धरान : अमेरिकी विदेश मन्त्रालय पेन्टागनले भारतलाई मानव रहित जहाज ३१ एमक्यु–३ बी ड्रोन तथा त्यसमा जडान हुने मिसाइल सहितको उपकरण विक्री गर्ने प्रस्तावलाई स्वीकृति दिएको छ ।

निकै अघि देखी भारत-अमेरिका बिच चलिरहेको ४ अर्ब डलर बारबारको खरिद बिक्रीको वार्ता टुङ्गो लागेको रोयटरलाई उद्धृत गर्दै शुक्रवार बिबिसीले समाचारमा उल्लेख गरेको छ ।

बिहीबार पेन्टागनको डिफेन्स सिक्युरिती कोअपरेशन एजेन्सीले संसदमा ड्रोन खरिद बिक्रीका स्वीकृति दिएको जानकारी गराएको हो ।

स्वीकृतिमा सञ्चार तथा निगरानी उपकरणहरू पनि समावेश छ । साथै १७० एजस्एम ११४ हेलफायर मिसाइल र ३१० लेजर निश्चित निशानामा लाग्ने स्मल डायामीटर बम समेत विक्री गर्ने पनि सामेल छ ।

भारतले सन् २०१८ मा अमेरिकासँग सैनिक उपयोगका लागि उक्त प्रकृतिको ड्रोन खरिद गर्ने प्रस्ताव गरेको थियो । यसअघि बिना हतियारको विमानको बारेमा भारतले अमेरिकासँग चासो बढाएको थियो ।

लामो समयदेखि अल्झिएको छलफललाई पेन्टागनले अनुमति दिनुमा भारतको झुकाव रुसतिर बढ्ने हो कि भन्ने आशङ्कालाई अन्त्य गर्ने मनसायको रूपमा पनि विश्लेषकहरूले हेरेका छन् ।

खरिद बिक्रीका लागि स्वीकृति पाए पनि सम्झौता भइहाल्छ भन्ने कुनै ज्ञारेन्टी भने नभएको बताइन्छ । पेन्टगनको स्वीकृति पाएपछि भारतलाई उक्त मानव रहित जहाज बेच्न अब कुनै अवरोध छैन ।

पछिल्लो पटक गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणको अवसरमा राष्ट्रपति वाइडन प्रशासनले भारतलाई उक्त प्रस्ताव औपचारिक रूपमा अघि बढाउन सुझाव दिएको थियो ।

हाल भारतले गुप्त सूचना सङ्कलन गर्ने कार्यका लागि एमक्यु-९ बी विमान लिजमा चलाउँदै छ । पेन्टागनले जनाए अनुसार उक्त विमानहरू जनरल एटामिक्स एरोनाटिकल्स कम्पनीले ठेक्का दिएको हो ।

ड्रोन निर्माता कम्पनी जनरल एटामिक्स एरोनाटिकल्सका अनुसार एमक्यु-९ बी टाढैबाट उडाउन र नियन्त्रण गर्न सकिने मानव रहित जहाज हो । यस्तो जहाजलाई रिमोटली पाइलटेड एयरक्राफ्ट सिस्टम आरपीए भनिन्छ ।

टाढाबाट अपरेट गरिए पनि पाइलटलाई सामान्य जहाज उडाउँदा हुने सबै अनुभव हुन्छ । यसमा आधुनिक राडार प्रणाली र सेन्सर लगाइएको छ । जहाजले आफै टेकअफ र ल्यान्ड गर्न सक्छ । यसलाई उपग्रहको सहयोगबाट पनि कन्ट्रोल गर्न सकिन्छ । यसलाई ४० घण्टा सम्म दिन रात सबै खाले मौसममा उडाउन सकिन्छ । यसले २१६६ केजी वजन लिएर उड्न सक्छ ।