवस्थाले नाटक मञ्चनमा उनीहरूको मिहिनेतलाई प्रतिबिम्बित गरेको थियो । सभागृहमा हिजोआज स्थानीय सरकारको सुरक्षाकर्मी नगर प्रहरी बस्ने गरेको छ । सुधार हुनुपर्ने सभागृहको अवस्था भने बाख्राको खोर जस्तै भएको छ ।