धरान : नेपालका वर्तमान पुस्ताका अग्रज भाषाशास्त्री अन्वेषक प्रा.डा. माधवप्रसाद पोखरेलले हालै प्रकाशित एक अन्तर्वार्तामा खसहरूको लोक देवता मस्टो र मष्ट धर्म र नेपालका मातृभाषाहरूको व्याकरणको अभ्यासका बारे महत्त्वपूर्ण धारणा व्यक्त गरेका छन् ।

भाषा विज्ञानका पिएचडी प्रा.डा. पोखरेल धरान विजयपुरका हुन । धरानबाटै नेपाली भाषा शिक्षण कार्य सुरु गरी त्रिभुवन विद्यालयमा अध्यापन गर्न पुगेका उनी ७५ वर्षका भए । उनले नेपालका लेख्य परम्परामा नआएका सहित ६९ मातृभाषाका वर्णमाला बनाएका छन् । भाषासँग सम्बद्ध संस्कृतिमा धेरै अन्वेषण गरेका छन् ।

मष्टो खसहरूको लोक देवता 

मस्टो खसहरूका लोक देवता हो । जगदीशचन्द्र रेग्मी भन्छन्, ‘जसले मस्टो पूजा गर्छ, त्यो खस हो । मेरा कुल देउता पनि काला मस्ट हुन् । गढवाल–कुमाउँका खसहरू पनि मस्टो मान्दछन् ।’ मस्टाको कुनै मूर्ति हुँदैन । मस्टो धामीको आङमा चढेर बक्ने अनि लोकहित गर्ने र आफ्नो शक्ति देखाउने देउता हो ।

नेपालमा जति पश्चिमतिर गयो, उति मस्टाको शक्ति, सङ्ख्या, स्वरूप, संस्कृति र मस्टामा आस्था बढ्दै जान्छ । कर्णाली प्रदेशमा मस्टालाई ‘मइठो’ भन्दछन् । अहिलेसम्मको पुरातात्त्विक अनुसन्धानबाट सबै भारोपेली जातिको पुख्र्याैली थलो मध्य युरालको रूसमा पर्ने सिन्तास्ता भन्ने ठाउँ ठहरेको छ ।

त्यहाँबाट पश्चिमतिर छरिनेहरू टर्की, ग्रिस, इटाली, जर्मनी, बेलाइत, आदि ठाउँमा पुगे । युरालदेखि पूर्व दुइटा बगाल लागे । सबैभन्दा उत्तर र पूर्व पुग्ने पहिलो पूर्वेलीलाई तोखार/तुषार/तुरूष्क भन्दछन् भने पूर्वमा कजाकस्थान र दक्षिण–पूर्वमा चीनको सिन्च्याङसम्म मात्र बगाललाई भाषा वैज्ञानिकहरूले ‘आर्य’ नाम दिएका छन् ।

पार्जिटर चाहिँ तिनीहरूलाई ‘ऐल’ (चन्द्रवंशी बुधकी पत्नी इलाका सन्तान) भन्दछन् । इरानको पुरानो नाम आर्याना (आर्याणां भूमि) लेखिएको छ । यसरी आर्य शब्दले हाम्रो उपमहाद्वीपमा ऋग्वेद पढ्ने र इरानतिर अवेस्ता पढ्ने साझे जाति जनाउने चलन छ ।

ऋग्वेदका ऋचा र अवेस्ताका मन्त्र पनि, भाषा पनि, देउता पनि धेरै मिल्छन् । हाम्रो हुम्ला–जुम्लाका खस भाषामा जसरी सकारलाई हकार उच्चारण गरिन्छ, त्यसैगरी अवेस्तामा पनि ऋग्वेदका ‘असुर’लाई अहुर भनिन्छ । ऋग्वेदका ठुला देउता इन्द्र र अग्नि हुन्, अवेस्ताका ठुला देउता अग्नि र अहुर मज्दा हुन् । मज्दा शब्द मस्टा शब्दको नजिक छ । शिवमहिम्न स्तोत्रमा शिवजीलाई महिष्ठः भनिएको छ ।

त्यो शब्दबाट महिठो=मइठो बन्दछ । अहुर मज्दा पनि असुरस्य महिष्ठः हो कि ? मस्टाको धामीले पनि रूद्राक्षको माला लगाउँछ । मस्टाका थानमा त्रिशूल पनि गाडिएको हुन्छ । मस्टासँगै भुवानी (भवानी) भइरूको पूजा पनि गरिन्छ । यसरी मस्टो शिवजीकै धामीमा चढ्ने लोकदेउताको रूपजस्तो लाग्छ ।

हालसालै मैले तेजबहादुर कार्कीले लेखेको मस्टो संस्कृति भन्ने किताब पढेँ । मस्टामा रूचि राख्ने सबैले त्यो किताब पढेको राम्रो भन्ने मेरो मान्यता छ । मस्टोबारे गम्भीर अनुसन्धान गर्न बाँकी छ । तेजबहादुर कार्की पिएचडी नै गर्ने सुरले मसँग आएका थिए, अहिले कता हराए, मेरा सम्पर्कमा छैनन् । म चाहिँ उनलाई खोजिरहेको छु ।

मातृभाषाहरूको व्याकरण 

मैले नेपालका अलिखित ६९ भाषाको वर्णमाला बनाई दिएको छु । गोरखापत्रको नयाँ नेपाल स्तम्भमा प्रकाशित हुने धेरैजसो भाषाको वर्णमाला मैले बनाएको छु । मैले वर्णमाला बनाएको दिनदेखि ती सबै भाषाहरू लेख्य त भए, तर धेरै मातृभाषीले अझै त्यो वर्णमालामा अभ्यास गर्न थालेकै छैनन् कि भन्ने पनि मलाई डर छ ।

धेरैजसो मातृभाषीहरूका संस्थाले मलाई आफ्नो मातृभाषाको वर्णमाला बनाई मागेका हुन् । मातृभाषीलाई उनीहरूको मातृभाषा आउने वर्ण विज्ञान नआउने अनि मलाई वर्णविज्ञान चाहिँ आउने अरूको मातृभाषा नआउने भएकाले बेग्ला बेग्लै गाउँका मातृभाषा राम्रो जान्ने वक्ताहरूसँगको सामूहिक भेलामा छलफल गरेर सहमतिमा वर्णमाला बनाइन्छ ।

यसरी बनाएको वर्णमाला चाहिँ वर्ण वैज्ञानिक हुन्छ । एकपल्ट सिकेपछि सबै मातृभाषीले गल्ती नगरी लेख्न सक्छन्, नेपाली भाषाको हिज्जे जस्तो पण्डितहरू नै लेख्न अल्मलिने हुँदैन । अहिले कुसुन्डा भाषा बोल्न जान्ने एक जना मात्र मातृभाषी (कमला) दाङमा छिन् । अर्की वक्ता (ज्ञानीमैयाँ) सँग ६ महिना राखेर मैले भोजराज गौतमलाई कुसुन्डा भाषा फरर बोल्न सक्ने बनाएको छु । भोजराजले एकेडेमीबाट कुसुन्डा भाषाको व्याकरण प्रकाशित गरेका छन् ।

कुसुन्डा भाषा संसारको अर्को कुनै भाषासित पनि मिल्दैन । डेभिड वाटर्स, योगेन्द्र यादव, बलराम प्रसाईँ र म सहलेखक भएको एउटा किताब पनि प्रकाशित भएको छ । मसँग ६०-७० ओटा भाषाका सामग्री होलान् । तिनीहरूको प्रकाशन नगरी यो धर्तीले मलाई बिदा गर्ला ।

यति बेला म खस मातृभाषा (दार्चुलाली, बैतडेली, अछामी, बाजुरेली, बझाङी, जुम्ली, हुम्ली, आदि) का शब्दकोश र व्याकरण बनाउने अनुसन्धान गराइरहेको छु । जसमा अछामी, बैतडेली र बझाङीको पिएचडी त पूरा भयो, दार्चुलालीको मौखिक परीक्षा मात्र बाँकी छ, बाजुराली, हुम्ली, जुम्ली र कर्णाली खस अनेक चरणमा छन् ।

अहिले एकेडेमीबाट डा. मिरा प्रधान सहलेखक भएको नेपाली व्याकरण कोश प्रकाशित हुँदैछ । अर्को एउटा किताब (नेपाली शब्द व्याकरण) डा. यज्ञेश्वर निरौला, डा.मतिप्रसाद ढकाल र डा. मिरा प्रधान सहलेखक भएको तयार हुँदैछ ।

नेपाली साहित्यको बृहत् इतिहासकोे पाँचौं संस्करण 

कमल दीक्षितले फोन गरी रहनुहुन्थ्यो । मैले उहाँलाई भनेको थिएँ ‘नेपाली किताबहरूको लाइब्रेरी अफ कंग्रेस मदन पुस्तकालय पुस्तकालय नै हो, त्यसैले जबसम्म यस पुस्तकालयका पुस्तक र पत्रपत्रिकाको उपयोग गरेर नेपाली साहित्यको इतिहास लेखिँदैन, तबसम्म नेपाली साहित्यको इतिहास नै अधुरो भइरहन्छ ।’ उहाँले मलाई भन्नुभयो, ‘अब गुरुऋण तिर्न तयार छु । प्रधान सम्पादक तपाईं बस्नुपर्छ ।

इतिहासमा के-के राख्नुपर्छ र इतिहासमा कस–कसलाई जोड्नुपर्छ, कति खर्च लाग्ला, त्यसको अड्कल गरेर मलाई बुझाउनु होस् । म लेखकलाई विद्वत्वृत्ति दिन सक्तिनँ, किताब छपाई दिन्छु र लेखकहरूलाई रोयल्टी दिन्छु । मैले चूडामणि बन्धु सर र दयाराम सरसँग बल मागेँ र ग्रन्थ र लेखकहरूको वृहत् योजना बनाएँ अनि पुस्तक व्यवसायीहरू (वसन्त थापा र लिखत पाण्डे) को सहयोग लिएर ३० लाख रूपैयाँको अड्कल बुझाएँ ।

दीक्षितजी एकदम खुसी हुनु भयो । त्यसको भोलिपल्टै जगदम्बा प्रकाशनलाई २५ लाख रूपैयाँ पेस्की दिइसकेको कुरो मलाई सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘अब म नरहे पनि किताब छापिन्छ ।’ कुनै दिन मैले उहाँलाई भनेँ, ‘तपाईँ ८६/८७ वर्ष पुगिसकेको मान्छे, कुन दिन हिँड्नुहुन्छ, त्यसको टुंगो छैन ।

अहिलेसम्म झन्डै एक/डेढ हजार पृष्ठका चार ओटा ठेली (संस्करण) प्रकाशित भएको छ । पाँचौँ ठेली बालकृष्ण सम जयन्ती (२०८१ माघ) मा प्रकाशित गर्नेगरी तयारी भइरहेको छ । अहिले निबन्धको इतिहास प्रमोद प्रधानजीले चारसय पृष्ठ जति लेखेर बुझाइ सक्नुभयो । त्यसका सहलेखक डा. गोविन्दराज भट्टराई त्यसको पूरक भागको इतिहास भरिरहनु भएको छ ।

गद्य र नाटकमा समेटिएको पाँचौँ ठेलीमै समावेश गरिने साहित्यिक पत्रकारिताको इतिहास डा. रमेश शुभेच्छुका जिम्मामा छ । प्राध्यापक भट्टराई जति उमेर नपुगेकाले शुभेच्छुको शुभेच्छाले उहाँ भन्दा बढ्ता समय नलेला । पहिलो ठेलीः नेपाली भाषा, व्याकरण र अभिलेखको इतिहास, दोस्रो ठेलीः नेपाली लोकसाहित्य, प्रारम्भिक काल, माध्यमिक काल र अनुवादको इतिहास, तेस्रो ठेली नेपाल बाहिरको नेपाली साहित्यको इतिहास, चौथो ठेली नेपाली पद्य र बालसाहित्यको इतिहास, पाँचौँ ठेली ः नेपाली गद्य र नाटकको इतिहास ।

चीनमा नेपाली भाषा शिक्षण  

चीनमा मैले चार महिनाको अवधिमा पेइचिङ वैदेशिक अध्ययन विश्वविद्यालयमा नेपाली भाषा सिकाउने काम बाहेक एउटा अनलाइन विद्वत् प्रवचन गरेँ । प्रवचनको विषय थियो, ‘किन नेपाली प्रबुद्धहरू चीनबारे निरक्षर छन् ?’ तेस्रो काम मैले चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका ६ ओटा शृंखलालाई पुग्ने एउटा लामो श्रव्य अन्तर्वार्ता दिएँ भने, एउटा एक घण्टा लामो श्रव्य-दृश्य अन्तर्वार्ता दिएँ ।

चीनमा गरेको चौथो काममा मैले ‘पश्चिम किल्ला चम्बा पो’ भन्ने शीर्षकमा प्रकाशित हुन लागेको किताबका लागि झन्डै ४० पृष्ठ लामो भूमिका धेरै मेहनत गरेर लेखेँ । जनकलाल शर्मा र राहुल सांस्कृत्यायन चिठी लेखालेख गर्थे । मैले जनकलाल शर्मासँगै राहुलले पठाएका एक सय ओटा भन्दा बढ्ता चिठी पढेको थिएँ । अहिले उनका छोरा डा. सुमन ढकालको सम्पादनमा ती चिठी र तिनीहरूको परिचयसमेत भएको एउटा ज्यादै महत्त्वपूर्ण किताब प्रकाशित हुँदैछ ।

त्यसैको भूमिका मैले झन्डै तीन चार महिनै लगाएर लेखेँ । चीनबाट फर्केपछि दुईटै आँखाको मोतीविन्दुको शल्यक्रिया गराएँ र एक महिना भन्दा बढ्ता पढ्ने प्रतिबन्धमा परेँ । आजदेखि प्रतिबन्ध फुकुवा भयो, अनि यो अन्तर्वार्तामा लाग्न पाएँ ।

साहित्यका पुरस्कृत पुस्तकहरू बारे 

पुरस्कृत हुने पुस्तकको आधार वस्तुगत हुने भन्दा बढ्ता आत्मगत हुने भएकाले धेरैजसो पुरस्कार, पुरस्कार दिने मान्छेको रूचि र भावनामा भरपर्ने रहेछ । स्वार्थ पनि एक किसिमको भावनै हो, त्यसैले कुनै पुरस्कार प्रस्टै बुझिने गरी नपर्नुपर्ने ठाउँमा परेको देखिन्छ । कुनै-कुनै पुरस्कार मात्र ठाउँमा परेको देखिन्छ । अचेल प्रायः सरकारी राष्ट्रिय पुरस्कारहरू राजनीतिक भागवण्डामा भएजस्तो देखिन्छ ।

राष्ट्रिय पुरस्कारकै त त्यो हाल छ भने, निजी पुरस्कारमा त भावनाले काम गर्नु स्वाभाविक हो । पुरस्कारका पँजनीमा भावनाकै भर धेरै हुने प्रवृत्ति भएकाले त्यसलाई घटाउन सार्वजनिक मूल्यांकनले काम गर्न सक्छ, तर साहित्यिक कृतिका गरिमाको लेखाजोखा गर्ने पण्डितहरूको योग्यता, प्रतिभा र निष्पक्षताको भूमिकाको बेवास्ता गर्न पनि सकिँदैन ।

उनीहरूको भावुकतालाई कम गर्न एकदुई जनालाई मूल्यांकन गर्न नदिएर ५/१० जनालाई दिएर आएको जोडका आधारमा मूल्यांकन गर्दा बेस हुन्थ्यो होला । तर पुरस्कार दिने कति संस्थालाई त यस्तो वस्तुपरकता चाहिएकै हुँदैन । उनीहरूलाई त आफू अथवा आफ्नो मान्छे नै चाहिन्छ ।

युवापुस्तालाई साहित्य लेखनबारे 

हाम्रो शिक्षा नीतिले हामीलाई स्वदेश बिर्सेर विदेशतिर मन्टो फर्काउनुलाई नै उन्नति, प्रगति र विकास भनेर सिकाएको छ । तर शिक्षा भनेको त आफ्नै देश, आफ्नै जाति, आफ्नै पर्यावरण, आफ्नै परम्परा र आफ्नै स्रोतको समृद्धि ठम्याएर त्यसैको अनुसन्धान, विकास र परिचालन र विनिमयबाट राष्ट्र र जनताको शक्ति बढाउने उपाय पो हो त ।

तर हाम्रो देशमा शिक्षाका नाउँमा देश होइन विदेश पढाइन्छ, देश छोडेर विदेश जानुलाई उन्नति मानिन्छ । अर्थशास्त्रले आफ्नै देशको भूमि, श्रम, पुँजी, संगठन र उद्यमको उपयोगबाट मात्र देशको विकास हुन्छ भनेर सिकाउँछ, तर हाम्रो सरकारले कच्चा माल (भूमि) निर्यात गर्छ, देशको शक्ति सबै विदेश पठाउँछ ।

कृषिप्रधान देश भन्छ, फर्सी पनि विदेशबाट ल्याउँछ, देशका युवा श्रमिकहरू विदेश निर्यात गर्छ । ऋण ल्याउनुलाई ठुलो काम गरेको ठान्छ, विकास भाषणमा मात्र गर्छ, उद्योग झगडामा मात्र छ । कलकारखाना विदेशीलाई बेच्छ, भ्रष्टाचारीको इज्जत गर्छ र अन्यायलाई धर्म भन्छ । हाम्रा युवाले यो कुरो मनन् गरेर आफ्नो राष्ट्रिय र वैयक्तिक गन्तव्य रोज्नुपर्छ भन्ने मलाई लाग्छ ।

प्रेरणाका श्रोत 

(१) मलाई बरालिन नदिएर घरैभित्र आफ्नो शक्ति बढाउन प्रेरणा दिने मेरी आमा (२) स्वामी विवेकानन्द, (३) अरबिन्द घोष, (४) ‘हामी समय बर्बाद गर्दै छौँ, समयले हामीलाई बर्बाद गर्दै छ’ भन्ने सेक्सपियरको सूक्ति (५) क्षणत्यागे कुतो विद्या, कणत्यागे कुतो धनम्’ छिन खेर फालेर विद्या बढ्दैन, कनिका खेर फालेर धन बढ्दैन) भन्ने नीतिको वचन ।

(६) एकछिन पनि समय खेर नफाल्ने विराटनगरका मेरा सहवासी मित्र मोतीलाल चित्लाङिया र जनकलाल शर्माको संगत, (७) आफूसँग भएको शक्तिको सानो फिलिंगो जति फुक्यो त्यति बढ्छ, जति चलाएन त्यति निभ्छ, त्यसैले आफूसँग भएको सानो शक्तिको फिलिंगो सकेसम्म फुकेर बढाई राख्नुपर्छ भन्ने आशयको चाल्र्स डार्विनको विकासवादको सिद्धान्त ।

‘पत्रकला’ साप्ताहिक काठमाण्डौ, २१ असोज २०८१ मा प्रकाशीत शीतल गिरीसंगको कुराकानीमा आधारीत । प्रस्तोताः हर्ष सुब्बा ।