धरान : झण्डै ५० वर्षको इतिहास रहेको धरान उपमहानगरपालिका परिसरको मोती स्मृति भवन भत्काइएपछि अब नयाँ तेस्रो प्रशासकीय भवनको पहिलो तलाको एउटा हल मोती स्मृति सभाहलको रूपमा पूनःस्थापित हुने अन्तिम चरणमा छ ।
भवनको सट्टामा बनेको नयाँ मोती स्मृति सभाहलको लम्बाई ४० फिट, चौडाइ २० फिट छ । हलमा बढीमा १०० जना अटाउन सक्ने मोती संस्मरण समितिका सल्लाहकार प्रा.डा. गोपालप्रसाद भण्डारीले बताए । हलसँगै समितिको बैठक, कार्यालय कक्षको सुविधा पनि छ ।
सभाहलको निर्माणले धरानमा साहित्यिक कार्यक्रम, बौद्धिक छलफलका कार्यक्रम गर्न सहज हुने भएको उनको भनाई छ । महँगो शुल्क तिरेर साहित्यिक कार्यक्रम गर्न नसक्ने संस्था, समूहकालागि मोती भवन पहिले सहज पहुँचमा रहेझैँ मोती सभाहल पनि सहज हुने प्राडा. भण्डारीले बताए ।
फिनिसिङको चरणमा रहेको सभाहलमा युवक कवि मोतीराम भट्टको शालिक पूनःस्थापना गर्नु अघि सरोकारवाला मोती संस्मरण समितिले स्थलगत अवलोकन गरेको छ ।
अध्यक्ष गोविन्द तिम्सिना काठमाण्डौमा रहेकाले शालिक पून:स्थापना अनुगमनमा सल्लाहकार प्राडा.गोपाल भण्डारी, मोती भवनका पूर्व सचिव हर्ष सुब्बा सहित प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडा, वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठ, ठेकेदार र प्राविधिकहरू थिए ।
धरान उपमहानगरपालिका परिसरमा २०३३ सालमा युवक कवि मोतीराम भट्टको शालिक सहित नेपालमा पहिलो र एक मात्र मोती भवन बनेको हो । नेपाली भाषासेवी गोपाल पाण्डे असीमको पहलमा निर्मित भवनको उद्घाटन र शालिकको अनावरण तत्कालीन राजा वीरेन्द्रले गरेका थिए ।
मोती भवन २०३० दशकमा धरानको साहित्यिक गतिविधि, अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूको बलियो संस्था थियो । धरानको नाटक अभियानको इतिहासमा मोती भवन मुख्य स्थलको रूपमा स्मरणीय छ ।
मूलकमा गणतन्त्र आएपछि उपमहानगरपालिकाको नयाँ भवनको योजना अनुसार नयाँ भवन निर्माण गर्न मोती भवन भत्काइएको हो । भवन भत्काइएपछि ऐतिहासिक मोती भवनको युवक कवि मोतीराम भट्टको शालिक गोदाम थन्काइएको अवस्थामा छ ।
वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठका अनुसार पुरानै योजना अनुसार मोती स्मृति भवन भत्काएर नयाँ भवनको डिजाइन अनुसार तेस्रो ब्लकमा नगर प्रमुखको कार्य कक्ष, नगरसभा हल छ । सोही भवनमा मोती मृति हल र कार्यालय कक्ष राखिएको हो ।


































































