इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर हेम कर्ण पौडेलले गत असार २० गते सामाजिक सञ्जालमा इटहरीको पत्रकारितालाई  लक्षित गर्दै गरेको टिप्पणी प्रति नेपाल पत्रकार महासङ्घ सुनसरीले ज्ञापन पत्र बुझाएको छ ।
इटहरीको समग्र पत्रकारितामाथि बदनाम गराउने र वाचडगको फङ्सन गर्न नदिने मनसायले दिएको अभिव्यक्ति निन्दनीय रहेको ठहर गर्दै क्षमा याचना गर्न आग्रह गरेको हो । 
‘समाचार प्रकाशित हुनु अगाडि नै नगर प्रमुखको सचिवालयमा जानकारी हुने र दानापानी नआएपछि भोलिपल्ट लाज छोप्न प्रकाशन÷प्रसारण हुने गरेको’ टिप्पणी गरेका उनले अहिलेसम्म कसले बार्गेनिङ गर्‍यो भनेर प्रस्ट पारेका छैनन् । समग्र पत्रकारितालाई जोडेर लेखेका उनले कारबाही गर्ने भए नाम सार्वजनिक गर्ने प्रतिक्रिया दिएका छन् । 
महासङ्घले असार २५ गते बुझाएको ज्ञापन पत्रमा कारबाहीको प्रतिबद्धता जनाएपछि उनले महासङ्घ सँग केही दिनपछि छलफल गरेर नाम भन्ने बताए । तर क्षमा याचनाको बारेमा उनले प्रस्ट खुलाएनन् ।उता पत्रकार महासङ्घ सुनसरीले भने विरोधका कार्यक्रम धमाधम सञ्चालन गर्ने बताएको छ । 
 ज्ञापन पत्रमा लोकतन्त्रको जीवन्तताको लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अनिवार्य आवश्यकता रहेको स्मरण गराउँदै आलोचना पत्रकारको धर्म भएको मेयर पौडेललाई स्मरण गराइएको छ । ‘मेयरले आरोप लगाएजस्तै पत्रकारले बार्गेनिङ गरेको प्रमाणित भए महासङ्घको तर्फबाट आवश्यक कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै पुनः आरोपको पुष्टि गर्न चेतावनी दिन चाहन्छौँ ।
अन्यथा लिखित रूपमा क्षमा याचनाको गर्न र सौहार्दपूर्ण वातावरण सृजना गराउन अनुरोध गर्दछौँ,’ ज्ञापन पत्रमा भनिएको छ । 
यसअघि महासङ्घ सुनसरी शाखाले दुई पटक प्रेस विज्ञप्ति प्रकाशित गरेर विरोध जनाइसकेको छ ।
सुनसरीमा देखिएको समस्याको विषयमा महासङ्घ केन्द्रीय समितिले समेत विज्ञप्ति मार्फत पत्रकारिताको पक्षमा लड्ने प्रतिबद्धता सहित मेयरको गतिविधिमा विरोध जनाएको हो ।