धरान : धरान–१ छाता चौक स्थित पुरानो अस्पताललाई नगर अस्पताल बनाउने अभियानको रूपमा सञ्चालित निःशुल्क भिडिओ एक्स-रे सहित ल्याबमा रोग परीक्षण गराउने सेवाग्राही बढेका छन् ।
धरान उपमहानगरपालिकाको स्वास्थ्य चौकीको रूपमा सञ्चालित अस्पतालले गर्भवती जाँच, प्रसूति सेवा प्रदान गर्दै आएको थियो । सुनसरी जिल्ला स्वास्थ्य कार्यालयका पूर्व प्रमुख डा. श्रीराम शाहको व्यक्तिगत सहयोगमा गत: फागुन २३ गर्भवती महिलाहरूको निःशुल्क भिडियो एक्स-रे सेवा र ल्याब सेवा सञ्चालनमा आएको हो ।
नयाँ सेवा सुरु भएको ४ महिनाको अवधि असार मसान्त आउन ६ दिन अघि बिहीबार सम्म अस्पतालमा २०० जना गर्भवतीको नियमित निःशुल्क गर्भको भिडिओ एक्सरेबाट जाँच गराएका छन् । भिडिओ एक्स-रे बाहेक २२६ जनाले गर्भ जाँच गराएका छन् । अस्पतालमै प्रसूति गराउनेको संख्या २६ जना रहेको छ ।
चौकी प्रमुख लक्ष्मी बुढाथोकीका अनुसार अस्पतालमा बिहीबार सम्म १७५ जनाको विभिन्न रोगहरूको ५९३ को संख्यामा रक्त परीक्षण भएको छ ।
पछिल्लो समय धरानमा डेंगोको पाउन थालेपछि अस्पतालमा १६ जनाले निःशुल्क डेगो, ५ जनाले मलेरियाको जाँच गराएका छन् । अस्पतालमा डेंगो सहित एचआइभी, हेपाटाइटिस, युरिक एसिड, मिर्गौला युरिनरी, स्टुलरी, सुगर, होमोग्लोबिन, कोलेस्ट्रोल ५ परीक्षण लगायतको निःशुल्क ल्याब सेवा प्रदान गरिदैं आएको छ ।
डा.शाहका अनुसार गर्भवतीको भिडिओ एक्स-रे गराउनेहरूमा अहिले सम्म १ जनामा जुम्ल्याहा गर्भ रहेका र अर्को १ जनाको गर्भमा ८ महिनाको मरेको बच्चा रहेको तर आमालाई थाहा नभएको पाइएको थियो । गर्भमा बच्च उल्टो बसेको, पाठेघरमा ऐजेरु पलाएर गर्भ बसेको जस्तो लाग्ने समस्या पनि भिडिओ एक्स-रे गराउन आउनेमा पाइएको उनले बताए ।
भिडिओ एक्सरेमा गर्भमा कुनै समस्या देखिए उपचारका लागि अस्पतालमा रेफर गर्ने गरिएको छ । साथी तल बस्दा गर्भवतीको रगत, पानी चुहुने सहितका समस्या पाइएमा गर्भवतीले पालन गर्नु पर्ने आवश्यक सावधानी बारे निःशुल्क परामर्श प्रदान गरिदैं आएको छ ।
भिडिओ एक्स-रे सेवा पछिल्लो समय ज्येष्ठ नागरिक महिला÷पुरुषका लागि पनि सञ्चालन गरिएको छ । पुरुष ज्येष्ठ नागरिकमा प्रोस्टेट ग्रन्थिको समस्या, मिर्गौला, कलेजो, पेटका समस्याहरू देखिएको डा.शाहले बताए । अस्पतालमा ज्येष्ठ नागरिक, अपाङ्गहरूका लागि प्रत्येक महिनाको ७ र २२ गते, गर्भवती महिलाको लागि प्रत्येक हप्ता आइतवार र बिहीबार निःशुल्क भिडियो एक्स-रे सेवा सञ्चालनमा छ ।