आजभोलि नेपालमा कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता हौँ भन्ने र भनिनेहरूले नै पनि एक आपसमा भेटघाट हुँदा ‘लाल सलाम’ भनेको सुनिँदैन । त्यसो त नेपालमा कम्युनिष्ट पार्टीको कुरो गर्नु पर्दा एक होइन, दुई होइन, तीन होइन बग्रेल्ती कम्युनिष्ट पार्टीहरू रहेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, नेपाल कुम्यनिष्ट पार्टी-एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी (माले) सीपी मैनाली, नेकपा (माले) विष्णु राज अर्याल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाल मजदुर किसान पार्टी नारायणमान बिजुक्छे, नेकपा (मसाल) मोहन विक्रम सिंह।
यस्तै राष्ट्रिय जनमोर्चा चित्र बहादुर केसी, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) मोहन वैद्य, नेपाल कम्युनिस्ट पार्टी (नेकपा संयुक्त) चन्द्र देव जोशी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ऋषि राम कट्टेल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेत्र विक्रम चन्द, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गोपाल किराँती, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल ।
त्यस्तै आहुतिले नेतृत्व गरेको, राष्ट्रवादी जनणतान्त्रिक मोर्चा, सीपी गजुरेल, नेपाल कम्युनिस्ट पार्टी (पुष्प लाल) र नेपाल कम्युनिस्ट (बोल्सेभिक) आदि कम्युनिस्ट नाम रहेका पार्टीहरू अस्त्विमा रहेका छन् । तर, माथि उल्लेखित कम्युनिस्ट पार्टीहरूमध्ये धेरै कम कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरूले मात्रै आफूहरू एक आपसमा भेटघाट हुँदा कामरेडी सम्बन्ध बनाउँदा हुन् ।
कामरेडी नाता गाँस्दा हुन, गर्वका साथ दाहिने हात उचालेर, उठाएर ‘लाल सलाम कामरेड !’ भनी सम्बोधन गर्दा हुन् ? भनिन्छ, कमरेड शब्द स्पेनिस र पोर्चुगिच भाषाको ‘कमाराडा–कमारादा’बाट आएको हो । जसको अर्थ ल्याटिन भाषामा ‘च्याम्बर’ अथवा ‘रुम’ (कोठा) हुन्छ ।
साथै अर्को अर्थ पनि लाग्छ कि, ‘कमाराडा-कमारादा–कमरेड’ भन्नाले सहकर्मी, सहयोद्धा त्यसमा पनि क्रान्तिकारी सेनाभित्रका आत्मीय साथी भन्ने अर्थमा पनि विशेषतः कामरेड शब्दले विशिष्ट अर्थ राख्छ । अझ तत्कालीन विशाल सोभियत सङ्घ निर्माण गरेका भिआई लेनिनले आफ्नो लाल सेनाहरूमाझ एक आपसमामा बोल्दा, व्यवहार गर्दा कमरेड शब्दलाई व्यापक रूपमा प्रयोग गरे ।
यसरी प्रयोग हुँदै जाँदा कमरेड शब्दको व्युत्पत्ति नै रसियन भाषा हो भन्ने बाँकी विश्वलाई भान पर्न गयो । त्यसो त कमरेड शब्दको अर्थ गुगलमा खोज्दाखेरि एउटै कोठामा मिलेर बस्ने, बराबार भाडा तिरेर बस्ने साथीहरू (रुम मेट) लाई पनि ‘कमरेड’ भनिने उल्लेख गरिएको छ, अर्थ दिइएको छ ।
यसरी हेर्दा स्पेनिस र पोर्चुगिच भाषाबाट आएको ‘कमाराडा-कमारादा’बाट बनेको ‘कमरेड’ शब्द कुनै वेला नेपालका हरेक कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरूले आफ्नो आदर्श शब्द बनाएका थिए । उनीहरूले कुनै पनि भेटघाट तथा कार्यक्रममा एक आपसमा हात मिलाउनु, नमस्कार गर्नु वा अरू कुनै तरिकाले अभिवादन गर्नुको सट्टा पहिले दाहिने उठाएर, उचालेर मुट्ठी कस्दै ‘लाल सलाम कामरेड !’ भनी क्रान्तिकारी अभिवादन गर्ने गर्थे ।
अर्को भनाइअनुसार यो शब्द ‘रेड स्याल्युट’ अथवा ‘रेड सल्युट’बाट अनुवादित भएको शब्द हो । स्मरणीय छ, हिन्दी (उर्दू) भाषामा ‘लाल’को अर्थ ‘रातो’ र अरबी भाषामा ‘सलाम’को अर्थ अभिवादन हो । हुन पनि के भनाइ छ भने रातो रङ्ग भनेको क्रान्तिको प्रतीक हो । त्यसैले क्रान्ति गर्न चाहने, खास गरी कम्युनिस्ट क्रान्तिकारीहरूले सुरुमा ‘लाल सलाम’ र ‘कामरेड’ शब्दलाई आफूहरूबिच व्यापक रूपमा प्रयोग गरेका थिए ।
त्यसपछि क्रमशः श्रमिक र किसानहरूका माझमा पनि ‘लाल सलाम’ र ‘कामरेड’ भन्ने शब्दलाई अभिवादन गर्ने र एक आपसमा आफूहरूलाई सम्बोधन गर्ने एक माध्यमका रूपमा लोकप्रिय बनाए । नेपालमा पनि सुरुका दिन (विसं २०६२/०६३ ताकासम्म) नेपालका प्रायः सबै कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरू एक आपसमा भेटघाट गर्ने र हरेक कार्यक्रमहरू गर्ने क्रममा टाढैबाट एक अर्काले बडो आत्मीयतापूर्वक ‘लाल सलाम कामरेड’ भन्ने गर्थे भने उनीहरूले आफ्नो दाहिने हात उठाएर, उचालेर मुट्ठी कसेर हात अभिवादन गर्ने गर्थे ।
अनि बल्ल नजिक आएर एक आपसमा कसिलो गरी हात मिलाउँथे । त्यो वेला अहिले जस्तो कार्यकर्ताहरूले आफ्ना नेतालाई टाढैबाट ‘सर’ वा ‘नेता’ ज्यु भन्ने प्रचलन थिएन । त्यस्तै नेताहरूले पनि आफ्ना कार्यकर्ताहरूलाई जी भन्नुको सट्टा जस्तो कि ‘शिवजी, रामजी, धर्म हाङजी, लाजेहाङजी, निनामजी, वेईलीमजी, बोक्थोरीजी (यहाँ निनाम, वेईलीम र बोक्थोरी नामहरु कुलुङ जातिको भाषामा राखिएको हो), ललनजी, दावाजी” भनी सम्बोधन गर्नुको सट्टा बडो आत्मीयतापूर्वक ‘कामरेड’ भन्ने गरेको लेखका लेखक स्वयम्ले भुलेको छैन ।
ऊ वेला अहिले जस्तो भेटघाट नहुँदै टाढैबाट कार्यकर्ताहरूले आफ्ना नेताहरूलाई नमस्ते गर्नु वा नमस्कार भन्नु र सर अथवा नेता ज्यु भन्ने आँट कसैले पनि गर्न सक्दैन थिए !? हरेक कम्युनिस्ट पार्टीभित्र नेता तथा कार्यकर्ताबिच एक खाले फलामे अनुशासन र कामरेडी आत्मीयताको विकास थियो ।
तर विक्रम संवत् २०६२/०६३ को जनआन्दोलनपछि आएको राजनैतिक परिवर्तन यता चाहिँ प्रायः सबै कम्युनिस्ट पार्टीमा दाइ, सर र नेता ज्यु शब्दले प्राथमिकता पाएको देखिन्छ । हुन त यसो भनी रहँदा नेपाल मजदुर किसान पार्टी, नेकपा (मसाल), राष्ट्रिय जन मोर्चा (राजमो), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी), नेपाल कम्युनिस्ट पार्टी (संयुक्त), तीन वटा (नेकपा), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, राष्ट्रवादी जन गणतान्त्रिक मोर्चा, नेपाल कम्युनिस्ट पार्टी (पुष्पलाल) र नेपाल कम्युनिस्ट (बोल्सेभिक) आदि कम्युनिस्ट नामका पार्टी तथा ती पार्टीका नेता कार्यकर्ताहरूमा चाहिँ ‘लाल सलाम’ र ‘कमरेड-कामरेड’ भन्ने शब्दले प्राथमिकता पाई रहेको छ की ?
कामरेडी भन्ने आत्मीयतासहितको संस्कार र ‘लाल सलाम’ भनी गरिने कुम्युनिष्ट अभिवादन शैली हटी सकेको छैन कि ?! तर हामीले ठोकेरै भन्न सकिने कुरो के हो भने अहिले ठुला कम्युनिस्ट पार्टी भनेर चिनिएका दलहरू जस्तै नेकपा (एमाले), (माके), (एस)...हरुमा त ‘लाल सलाम र कमरेड–कामरेड’ भन्ने शब्दले खासै ठाउँ पाएको छैन, देखिँदैन ।
भलै यो लेखमा उल्लेखित तीन दलले फर्जी मत वा...मत नै किन नहोस्, उनीहरूले वैधानिक ढङ्गले नै धेरै जनमत पाएका हुन् ?! भन्ने आम बुझाई रहेको छ भने उनीहरूले निर्वाचनमा भाग लिएरै जनताको मत पाएरै, ल्याएरै नेपालमा रहेका अनेकौँ कम्युनिस्ट पार्टीहरूमध्ये ठुला तीन दल भएका हुन् ।