धरान : नेपाली साहित्यको कविता विधामा धरानमा सात दशक अघि देखी कविहरूले कविता रचना गर्न थालेको देखिएता पनि २०३० को दशकमा कवि र कविता प्रबल रूपमा अघि बढेका प्राडा. टङ्कप्रसाद न्यौपानेले बताएका छन् ।
उनले भने ‘त्यस बेला धरानका कवि र कविताले देश हल्लाउन तागत राख्दथ्यो ।’ कविता र साहित्य स्वयं निरपेक्ष आन्दोलन भएको भएको बताउँदै उनले पछिल्लो समयका कवितामा सिर्जनात्मकता भए पनि ठोस दिशामा अघि बढ्न नसकेको बताए ।
कृष्ण पाख्रिन स्मृति प्रतिष्ठानको २ दिने ‘काव्य-कला कोलाज’ आयोजन बिच शनिवार भएको ‘धरानमा कविता विमर्श’ कार्यक्रममा प्राडा.न्यौपानेले उक्त अनुभव सुनाएका हुन । उनले धरानमा २०१९ साल देखी कविता लेखन सुरु भएको पाइने बताउँदै छन्द कविताबाट सुरु भएको धरानको कविताको इतिहास आधुनिक शैलीमा लोकप्रिय बनेको बताए ।
साहित्यको सहज र सशक्त माध्यम कविता भएकाले कविता साहित्यले समाज र राजनीतिलाई मार्ग देखाउने काम गर्ने समाजको ऐना भएको प्राडा.न्यौपानले बताए । कविता साहित्य राजनीतिक उद्देश्य भन्दा फराकिलो विचार, सिद्धान्तको आन्दोलन भएका बताउँदै उनले स्पष्ट दर्शन विचार, सिद्धान्तमा आधारित भई कविता रचना गरिनु पर्ने बताए ।
२०३० को दशकमा धरानबाट ‘नव लेखन’ साहित्यिक आन्दोलन उद्घोष गरिएको उल्लेख गर्दै भने ‘नयाँ के लेख्ने र नयाँ किन लेख्ने ? पाँच दशक अघि उठाइएको साहित्यिक अवधारणा अहिले पनि सान्दर्भिक छ ।’ धरानका गिरिराज आचार्य, हर्ष सुब्बा, भीष्म काफ्ले लगायतको साहित्यिक समूहले नव लेखन आन्दोलनको उद्घोष गरेका थिए ।
तिसको दशकका कवि हर्ष सुब्बाले ‘नव लेखन’लाई कार्यरुप दिन त्यस बेला युवा साहित्यिक जमात नामक कविहरूको मञ्च निर्माण गरिएको बताए । पञ्चायती व्यवस्था कठोर अनुदार बनेको त्यस बेला ‘काठमाडौँ मात्र नेपाल होइन’ भन्ने सवाल उठाउँदै साहित्यमा ‘काठमाण्डौवाद’ विरुद्ध लेखन केन्द्रित गर्न आव्हान गरिएको उनले उल्लेख गरे ।
उनका अनुसार २०३६ सालमा ‘सडक कविता क्रान्ति’को लहर चल्यो भवानी घिमिरेले ‘भानु’ साहित्यिक पत्रिकाद्वारा सडक कविता क्रान्ति विशेषाङ्क प्रकाशित गरे । केदारमान व्यथित, तुलसी दिवस, शैलेन्द्र साकारहरूको सृजनशील साहित्यिक समाजले पहिलो पटक धरानका कविहरूलाई काठमाण्डौमा निम्ता गरी ‘सिसास–धरान’ कविता गोष्ठी आयोजना गर्यो।
उनले भने ‘कविता साहित्यलाई समाज परिवर्तनका लागि प्रभावशाली बनाउन स्पष्ट अवधारण अघि सारेर आन्दोलनको रूपमा अघि बढ्न जरुरी छ ।’ पछिल्लो समय नेपाली कविता साहित्यमा उठान भएको पहिचान साहित्यको वैचारिक, सैद्धान्तिक स्पष्ट व्याख्या हुन सके प्रभावशाली बन्ने बताए ।
साहित्यकी समीक्षक, अनुवादक कमला लिम्बुले धरानका पछिल्ला पुस्ताका कवि र कविता नयाँ पुस्ताका साहित्यानुगीमा लोकप्रिय भएको बताइन् । उनले भनिन् ‘अग्रज कवि साहित्यकारले तयार गरेको पृष्ठभूमिका नयाँ स्रष्टाहरू नयाँ कोणबाट अघि बढेका देखिन्छन् ।’
यसअघि कलरवको संयोजनमा धरानका स्कुलहरूमा विद्यार्थीहरू बिच भएको पोयट्री पार्टीका उत्कृष्ट कविताहरू वाचन गरियो । कविताहरू माथी कवि यत्री टिका आत्रेय र सह प्रा.डा.तुलसी गौतमले टिप्पणी गरे । साथै इतर अभियानको संयोजनमा कवि शकुन आँसुको कविता सङ्ग्रह ‘नवयुगकी सुम्निमा’ माथी लक्ष्मी रुम्बा र सह प्रा.डा.दीपक न्यौपानले परिचर्चा गरे ।
कविता वाचन कार्यक्रममा सविता फागो, आइमति ग्याबा, छविना मगर, पुष्पा बोगटी, स्वातीकला राई र समीक्षा राईले रचना वाचन गरेकी थिइन् । वाचित कविताहरूको लक्ष्मी रुम्बा, डा.दीपक न्यौपानेले समीक्षा गरेका थिए ।