वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं १ चतरा स्थित तोरीवारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नवौँ साधारण सभा सम्पन्न गरेको छ ।
शनिवार उपभोक्ता समितिले कार्यालयको सभा हलमा आर्थिक वर्ष २०८०/८१ को लेखा समितिको प्रतिवेदन, आर्थिक प्रतिवेदन र वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै साधारण सभा आयोजना गरेको हो ।
समितिको आर्थिक वर्ष २०८० /८१ को प्रतिवेदन अनुसार १ करोड ९९ लाख २८ हजार २ सय २० रुपैयाँ ३१ पैसा आम्दानी गरेको छ । खानेपानी महसुल बापत ६८ लाख ४४ हजार २ सय ५० रुपैयाँ सङ्कलन गरेको छ । कोषाध्यक्ष रेणु कुमारी तिम्सिना कार्कीले आव २०८०/८१ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आ.व. ०८१/८२ का लागि २ करोड ११ लाख ९० हजार ६ सय रुपैयाँको अनुमानित आय प्रस्तुत गरिन् ।
यस्तै लेखा समितिको सुझाव सहितको प्रतिवेदन संयोजक दीपक कार्कीले प्रस्तुत गरेका थिए ।वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समितिका अध्यक्ष डम्बरप्रसाद सिग्देलले सेवा क्षेत्रको सामाजिक बनोट, जातिगत अवस्था,पानी वितरणको वर्तमान अवस्था, संस्थागत अवस्था, परिकल्पना, लक्ष्य, उद्देश्य, कार्यक्रमका उपलब्धि, तत्कालीन र दीर्घकालीन उद्देश्य, अवसर र चुनौती प्रस्तुत गरेका थिए ।
अध्यक्ष सिग्देलले साधारण सभामा प्रस्ताव पेस गरेका छन् । वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष सिग्देलले प्रत्येक उपभोक्तासम्म खानेपानी र सरसफाइ शिक्षा पुर्याउने बताए । हाल खानेपानी समितिले जम्मा १ हजार ७ सय ५५ धारा वितरण गरेको छ ।
प्रतिदिन १२ घण्टा औसत रूपमा समितिले पानी वितरण गर्दै आएको छ भने प्रतिदिन १२ लाख लिटर पानी खपत हुने तथ्याङ्क रहेको छ ।
उपभोक्ताबाट समितिले न्यूनतम १० हजार लिटर (१० युनिट) बराबर १ सय २५ रुपैयाँ मासिक रकम सङ्कलन गर्दै आएको छ । कार्यक्रममा समितिले गरेको काम , योजनाको विषयमा अनुगमन समितिका संयोजक ज्ञान बहादुर पाण्डेले प्रतिवेदन प्रस्तुत गरेका थिए।
साधारण सभामा कोसी प्रदेश सभा सदस्य विजय कुमार राईको प्रमुख आतिथ्यमा रहेको थियो । समितिका अध्यक्ष डम्बर प्रसाद सिग्देलको सभाध्यक्षयतामा सम्पन्न उद्घाटन सत्रमा उपप्रमुख नन्दकुमारी सुनुवार, वडा नं १ का अध्यक्ष किसन थापामगर , वडा नं २ का अध्यक्ष होमप्रसाद गौतम, समितिका सल्लाहकार प्रह्लाद भट्टराई, ओमकुमार शर्मा, ज्ञानबहादुर पाण्डेले शुभकामना मन्तव्य राखेका थिए । समितिका सचिव दीपक कोइरालाले सञ्चालन गरेको कार्यक्रममा समितिका उपाध्यक्ष राजु कार्कीले सञ्चालन गरेका थिए ।