धरान : बिपी प्रतिष्ठानमा साउन १ गतेदेखि स्थानीय/जिल्ला अस्पतालबाट रेफर सिफारिस लिएर आएका वीमित बिरामीहरूले मात्र उपचार सेवा पाउने स्वास्थ्य बिमा बोर्डले सूचना जारी गरेको छ । 
धरानमा जिल्ला वा स्वास्थ्य केन्द्र (स्थानीय अस्पताल) नभएको र एक मात्र बिपी प्रतिष्ठान अस्पताल भएकाले स्वास्थ्य बिमा गरेका धरानवासीले अब सिधै बिपीमा स्वास्थ्योपचार नपाउने भएकोमा उक्त निर्णय तत्काल सच्याउन माग गर्दै आज शनिवार विरोध जुलुस प्रदर्शन गरिएको छ ।
धरानमा स्वास्थ्य केन्द्र नगर अस्पताल नभएकोले बिपी प्रष्ठिानलाई नै बिमा बोर्डले प्रथम सेवा विन्दु र रेफरल सेन्टर सेन्टर कायम गर्न माग गर्दै विरोध प्रदर्शन गरिएको हो ।
नेकपा माओवादी केन्द्र, जसपा नेपाल र एकीकृत समाजवादी पार्टीद्वारा आयोजित विरोध प्रदर्शन भानु चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
पुरानो अस्पताल छाता चौकबाट सुरु भएको विरोध जुलुस सिंहदेवी चोक,माछाभौडी हुँदै भानुचोकमा पुगेको हो ।
जुलुसमा सहभागीहरूले नालायक सरकार मुर्दावाद, धरानका जनतालाई स्वास्थ्य सेवा बाट वञ्चित गर्न पाइँदैन, तुरुन्त प्रथम बिन्दु कायम गर, धराने जनता एक हौ, सिफारिस तुरुन्त खारेज गर आदि नाराबाजी गरेका थिए । 
कोणसभामा धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम बेघाले धरानको लागि प्रथम सेवा विन्दु र रेफरल सेन्टर पनि बिपी प्रतिष्ठान नै भएको बताउँदै भने ‘बिमा सुविधाको उपचार त्यहीबाट  हुनुपर्छ, त्यो राज्यले गर्नुपर्छ ।’ धराने जनताले पाउँदै आएको सेवा कटौतीलाई बिमा बोर्डलाई तुरुन्त निर्णय सच्याउन आग्रह गरे । 
जसपा अध्यक्ष ताजुब लिम्बुले धरानका जनतालाई स्वास्थ्य बिमा बाट वञ्चित गर्न नहुने बताए । उनले भ्रष्ट सरकारले जनतामाथि दमन गर्न खोजेको आरोप लगाए ।जनतालाई अङ्कुश नलगाउने खोजे जनता प्रतिकारमा उतिर्ने बताए ।
माओवादी केन्द्र धरानका अध्यक्ष उद्धव लिम्बुले बिपी प्रतिष्ठानलाई नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रमको रेफरल सेन्टरकोरुपमा मात्र रहने निर्णय तत्काल नसच्याए आन्दोलन कार्यक्रम सार्वजनिक गर्ने बताए । 
अध्यक्ष लिम्बुले बिपी प्रतिष्ठानका सह प्रवक्ता डा अभिजित कुमारले नेपाल सरकारको निर्णय कार्यान्वयन मात्र गरेको बताएको उल्लेख गर्दै यदि प्रतिष्ठानको पदाधिकारीको संलग्नता रहेको पाइएमा पदाधिकारीलाई कारबाही गर्ने चेतावनी दिए । 
स्वास्थ्य बिमा बोर्डले शुक्रवार सूचना प्रकाशित गर्दे साउन १ गते देखि बिपी प्रतिष्ठानमा सिफारिस भएर आएका वीमित बिरामीहरूले मात्र उपचार सेवा दिने सूचना जारी गरेको थियो ।