• विजय घिमिरे

चैत ५ गते साकेला गाउँपालिका-५ मात्तिम गुर्दु स्थित नाके डाँडा खोटाङको सामुदायिक बनमा लागेको डढेलोले स्थानिय बुद्धिमाया राईको मचान, घर र गोठ जलेको समाचार आयो ।

त्यसैगरी हलेसी तुवाचुङ नगरपालिका ११ राजापानी पातीहाले स्थित नमुना सामुदायिक वनमा लागेको डढेलोले सोमबार भूपाल घिमिरेको गोठ जलेको समाचार पनि आयो ।

डढेलोले रावाबेंसी गाउँपालिका-४ डुम्रेधारापानीका सूर्यबहादुर निरौलाको एउटा खसी, दुई बोका र तीन बाख्रा डढेर मरेको छ ।

प्रहरीका अनुसार हलेसी तुवाचङ नगरपालिका-५, दुर्छिमको वानम्लास्थित आमका सुखासे सामुदायिक वन र रावाबेंसी गाउँपालिका २ खार्पा स्थित पातल सामुदायिक वनमा डढेलो लागिरहेको छ ।

कालिकोटको खाडाचक्र नगरपालिका ५ ढाडगाउँ स्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परेर १२ वर्षिया बालिका हेमन्ती चौलागाईको मृत्यु भएको छ ।

यी घटना हालै मात्र भएका हुन । पछिल्लो एक सातामा देशभरका १२७ स्थानमा भएको आगलागीमा परी ६ जनाको मृत्यु भएको छ  । १२ जना घाइते भएका छन् ।

राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार भोजपुरमा ३ तथा काठमाडौँ, कालिकोट र महोत्तरीमा १/१ जनाको ज्यान गएको छ । गत वर्ष पनि फागुन,चैतमा ४५९ स्थानमा आगलागी हुँदा १४ जनाको मृत्यु तथा ५६ जना घाइते भएका थिए ।

धरान आसपासको वन क्षेत्रमा पनि विगत देखि नै प्रत्येक वर्ष डढेलो लाग्दै आएको हामीले देख्दै आएका छौँ । यो वर्ष पनि तीनकुने मुनीको चारकेशे जङ्गल र कोकाह खोलाबाट पानी ल्याउन पाइप विछयाएको स्थान आसपासको क्षेत्र धरान २० को डाँडामा डढेलो लागेको छ ।

डढेलोले पानी ल्याउन प्रयोग गरिएको पाइप समेत जलेर नष्ट भएको छ । धरानका नगर प्रमुख हर्क साम्पाङ विगत दुई दिन देखि डढेलो लागेको स्थानमा डढेलो निभाउन र पाइप मर्मत गर्न आफ्ना सहयोगीका साथ क्रियाशील छन् ।

अचम्म त यो छ कि अन्य सबै स्थानमा विपत्तिको समयमा विपत् व्यवस्थापन गर्न सेना, प्रहरी तथा नगर प्रहरीको प्रयोग गरिन्छ । समन्वयमा जिरो अङ्क प्राप्त गरेका धरानका नगर प्रमुख आफ्ना केही समर्थकको दलबल सहित डढेलो लागेको क्षेत्रमा श्रमदान गरिरहेका छन् ।

सोही स्थानबाट उनले दुई दर्जन भन्दा बढी फेसबुक लाइभ पनि गरेका छन् । उनका समर्थक मात्र होइन उनी समेत मेरा विरोधीले आगो लगाएको भनेर प्रचार गरिरहेका छन् ।

उनका केही कट्टरपन्थि समर्थक त हर्क साम्पाङको विरोध गर्ने क्षेत्री, बाहुन बढी छन्, कतै उनीहरूले त भन्न समेत भ्याइ सकेका छन् । के अहिले अनि हरेक वर्ष सुख्खा याममा लाग्ने डढेलो हर्क साम्पाङका विरोधीले नै लगाउने गर्छन् त ?

डढेलो लाग्नु विश्वभरिको समस्या हो, तर यहाँ धरानमा भने विरोधीले लगाउँछन् भन्ने नयाँ भाष्य तयार गरिँदै छ । केही नयाँ झोला भिरेकाहरू भने कागले कान लग्यो भन्दा कान नै नछामी कागको पछाडि दौडिरहेका छन् ।

लोकतन्त्रमा विरोध र समर्थन गर्ने स्वतन्त्रता रहन्छ र त्यो स्वाभाविक पनि हो । स्वयं हर्क साम्पाङ सामाजिक अभियन्ताको रूपमा तत्कालीन नगर प्रमुखहरूको विरोध गरेर नै स्थापित भएका हुन ।

यदि हर्क साम्पाङ र उनका समर्थकले यो डढेलो उनका विरोधीले लगाएको भन्छन् भने पानीको अभाव धरानमा चुलिए पछि आफ्नो लोकप्रियतामा आएको ह्रासलाई छोप्न उनी र उनका समर्थक आफैले लगाएको भनेर उनका विरोधीले पनि आरोप लगाउन सक्छन् । 

तर यो त अन्तहीन विवाद तर्फ धरानलाई डोर्‍याउने काम मात्रै हुन्छ । तपाई हामीले सुख्खा खडेरीमा विशेष गरेर फागुन चैत महिनामा डढेलो आगालागिका घटना घटने गरेको र त्यसबाट बच्न रेडियो टिभी पत्रपत्रिकामा जनचेतना मूलका विज्ञापन सुन्दै, हेर्दै र पढ्दै आएका छौ ।

धरान उपमहानगरपालिका आफैले पनि डढेलो बाट बच्न जनचेतना दिने विज्ञापन स्थानिय रेडियो र पत्रपत्रिका तथा अनलाइनमा दिँदै आएको छ ।

तर उत्तेजनाको राजनीतिलाई प्राथमिकता दिने हर्क साम्पाङ भावनाको व्यापार गर्ने कुनै मौका गुमाउँदैनन् । त्यसैले उनले यो डढेलोलाइ पनि आफ्ना समर्थकको समर्थन बटुल्दै आफ्नो ओरालो लागेको लोकप्रियतालाई उकालो लगाउने अस्त्रको रूपमा प्रयोग गरेका छन् ।

उनी स्वयं सामाजिक सञ्जालमा बाँसको संरचना बनाउँदा पनि स्वकृति लिनुपर्ने उर्दी जारी गर्छन् तर आफै भने कुनै डिपिआर विना काम गर्छन् । उनी आफै हिजो अभियन्ता हुँदा एडिबीको पाइप तिन फिट गाडिनु पर्नेमा नभएको भन्दै हिँड्थे तर आज जङ्गलमा डढेलो लाग्ने क्षेत्रबाट पाइप विस्तार गर्दा सामान्य पाइप पुर्नु पर्छ भन्ने हेक्का समेत राखेका छैनन ।

यत्रो ठुलो हर्क साम्पाङको आफ्नै प्रमुख एजेण्डा रहेको खानेपानीको आयोजना कार्यान्वयन गर्दा सुरक्षाको सामान्य सचेतना अपनाएको देखिँदैन । विना नीति, विना कुनै गुरुयोजना एक व्यक्तिको लहडमा अन्धाधुन्ध कार्य गर्दा हजारौँको श्रम र करोडौँको लगानी जोखिममा परेको देखिन्छ ।

सो क्षेत्रमा पुर्न मिल्ने सम्मको पाइप पुर्नु आवश्यक देखिन्छ भने डढेलो लाग्न सक्ने गतिविधि नगर्न र गरेको पाइएमा कारबाही हुने सूचना बोर्डहरू पनि लगाउनु पर्ने देखिन्छ ।

पुर्न नमिल्ने स्थानमा फलामको पाइप प्रयोग गर्दा उपयुक्त हुन्छ होला । तर हर्क साम्पाङ आफै सर्वज्ञान सम्पन्न छन्, उनलाई ज्ञान कसले दिने ? उनको कार्यशैली हेर्दा लाग्छ उनी कानुन भन्दा माथि छन् र बाकि सबैले कानुन र नियमको पालना गरिदिनु पर्छ ।

धरानका स्थानिय दलका नेतृत्व सँग एक्लै भिडेर स्थापित भएका उनमा राजनीतिक सुझबुझ पर्याप्त देखिँदैन तर राजनीतिक दलका नेताहरू सँग विगत देखि द्धन्द गर्दागर्दै उनमा पनि राजनीतिक चातुर्यता भने बढेको देखिन्छ ।

राजनीतिक दल र तिनका सङ्गठनलाई गाली गरेर नथाक्ने उनी आफै भने अघोषित रूपमा राजनीतिक दल खोलेर बसेका छन् । धरान स्वतन्त्र समाज नाम गरेको उनको अघोषित दल छ भने धरान सचेत समूहलाई उनले राजनीतिक दलको युवा सङ्गठन जसरी प्रयोग गरिरहेका छन् त्यसैगरी महिला सङ्गठनको संरचना निर्माणको अन्तिम चरणमा पुर्‍याएका छन् ।

त्यसकै जगमा उनी बेला बेलामा सामाजिक सञ्जालमा अब नयाँ दल खोल्छौ साथ दिने कि भन्दै पोष्ट गर्छन् । व्यक्तिको नाममा गएको जलाधार क्षेत्रमा बनेको संरचना भत्काउँछु भन्दै हुङ्कार गर्छन् अनि आफै भने जलाधार क्षेत्रमा नै कानुन विपरीत संरचनाहरू निर्माण गर्छन् ।

हिजो राजनीतिक दललाई अलोकप्रिय बनाएको राजनीतिक दलका नेताको चातुर्यता प्रयोग गरेर, नयाँ जोगीले खरानी बढी धसे जस्तो गरेर हुन्न । समाजमा विभाजन विखण्डताको बिउ रोपिने बारम्बार प्रयास भइरहेको छ ।

विकास र समृद्धि भनेको राजनीतिक दल र तिनको नेतृत्वलाई गाली गर्नु हो भन्ने भाष्य तयार गर्न स्थानिय सरकारको नेतृत्व लागि परेका छन् । यसले धरानलाई धेरै पछि पारिसकेको छ । यो स्थितिसँग सामना गर्न पार्टी भन्दा माथि उठेर बलियो नागरिक समाजको निर्माण गर्न जरुरी देखिन्छ ।