- अनुसा थापा
अन्य मुलुकका जनता, राजनीतिक दल, कर्मचारी, व्यापारी लगायत आफ्नो देश धनी होस्, विकास होस् भन्ने चाहना राख्छन् । तर, हाम्रो देश नेपालमा ठ्याक्कै यसको उल्टो छ । यहाँ त राज्यको सम्पत्ति कसैलाई देख्नै हुन्न । सरकारी, सार्वजनिक जग्गा, गुठी, ताल पोखरी जस्ता राज्यका सम्पत्तिहरू मिलेमतोमा व्यक्तिको नाममा दर्ता गरिएको छ ।
राज्यलाई राजस्व छल्छन् अनि भ्रष्टाचार गरिन्छ । यहाँ नेपाल गरिब छ, व्यक्ति भने धनी छ । भ्रष्टाचार, दलालीजस्ता अवैध काम गरेर कमाएको रकम विदेशमा राखिएको छ । आफ्नो छोराछोरी पढाउने नाममा अमेरिका, अस्ट्रेलिया पठाइएको छ । यसरी जनशक्ति र देशको मुद्रा नै बिदेसिएको छ । अहिले अमेरिका, अस्ट्रेलियामा धेरै नेपालीले घर किनेको र व्यापार व्यवसाय गरेको सुनिन्छ ।
नेपालबाट २५ अर्बभन्दा बढी रकम लगेर अमेरिका, अस्ट्रेलियामा घर बनाएको वा किनेको पनि बताइन्छ । व्यापारी, राजनीतिक दलका नेता होस् या सरकारी कर्मचारी, सबैले यहाँ भ्रष्टाचार वा राजस्व छलेको रकम त्यहाँ पठाएर घर किन्ने गरेको पाइन्छ । अनि आफ्नो सन्तान त्यहाँ पठाएर छोराछोरीले बनाएको भनी बहाना बनाउँछन् ।
पढ्नका लागि विकसित मुलुकमा एउटा विद्यार्थी मात्र जाँदा सुरुमै १५ देखि ३० लाखसम्म नेपाली रकम खर्चिन्छ । पढ्ने नाममा कति नेपाली विद्यार्थी अमेरिका, अस्ट्रेलिया गएका छन् ? तीमध्ये कति फर्किए ? कतिले नेपाली नागरिकता त्यागे ? र, कतिले यहाँ भएको पुर्खौली सम्पत्ति समेत बेचेर लगे ? भन्ने तंथ्याक सरकारसँग छैन ।
देशमा पर्याप्त सरकारी तथा निजी कलेज छन् । तर, १२ कक्षा पास गरेपछि यहाँको शिक्षा प्रणाली वा देशमाथि नै विभिन्न दोष लगाउँदै अमेरिका, अस्ट्रेलिया, क्यानडालगायत विकसित मुलुक जान्छन् । नेपालको पैसा सबै अमेरिका, अस्ट्रेलिया जाँदा ती देशहरू झन्झन् विकास हुँदै गएका छन् । अनि यहाँको जनशक्तिले त्यहाँ गएर काम गर्दा त्यो देश नै विकसित भएको छ ।
यसले एकातिर हाम्रो देश कङ्गालसँगै विकास हुन सकिरहेको छैन भने अर्कोतिर अमेरिका, अस्ट्रेलियाजस्ता देशहरू झन्झन् विकास र धनी हुँदै गएका छन् । कन्सल्टेन्सीहरू त दलाली हुन् । उनीहरूलाई देशको माया छैन । देश बेचेर भएपनि आफू धनी बन्नु छ । नेपालबाट पढ्ने नाममा वर्षेनी खर्बो रकम अमेरिका, अस्ट्रेलिया जान्छ ।
तर, त्यो रकम यहाँ फर्किएको छैन । त्यहाँ पुगेकाहरू यहाँ फर्किँदैन । त्यहीँ घरजम बसाउँछन् । अनि यसले गर्दा पनि देश मन्दीतर्फ गएको हो । व्यक्ति होइन, राज्य धनी हुनुपर्छ भन्ने चेतना कसैमा आएको छैन । दुःखसुख गरेर भएपनि आफ्नै देशमा बस्नुपर्छ, देश विकास गर्नुपर्छ भन्ने जनतामा पनि छैन ।
अहिले जसको छोराछोरी अमेरिका, अस्ट्रेलिया लगायत विकसित मुलुक छन्, उनीहरूको भुईँमा खुट्टा छैन । यद्यपि, आफ्ना छोराछोरीहरू अमेरिका, अस्ट्रेलिया जाँदा र त्यहीँ बस्दा देशलाई कति नोक्सान भयो ? भन्ने उनीहरू सोच्दैनन् । यहाँबाट अमेरिका, अस्ट्रेलिया पढ्न गएका अधिकांश विद्यार्थीहरू त्यहाँ शौचालय सफा गर्ने वा भाडा धुने काम गर्ने बताइन्छ ।
आफ्नै देशमा बसेर सरकारी वा कुनै जागिर खानुपर्ने पढेलेखेका छोराछोरी अमेरिका, अस्ट्रेलियामा भाडा धुँइरहँदा अभिभावकहरू भने छिमेकीमा ठुल्ठुल्ला गफ गर्छन् । समाजले तपाई नभने पनि आफूले आफूलाई तपाई भनिरहेका छन् । विकसित मुलुकमा जमिनमाथि राज्यको स्वामित्व हुन्छ । व्यक्तिको स्वामित्वमा केही हुँदैन ।
त्यहाँ उमेर हुनुञ्जेल काम गर्नै पर्छ, राज्यलाई कर तिर्नै पर्छ । बुढेसकालमा सरकारले पनि आफ्ना नागरिकको जिम्मेवारी लिन्छ । उनीहरूलाई आवश्यक सम्पूर्ण सेवा सुविधा उपलब्ध गराउँछ । अर्को कुरा बच्चामाथि पनि अभिभावकको भन्दा बढी राज्यको हक, अधिकार हुन्छ । १८ वर्ष पुगेपछि छुट्टै राखिन्छ । र, आफैँ कमाएर खानुपर्छ ।
हाम्रो देशमा भएका जमिन सबै व्यक्तिको स्वामित्वमा छ । यसरी जमिनको स्वामित्व व्यक्तिमा हुँदा खेतीयोग्य, उब्जनी हुने जमिन समेत घर बनाएर मासिएको छ । मुलुकमा खाद्य खंकट निम्ति त्रास बढेको छ । हाम्रो देशको कानुन अनुसार कुनै व्यक्ति मरेमा उसको नाममा भएको जायजेथा उसको सन्तानले प्राप्त गर्छ ।
आमाबुबाको नाममा भएको सम्पत्ति सबै छोराछोरीले पाउँछन् । अनि यसले गर्दा पनि सबैमा जसरी भएपनि सम्पत्ति जोड्ने लाभ मौलाएको पाइन्छ । गैरकानुनी काम गरेर भएपनि आफ्नो सात पुस्तालाई पुग्ने गरी सम्पत्ति जोडेर राखिन्छ । यहाँ सरकारी सेवाको पियुनमा जागिर खानेले समेत जग्गा किनेर घर बनाएको छ ।
हिजोसम्म चप्पल लगाउने समेत हैसियत नभएकाहरूले राजनीतिमा खुट्टा टेकेपछि अहिले महलजस्तो घर र अर्बोको सम्पत्ति जोडेका छन् । व्यापारीहरू कालोधन्दा वा कालोबजारी गरेर खर्बोको सम्पत्ति जोडेका छन् । यहाँ सबैले पुग्ने सम्पत्ति जोडेका छन् । जबकि हिजोसम्म उनीहरू बिहान-बेलुकाको खानाका लागि तड्पिन्थे ।
यसरी राज्यभन्दा व्यक्ति धनी छन् यहाँ । विश्वका अर्बपतिहरूको सूचीमा नेपालका व्यापारी विनोद चौधरीको पनि नाम आउँछ । तर, अहिले जनता भन्छन्, ‘मुलुकको सबै सरकारी-सार्वजनिक जग्गा, गुठीका जग्गा दर्ता गरेर, श्रमिकलाई शोषण गरेर र कमसल सामान महँगोमा बेचेर यिनी अर्बपति बनेका हुन् ।’
यहाँ जनता पनि धनी छन् । सहकारीमा झन्डै ३७ खर्ब रकम आम सर्वसाधारणले राखेका थिए । यो रकम राजस्व छलेको हो कि गैरकानुनी काम गरेर कमाएको हो कि जीवनभर वा घरजग्गा बेचेर कमाएको हो ? यसबारे कसैलाई थाहा छैन । तर, यत्रो रकमले जनतासँग पनि पैसा छ भन्ने कुरा प्रमाणित हुन्छ । उता, सरकारले भने विदेशीसँग २७ खर्ब ऋण लिएको छ ।
अनि यसले सरकारभन्दा जनता धनी छन् भन्ने कुराको समेत प्रमाणित गर्छ । यहाँ जनता नै करोडदेखि अर्ब लगानी गरिएको घरमा बसेको भेटिन्छ । २० लाखदेखि करोड मूल्य पर्ने गाडीमा चढ्छन् । कतिपय जनता भने खाना नपाएर बाटोमा मागिरहेको पनि देखिन्छ । कतिपयलाई बिहान-बेलुकाको छाक टार्न धौधौ छ ।
केपी ओली पनि नेपाली नै हुन् । उनी पनि जनता नै हुन् । विडम्बना, उनी नेपालको पानी खाँदैनन् । दैनिक ६० हजारको विदेशी पानी खान्छन् । हिसाब गर्नुपर्दा उनी मासिक १८ लाखको विदेशी पानी खान्छन् । अनि यसबाट नै यहाँ ओलीजस्ता जनता धनी छन् अनि राज्य कङ्गाल छ भन्ने प्रमाणित हुन्छ ।
अन्य मुलुकका सरकारले आफ्नो देशको पैसा बाहिर लैजान दिँदैन । त्यहाँ कमाएको रकम त्यहाँ खर्च गर्न लगाइन्छ । र, त्यहाँ राज्यको नै त्यस्तै पोलेसी हुन्छ । तर, हामी देशको यसको ठिक उल्टो छ । खाद्यान्न सबै विदेशबाट नै निर्यात गरिन्छ र यहाँको पैसा विदेश जान्छ । जनता पनि पढ्ने नाममा विदेश नै पुगेका छन् ।
राजनीतिक दलका नेता, कर्मचारी, व्यापारीहरूले भ्रष्टाचार, अवैध धन्दा, राजस्व छलेर कमाएको रकम पनि विदेशमै लगेर राख्छन् । अहिले विदेशीले खाद्यान्न नपठाए हामी नेपाली जनता भोकभोकै मर्नुपर्ने अवस्था आउने छ । पेट्रोल र डिजेल पठाएन भनेपनि यहाँका सबै सवारीसाधन थन्किनेछन् ।
ग्याँस पठाएन भने त झन् भोकै बस्नुपर्छ । हिजो आफ्नो बाली बेचेर वा मासेर घर बनाएकाहरूले यस्तो अवस्था आउँदा के गर्छन् ? के खान्छन् ? कि इट्टा र ढुङ्गा नै चपाउँछन् ? अहिले जनता सेयरमा लगानी गर्दा डुबेको भन्दै सरकारप्रति गुनासो गर्छन् ।
अनि बैङ्कले सय रुपैयाँमा निष्कासन गरेको सेयर कसले पाँच हजारमा किन्नु भनेको थियो ? सरकारले त भनेको थिएन नि ? दलालीको लैलैमा लागेर आनाको पाँच हजारमा बिक्री नहुने जमिन लाखौँमा किन्ने अनि अहिले सरकारलाई दोष दिएर हुन्छ र ? अहिले मुलुकका कतिपय प्राइभेट बैङ्क डुब्ने अवस्थामा पुगेका छन् ।
त्यस कारण अब सरकारले पनि प्राइभेट बैङ्क, सहकारी, फाइनान्समा रकम नराख्न सार्वजनिक सूचना निकाल्नुपर्छ । प्राइभेट बैङ्कमा रकम जम्मा गरेकाहरूले पनि समयमै दिमाग पुप्याउनुपर्छ । नत्र सहकारीका बचतकर्ताहरूको जस्तै लगानी हुनेछ । किनकि बैङ्कहरूको पनि सम्पूर्ण कर्जा लगानी घरजग्गा, गाडी र सेयरमै छ । फेरि यो क्षेत्रमा मन्दी आएको छ ।