वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं. ३ स्थित बाङ्गे बजारदेखि नडाहा हुँदै धरान जोड्ने कालोपत्रे सडक निर्माण कार्य यथाशीघ्र सम्पन्न गराउन नगर प्रमुख रमेश कार्की भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभाग, विराटनगर पुगेर विभागीय प्रमुख तथा सम्बन्धित अधिकारीहरूको ध्यानाकर्षण गराएका छन् ।

सोमवार नगर प्रमुख कार्की स्थानीय जनप्रतिनिधिहरू, स्थानीय उपभोक्ताको  सहभागिता सहित सङ्घीय सरकार अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभाग विराटनगर पुगेर योजनालाई यथाशीघ्र सम्पन्न गराउन विभागीय प्रमुख तथा सम्बन्धित अधिकारीहरूको ध्यानाकर्षण सहित दबाब दिएका हुन् ।

सङ्घीय सरकारको बजेटबाट निर्माणाधीन उक्त सडक योजना समयमै सम्पन्न गराउन नगर प्रमुखज्यूले यसअघि पनि पटकपटक सम्बन्धित निकाय, विभागीय प्रमुखहरू तथा निर्माण कम्पनीका प्रतिनिधिहरूसँग समन्वय र सहजीकरण गर्दै ध्यानाकर्षण गराउँदै आएका थिए । तर कहिले सम्बन्धित विभाग तथा कहिले निर्माण कम्पनीका कारण निर्माण कार्य निर्धारित समयमा सम्पन्न हुन नसक्दा स्थानीय उपभोक्ता तथा सेवाग्राहीहरूले निरन्तर समस्या भोग्दै आउनु परेको छ ।

निर्माणमा भएको ढिलाइको कारणका रूपमा सम्बन्धित निकाय तथा निर्माण कम्पनीले बदलिएको राजनीतिक अवस्था, निर्वाचन, प्रतिकूल मौसम तथा निर्माण सामग्रीमा भएको मूल्यवृद्धिलाई उल्लेख गर्दै आएको नगर प्रमुख रमेश कार्कीले बताए ।

योजना समयमा नै सम्पन्न हुन नसक्दा स्थानीयवासी तथा आम नगरबासीले विभिन्न समस्या भोग्नुपरेको अवस्थालाई मध्यनजर गर्दै उक्त सडक निर्माण कार्यलाई यथाशीघ्र सम्पन्न गराउन नगरबासीले  विराटनगरस्थित सडक विभागमा पुगेर विभागीय प्रमुख लगायत सम्बन्धित अधिकारीहरूसँग छलफल तथा पुनः ध्यानाकर्षण गराएको र अब काठमाडौँ स्थित मन्त्रालयमा नै पुगेर बाङ्गेबाट नडाहा हुँदै धरान जोड्ने सडक योजनालाई सम्पन्न गराउन दबाब दिने नगर प्रमुख कार्कीले बताए ।