• अनुसा थापा 

२०७९ मङ्सिर ४ गते सरकारले प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन गर्‍यो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएकोमा विजयी भए । निर्वाचनमा २१ सिटसहित चौथो दल भएको रास्वपा तत्कालीन माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पुस ११ गते गृहमन्त्री बने ।

गृहमन्त्री भएको ३२ दिनमै उनको पद गुम्यो । नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिकता लिएका उनले गृहमन्त्री उनुन्जेलसम्म पनि पुनः नेपाली नागरिकता नलिएको र अमेरिकी नागरिक नै ठहरिएपछि सर्वोच्च अदालतले उनको उपप्रधान एवं गृहमन्त्री पदसहित सांसद र पार्टी सभापति पद पनि खारेज गरिदिएको थियो । पद गुमेपछि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नेपाली नागरिकता लिए ।

लामिछानेको पद गुमेपश्चात् ०८० वैशाख १० गते सरकारले चितवन क्षेत्र नम्बर २ मा पुनः निर्वाचन गरायो । जनताले तिरेको कर फेरि खर्चियो । तैपनि, चितवनका जनताले उनलाई नै जिताए । त्यहाँका जनतालाई लागेको थियो कि लामिछानेले विपक्षमा बसेर हाम्रो कुरा उठाउँछन् । तर, उनी फेरि फागुन २३ गते प्रचण्ड नेतृत्वकै सरकारमा गृहमन्त्री बने ।

अहिले लामिछानेलाई सहकारी ठगी प्रकरणमा सरकारले गिरफ्तार गरेको छ । योसँगै चितवन क्षेत्र नम्बर २ मा फेरि चुनाव गराउनुपर्ने देखिएको छ । लामिछानेको सहकारी ठगीमा संलग्नता रहेको भनेर संसदीय छानबिन समितिको प्रतिवेदनमा स्पष्ट भनिएको छ । समितिले नै गरेको कारबाही सिफारिसका आधारमा उनी समातिएका हुन् ।

यद्यपि, उनी भने विभिन्न भ्रम फैलाइरहेका छन् । लामिछानेमाथि चितवनका जनताले विश्वास त गरे तर उनी कस्ता व्यक्ति हुन् भनेर केलाएनन् । न त सरकारले नै खोजतलास गर्‍यो । लामिछाने ०५८ सालमै नेपाल छोडेर अमेरिका पलायन भएका हुन् । ०६६ सालमा नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक बने । घरायसी विवादका कारण उनी ०७१ सालमा भिजिट भिसामा नेपाल आए ।

उनी अमेरिका जानुअघि राजावादी थिए । मुलुकको राजनीतिक परिवर्तनमा लामिछानेको कुनै पनि योगदान रहेको पाइँदैन । नेपाल आएपछि उनले न्युज २४ मा सिधा कुरा जनतासँग नामक कार्यक्रम चलाए । कार्यक्रममा राजनीतिक दलका नेताहरूलाई उनी उफ्री उफ्री गालीगलौज गर्थे । भ्रष्टाचारीलाई टुँडिखेलमा ल्याएर नाकको डाँडी भाँच्छु समेत भने ।

नेपाली जनता निकै सीधा छन् । आफूहरूको समस्या समाधान गरेर उनीहरू जुनसुकै व्यक्तिप्रति पनि विश्वास गर्छन् । लामिछानेको सन्दर्भमा पनि यही भएको हो । जनता राजनीतिक दलका नेताबाट वाक्क दिक्क भएका थिए । त्यही समयमा लामिछाने नेताहरूको विरोधमा खरो भएर उत्रिए । यो देखेर सर्वसाधारण उनीतर्फ आकर्षक बने ।

जनताले लामिछानेमाथि यति धेरै विश्वास गरे कि उनले आफ्नै सहयात्रीलाई आत्महत्या गर्न बाध्य बनाउँदा समेत उनकै पक्षमा उभिए । उनले आफूसँगै काम गर्ने पत्रकार शालिग्राम पुडासैनीलाई बाँच्न दिएनन् । पुडासैनीको घर नुवाकोट हो । काठमाडौँमा बस्दै आएका उनले चितवन पुगेर आत्महत्या गरे । मर्नुअघि उनले रेकर्ड गरेको भिडियो भनेका थिए, ‘मलाई रवि लामिछानेले बाँच्न दिएन । म उनैका कारण मर्न बाध्य बनेको छु ।’

विडम्बना, त्यति बेला कसैले पनि उक्त भिडियोमाथि विश्वास गरेन । पुडासैनी त मरेर गए । तर, उनले भनेका एक एक कुरा अहिले पुष्टि हुँदै गएका छन् । लामिछानेले दुई वटा नागरिकता र राहदानी रहेको उनले खुलासा गरेको भिडियोमाथि न सरकार न नागरिक न अदालतले तत्कालीन समयमा विश्वास गर्‍यो । जबकि सर्वोच्च अदालतले लामिछानेलाई सोही कसुरमा दोषी ठहराउँदै गृहमन्त्रीसहित सांसद र पार्टी सभापति पद खारेज गरिदियो ।

पुडासैनी गरिब परिवारका थिए । यसैले, उनको न्यायका निम्ति कोही लडेन । जबकि उनले प्रमाण सक्दो छोडेर गएका थिए । पुडासैनीको भिडियो प्रमाणलाई झुटो ठहराइयो । र, लामिछानेलाई सफाइ दिइयो । भनिन्छ कि मर्ने बेला मानिसले झुटो बोल्दैन । अनि किन पुडासैनीले आत्महत्या गर्नुअघि भनेको कुरालाई चाहिँ झुटो भनियो ? किन समाजले उनीमाथि विश्वास गरेन ? किन अदालतले उनलाई न्याय दिएन ?

किन प्रहरी प्रशासनले सत्यताको साथ दिएन ? त्यति बेला लामिछाने राजावादी रहेकाले उनी हिरासतमा रहँदा चितवनमा स्थानीय जनतासहित राजावादीहरूले ठुलो आन्दोलन गरे  । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नजिक भएका उनी राजनीतिक पहुँचमा २४ दिनमै प्रहरी हिरासतबाट छुटे । जबकि उनलाई जेल पुर्‍याउने नै प्रमाण थियो । तर, त्यतिखेर प्रधानमन्त्री ओली रहेकाले उनकै निर्देशनमा छोडियो । लामिछानेकै कारण उनका ड्राइभर समेत मरे । पुडासैनी र ड्राइभर आत्महत्या प्रकरणमा उनी जोगिएपछि सहकारी ठगी प्रकरणमा पुनः पक्राउ परेका छन् । उनलाई रिहा गर्न माग गर्दै पोखरामा आन्दोलन भइरहेको छ । तर, त्यसमा जनता नभई उनका कार्यकर्ता मात्र छन् । नेपाली नागरिकता त्यागेर अमेरिकामा छोराछोरी बसिरहेका आमाबुबा मात्र उनका समर्थनमा सडकमा उत्रिएका छन् ।

जनता त सहकारीबाट पीडित भएका छन् । लामिछानेलाई थुन्नुपर्ने उनीहरूको माग छ । सहकारीले करोडौँ सर्वसाधारणलाई पीडित बनाएको छ । उनीहरूलाई घर न घाटको अवस्थामा पुर्‍याएको छ । सहकारीले करोडौँ जनताको खर्बौँ रकम पचाइदियो । यही ठगीमा लामिछानेको पनि संलग्नता पुष्टि भइसकेको छ । अझै पनि उनी आफूलाई राजनीतिक प्रतिशोधमा समातिएको भन्दै जनतालाई झुक्याइरहेका छन् ।

तर, अब जनता उनको झुट्टा कुरामा आउने छैनन् । उनलाई जनताले कानुनको कठघरामा ल्याएरै छोड्ने छन् । हिजो पत्रकार पुडासैनी एक्लो थिए । उनका घरपरिवार कमजोर भएकै कारण उनी उम्किए । यद्यपि, अहिले त लाखौँ सर्वसाधारणको कुरा आएको छ । यदि उनी छुटे भने जनताले आन्दोलनको बाढी पहिरो ल्याउने छन् ।

यसैले अब सरकारले पनि नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिएर फेरि नेपाल फर्किएकामाथि निगरानी बढाउनुपर्छ । लामिछानेमाथि निगरानी नराखेकै कारण उनले गर्दा दुई जनाको ज्यान गयो । चितवनमा जनताले तिरेको कर खर्चिएर पटक पटक चुनाव गराउनु पर्ने भएको छ । यदि उनी नेपाल नफर्किएको भए न दुई निर्दोष व्यक्तिले ज्यान गुमाउनु पर्थ्यो न त सहकारीमा यत्रो सर्वसाधारणको रकम डुब्थ्यो ।

न त चितवनवासीले नै पटक पटक मतदान गर्नुपर्थ्यो । यसैले, लामिछानेको उदाहरण हामी सबैका लागि एउटा पाठ बनेको छ । यसलाई मध्यनजर गरेर सरकारले आवश्यक कदम चाल्नै पर्छ । नभए यस्ता आफ्नो मातृभूमि त्यागेर विदेशी बनिसकेकाहरूले देश तहसनहस बनाउने छन् । यदि आफ्नो देशको माया छ भने उसले नेपाली नागरिकता कहिल्यै त्याग्दैन । रविलाई देशको माया छैन । आफ्नो स्वार्थ पुरा गर्न पाए पुग्यो ।

तर, लामिछाने नेपाल बनाउन आएका हुन् भन्ने भ्रममा परेर जनताले उनीमाथि विश्वास गरे । यसैले, अब सरकार पनि सचेत हुनुपर्छ । नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिइसकेकाहरू फेरि नेपाल फर्किन्छन् भने त्यस्ता व्यक्तिमाथि सरकार र जनता दुवैले आँखा चिम्लेर विश्वास गर्नुहुन्न । रवि आफ्नै मातृभूमि र यहाँका जनता ठग्न खोजे । यद्यपि, उनी सफल भएनन् । ०७१ जेठमा अमेरिकाबाट आएका उनी हालसम्म दुई पटक प्रहरी नियन्त्रणमा पुगिसके ।

अनि यस्ता व्यक्तिमाथि अझै पनि जनताले विश्वास गरिरहने कि कानुनी कारबाही गर्न सडकमा उत्रिने ? अरूलाई परेको दुःख, आफूलाई पनि पर्न सक्छ भनेझैँ हिजो पुडासैनीका अभिभावकलाई पर्दा जनताले साथ दिएनन् ।

तर, अहिले सर्वसाधारण आफैँ लामिछानेबाट पीडित भएका छन् । यो त सुरुवात मात्र हो । यदि उनी छिट्टै कानुनी कठघरामा नगए अझै कयौँ व्यक्तिले ज्यान गुमाउनुपर्ने छ त कयौँ ठगिने छ । त्यसैले, हामी जनता पनि लामिछानेको समर्थनमा उत्रिनुभन्दा पनि सत्यको पक्षमा रहौँ ।