धरान : नेपालको इतिहासको खोज तथा अभिलेख सङ्ग्रहका पछिल्लो अग्रणी इतिहासकार महेशचन्द्र रेग्मीले सन १९९२ अगस्तमा जर्मन मानवशास्त्री मार्टिन गेन्स्जलाई भनेका थिए मलाई ‘सन् १९५२-५३ को भूमिसुधार आयोगका रिपोर्टहरूका कुरामा चासो जाग्यो ।’

काठमाडौँ उपत्यकापछि नेपालका इतिहासकारहरूलाई अहिले पनि रोचक र विशेष चासोको विषय बन्दै आएको क्षेत्र भनेको पूर्वको तत्कालीन लिम्बुवानको शासन तथा भूमि व्यवस्था र धार्मिक, भाषिक सांस्कृतिक पक्ष हो ।

लिम्बुवानको इतिहास इमानसिंह चेम्जोङले आधिकारिक रूपमा लेखन सुरु गरेका हुन । उनको इतिहासले लिम्बुवानको आर्थिक, समाजीक, भाषिक, धार्मिक तथा सांस्कृतिक पक्षहरूको धेरै कुरा उद्घाटित गरेको छ । धेरै इतिहासकारहरूले नेपालको इतिहास लेख्दा लिम्बुवानको सन्दर्भ चेम्जोङलाई बनाएको पाइन्छ ।

पछिल्लो कालखण्डमा भगिराज इङनामले लिम्बुवानको इतिहासका प्रामाणिक अभिलेख सङ्ग्रहको २ वटा ग्रन्थ प्रकाशित गरेर नयाँ छलाङ लगाएका छन् । यसले कतिपय अनुद्घाटित तथ्यको खुलासा गरेको छ । इतिहासमा अभिलेखको आधार भन्दा प्रमाणिकताका अन्य सन्दर्भ बलियो मानिन्न । त्यस कारण पनि इङनामका सङ्ग्रह ग्रन्थहरू नेपालको इतिहासमा नयाँ अध्याय हो ।

त्यसै कारण होला इङनामको २०७७ सालमा प्रकाशित पहिलो ग्रन्थ ‘लिम्बुवानको ऐतिहासिक दस्ताबेज सङ्ग्रह’ लाई मदन पुरस्कार प्रदान गरिएको थियो । उनको दोस्रो सङ्ग्रह ग्रन्थ हालै २०८१ भदौमा बजारमा आएको छ । मुन्धुम एकेडेमी ललितपुरद्वारा प्रकाशित ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ले भगिराज इङनामलाई नेपालका ऐतिहासिक दस्ताबेज सङ्ग्रहकर्ता इतिहासकारकै लहरमा उभ्याएको छ ।

नेपालको इतिहासमा भएका ऐतिहासिक दस्ताबेज पनि हराएका वा प्रकाशन नगरिएको इतिहास लेखनको क्षेत्रमा टिप्पणी गरिएको पाइन्छ । राजनीतिक, सामाजिक, धार्मिक, सांस्कृतिक कारणले ओझेलमा राखिएका त्यस्ता दस्ताबेज मध्ये अङ्ग्रेजकालीन भारत-नेपाल बिच भएको ‘सुगौली सन्धि’को अभिलेखको चर्चा हुने गरेको छ ।

२०२० सालतिर इतिहासकार योगी नरहरिनाथद्वारा ‘इतिहास–प्रकाशमा सन्धि पत्र सङ्ग्रह’ तयारीमा रहँदा तत्कालीन परराष्ट्र मन्त्रालयमा सुरक्षित सुगौली सन्धिको मूलप्रति सहित निकै महत्त्वपूर्ण कागजातहरू लिएर गएको तर पति आगलागीमा नष्ट भएको समाचारहरू आएका थियो ।

लेखक कृष्ण अविरले लेखेका छन् ‘लिपुलेक, लिम्पियाधुराको नक्सा विवादपछि गठन भएका राज्य व्यवस्था र अन्य संसदीय समितिहरूले सुगौली सन्धिको मूलप्रतिको खोजी गरे, तर परराष्ट्र मन्त्रालय नै यस बारे अनभिज्ञ छ ।’ राजनीतिक कारणले त्यो अभिलेख गायब गरिएको हुनसक्ने उनको आशङ्का छ ।

भगिराज इङनामको २ वटा प्रकाशित अभिलेख सङ्ग्रहमा भने त्यस्तो कुनै ऐतिहासिक अभिलेख लुकाइएको छैन भन्न सकिन्छ । पहिलो ग्रन्थ प्रकाशित भएको ४ वर्ष बितेको छ । लगत्तै उनले दोस्रो ग्रन्थ प्रकाशित गरेका हुन । यसबिच लिम्बुवानका कुनै दस्ताबेज उनले सङ्ग्रह गरेर प्रकाशनमा नल्याएको आरोप लगाउने अघि आएका छैनन् ।

इङनामको दोस्रो ग्रन्थमा कुल ३८२ वटा दस्ताबेजहरू प्रकाशित छन् । अघिल्लो ग्रन्धत्रमा नभएका ती अभिलेखहरू २०२५ साल सम्मका छन् । पुरातात्त्विक महत्वका शिलालेखहरूका प्रामाणिक तस्बिरहरू सङ्गृहीत छन् । ५ भागमा विभाजित ग्रन्थमा सक्कल स्याहामोहर तथा लालमोहरहरुको तस्बिर राखिएका छन् ।

सङ्ग्रहमा तत्कालीन राज्यबाट जारी भएका कागजातहरू, शिलालेख तथा ताम्रपत्रहरु सङ्कलित छन् । पुस्तकमा ५ वटा लिम्बू याक्थुङका बारे तिब्बती लिपिको अभिलेख पनि राखिएको छ । ८५० पृष्ठका ग्रन्थको मूल्य २ हजार रुपैयाँ राखिएको छ ।

लिम्बुवानको दस्ताबेज इङनामका २ ग्रन्थमा प्रकाशित अभिलेखहरू मात्र होइन । लिम्बुवान नेपालमा अन्तर्भक्त भएको अढाई सय वर्ष पुगिसकेको बेला इतिहासका सबै लिखत अभिलेखहरू खोजी कार्य निकै जटिल विषय हो । अझै निकै पुस्ता सम्म यसको खोज अनुसन्धान जारी रहन सक्छ ।

सङ्ग्रहकर्ता भगिराज इङ्नामले ग्रन्थमा व्यक्त गरेको अनुभवमा भनेका छन् ‘हजार बाह्रसय अभिलेख सङ्कलित हुँदा ३८२ अभिलेख मात्रै यहाँ प्रकाशित गर्न सकियो ।’ लिम्बुवानमा पुर्खाहरूले संरक्षित गरेर राखेका बक्सा बक्सा अभिलेखहरू छ । सङ्कलनका लागि घरै सम्म पुग्दा पनि पाउन नसकेको उनको भनाई छ ।

लिम्बुवानको इतिहास, भाषा, संस्कृति, संस्कारका अध्येताहरु पछिल्लो समय बढेका छन् । उनीहरू पनि अभिलेख दस्ताबेज सङ्ग्रहमा लागि परेका छन् । उनीहरूका लागि भगिराज इङनाम अगुवा बनेका छन् र उनको २ ग्रन्थ इतिहासको उदाहरण बनेको छ । उनको कार्यबाट नयाँ पुस्ताले पाउने उत्प्रेरणा लिम्बुवानको इतिहासको लागि नयाँ मार्गचित्र बन्ने विश्वास गर्न सकिन्छ ।