धरान : सांस्कृतिक, भाषिक तथा ऐतिहासिक आधारमा राजनीतिक अधिकारको सवाल उठाउँदै आएका आदिवासी समुदायको सवालहरूलाई नेपाली मूलधारका मिडियाले ओझेलमा पार्दै आएको अभियन्ताहरूले आरोप लगाएका छन् ।

उनीहरूले मूलधारको पत्रकारितामा आफ्ना समुदायका पत्रकारको कमी तथा सञ्चार क्षेत्र समावेशी नहुँदा इतिहास, भाषा, संस्कृतिको आधारमा उठाइँदै आएको अधिकारका कुरा अहिले पनि ओझेलमा पारिदैं आएको बताएका हुन ।

सांस्कृतिक अभियन्ता, किरात याक्थुङ चुम्लुङका निवर्तमान अध्यक्ष मोहनकुमार हुक्पाचोङबाङले शनिवार लिम्बू पत्रकार सङ्घ सुनसरीको कार्यालय उद्घाटन गर्दै भने ‘हाम्रो समुदायका पत्रकारहरू नहुँदा लिम्बु जातिको सांस्कृतिक, भाषिक अधिकारका कुरा राष्ट्रिय मिडियामा ठाउँ पाउँदैन ।’

उनले राष्ट्रिय मिडिया समावेशी हुनुपर्नेमा जोड दिदैं लिम्बु समुदायका सामाजिक, सांस्कृतिक, भाषिक ऐतिहासिक कुराहरू सोही समुदायका पत्रकारले राम्ररी बुझ्ने भएकाले उनीहरू सञ्चार क्षेत्रमा लिम्बु समुदायको समावेशिता हुनुपर्नेमा जोड दिए ।

प्रदेशको पूनः नामकरणको सवालमा ऐतिहासिक तथ्यको कुरा देखी मुक्कुमलुङ/पाथीभरमा केबलकार बनाउन नहुने कुरामा जोडिएका ऐतिहासिक, सांस्कृतिक तथ्यहरू राष्ट्रिय मिडियामा आउन नसकेको उदाहरण दिए ।

अग्रज पत्रकार प्रदिप मेयाङ्बो, चुम्लुङ केन्द्रीय उपमहासचिव डा. योगेन्द्र पालुङ्वा, केन्द्रीय सदस्य सङ्गीता सुब्बा, वडा १५ का अध्यक्ष राष्ट्रिय चुम्लुङ सदस्य नरेश इङवारम, सल्लाहकार चन्द्रमाया लिम्बु, सुनसरी अध्यक्ष शिव सुब्बा इस्बोले सांस्कृतिक, धार्मिक सद्भाव, सहिष्णुता अभिवृद्धिमा संस्कृति बुझेका पत्रकारहरूको भूमिका महत्त्वपूर्ण रहने बताए ।

पत्रकारितामा लिम्बु समुदायलाई प्रोत्साहित गर्न २०५४ सालमा पहिलो पटक गठन भएको लिम्बु पत्रकार सङ्घको विसं २०६१, २०६९ हुँदै २०८१ मा तेह्रथुम वसन्तपुरमा महाधिवेशन सम्पन्न भएको छ ।

महाधिवेशन पछि विजयपुर धरानमा बसेको केन्द्रीय समितिको बैठकले सुनसरी जिल्ला समितिको कार्यालयसँगै धरानमा केन्द्रीय सम्पर्क कार्यालय राख्ने निर्णय गरेको छ । सङ्घलाई कार्यालय सञ्चालन गर्न सहजताका लागि किरात याक्थुङ चुम्लुङको धरान-१५ स्थित चुम्लुङ हिममा हिम निर्माण/सञ्चालक समितिले कार्यालय कोठा निःशुल्क प्रदान गरेको हो ।

सङ्घका जिल्ला अध्यक्ष स्वर्णिमहाङ लिम्बुको सभापतित्वमा शनिवार कार्यालय उद्घाटन समारोहका बिच हिम निर्माण/सञ्चालक समिति अध्यक्ष हुक्पाचोङबाङ कार्यालय व्यवस्थापनका लागि दराज, कुर्सी, टेबुल र आर्थिक सहयोग प्रदान गरेका छन् । कार्यक्रम सहसचिव किरणकुमार थेबेले सञ्चालन गरेका थिए ।