- राजेन्द्र खनाल 'क्षितिज'
आम नेपालीहरू कुनैपनि विदेशीलाई भेटेपछि नतमस्तक नै हुने बानी छ । हाम्रो सोचाई हुन्छ, सेतोछाला त्यो पनि विदेशी, हामीलाई लाग्छ, यो मान्छेले धेरै कुरा जान्दछ । हाम्रो भन्दा बढी बुद्धि र ज्ञान छ । यस्तो राम्रो फटटट अङ्ग्रेजी बोल्छ । अनि भित्रैदेखि हामी अलिक सङ्कोच मान्छौ, यो सँग अब अङ्ग्रेजीमा कसरी दोहोरो संवाद गर्ने होला ?
हुन त हामी पनि स्कुल र कलेज गरेर कम्तीमा बाह्रबर्ष अङ्ग्रेजी पढेका हुन्छौँ, त्यही पनि बोल्ने बेलामा अकमकाउछौ । हुन त नेपाली भाषा नै कहाँ पो राम्रो छ र हाम्रो ? नेपाली भन्दा एसएलसी/एसइईमा प्रायः सबैको अङ्ग्रेजीमै नम्बर बढी आउँछ । त्यही पनि हाम्रो अङ्ग्रेजीको हबिगत देखिन्छ ।
हामी जो-जो पुरानो शिक्षा, अनि सरकारी स्कुलमा पढेका छौ, उनीहरूका लागि अङ्ग्रेजी भनेको महाप्रलय नै हुन्छ । अनि त्यो बेला अङ्ग्रेजी पढाउने शिक्षक पनि त्यस्तै, हामी सिक्ने पनि उस्तै, अनि कहाँबाट अङ्ग्रेजी राम्रो हुन्छ ?
न त हामीले उच्चारण कसरी गर्ने भनेर नै थाहा पायौ, न त कुन अक्षर चैँ उच्चारण गर्न नपर्ने (साइलेन्स) भनेर नै जान्यौ । उच्चारण नै गर्नु पर्दैन भने किन त्यो अक्षर राख्नु? अझ फोनेटिकको त झन् कुरै नगरौँ । अहिले बोर्डिङ स्कुलमा पढ्नेहरू त फररर अङ्ग्रेजी बोल्छन्, राम्रो लेख्छन् पनि होला ?
त्यसो त अहिलेको भन्दा पुरानो शिक्षाको अङ्ग्रेजी धेरैनै स्तरीय थियो, मात्र पढ्ने र पढाउनेको कमजोरी मात्र । हाम्रो पालामा एसएलसीमा दुई वटा पेपर त अङ्ग्रेजीमा नै दिनुपर्दथ्यो । तरपनि अहिले अङ्ग्रेजीमा बोल्नुपर्यो भने धेरै बेर सोच्नुपर्छ । कोही-कोही त पहिला नेपालीमा सोच्छन्, अनि अङ्ग्रेजीमा जवाफ दिन्छन् । यो अधिकांश पुरानो शिक्षा र गाउँ सहरमा सरकारी स्कुलमा पढ्ने र संस्कृत पढ्नेको कथा र व्यथा हो ।
म सरकारी सेवामा जागिर खाँदा नै विदेशीहरू सँग काम गर्ने मौका मिलेको थियो । त्यसपछि आठवटा अन्तर्राष्ट्रिय सङ्घसंस्थामा काम गरियो । विदेशी विशेषज्ञ भनिनेहरू सँग नजिकबाट नै काम गरियो । सुरुसुरुमा लाग्दथ्यो, यिनीहरू त भयङ्कर जान्ने होलान् । म पनि डराइ-डराइ काम गर्दथे । म जस्ता कति जना तपाईँहरूलाई पनि त्यस्तै लाग्थ्यो होला ?
हो, यो हामी सबैले देखेका अनि भोगेको कुरा हो । सेतोछाला देखेपछि, यो त अर्कै ग्रहबाट आएको, अलौकिक अवतार नै हो जस्तो गर्छौ । वास्तवमा त्यस्तो नहुँदो रहेछ । पछि बिस्तारै मैले थाहा पाए, हामीसँग भएको जति ज्ञान, बुद्धि, सीप त उ सँग नहुँदोरहेछ । किनकि हामी गरेर, परेर, पढेर, सुनेर अनि परम्परागत ज्ञान, पुस्ता हस्तान्तरण र प्रकृतिसँग नजिक भएर सिक्छौ भने उनीहरू केबल पढेर र सुनेर नै सिक्दा रहेछन् । हाम्रो व्यवहारिक ज्ञान उसको सैद्धान्तिक ज्ञान भन्दा धेरै माथि हुँदो रहेछ ।
हाम्रो कमजोरी भनेको नै विदेशी सँग, आफूले जानेका कुरा सबै खुलस्त भन्छौ, केही लुकाउँदैनौ । हामीलाई डरलाग्छ, फेरि केही पो जान्दैन रहेछ भन्छ कि भनेर । किनकि अङ्ग्रेजीमा बोल्नुपर्यो अनि कनीकुथी गरेर पनि आएजति सबै भन्नु नै पर्ने । हामीले बोली रहँदा उ सुनिरहन्छ, कति बुझ्छ, कति बुझ्दैन थाहा छैन । तर उसले हामीबाट चाहिने जति सबै कुरा लिएर आफ्नै पारामा आफैले लेखे जस्तै गरेर रिपोट बनाउँछ ।
त्यसैले तपाईँमा भएको ज्ञान अङ्ग्रेजी कमजोर छ भन्दैमा दङ्ग परेर खररर नभन्दा नै राम्रो । तपाईँमा भएको ज्ञान अरूले लिएर आफ्नो बनाउन धेरै मान्छे माहिर छन् अचेल । त्यसैले को सँग कति कुरा गर्ने, कस्तो ठाउँ (सभा, सम्मेलन) मा के भन्ने? जस्लेगर्दा तपाईँको कुरा सबैले ध्यान दिएर सुनुन् ।
अनि तपाईँमा भएको विद्वत्ता अरूले थाहा पाउन, प्रश्न उत्तरमा पनि ठिक्क उत्तर दिनुस्, धेरै भूमिका नबाँधी । यदि तपाईँमा भएको ज्ञानको साथै अङ्ग्रेजी पनि राम्रो छ भने त सुनमा सुगन्ध नै हुनेछ ।
जसको अङ्ग्रेजी कमजोर छ, जति नै ज्ञान वा कुरा थाहा भएपनि अङ्ग्रेजीमा दोहोरो सम्बाद गर्न गार्हाे हुन्छ । कति नेपालीहरूको ज्ञान कम छ, तर अङ्ग्रेजी राम्रो छ भने, उनीहरूको विदेशीसँग हिमचिम बढी हुन्छ । गफ दिनलाई माहिर हुन्छन् ।
अनि अङ्ग्रेजी कमजोर हुने चैँ विदेशीसँग बोल्नै नपरोस् जस्तै नै गर्छन्, कनीकुथी बोली टोपल्छन् । मात्र हासीरहन्छन, अनि यस-यस भन्यो सकियो । उता फररर अङ्ग्रेजी बोल्ने नेपालीहरू चैँ अरूको कुरा पनि आफ्नै हो जस्तै गरेर बोल्ने कलाको विशेषज्ञ नै हुन्छन् । अनि त्यस्ता मान्छेलाई माथि-माथि पदोन्नति हुन सजिलो पनि हुन्छ । विदेशी कार्यालयमा अङ्ग्रेजीमा राम्रो कुरा वा गफ दिन नसक्ने जति सबै पछि नै पर्छन् ।
त्यसैले तपाई पनि विदेशी संस्थामा हुनुहुन्छ भने अङ्ग्रेजीमा केही परिश्रम त गर्नुपर्छ । अथवा विदेश जानेहरू त्यो पनि अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया लगायतका देशमा त अनिवार्य नै हुन्छ । तपाईँको अङ्ग्रेजी साधारण वा मध्यम भएर पुग्दैन अब, उन्नत (एडभान्स) नै हुनुपर्दछ । फेरि बेलायत, अमेरिका अनि अस्ट्रेलियाको अङ्ग्रेजी कति त शब्द र बोलाइको लबज नै फरक हुने ।
अङ्ग्रेजी राम्रो बनाउने भनेकै पढ्ने, सुनेर भनेको कुरा राम्ररी बुझ्ने, बोल्ने अभ्यास र लेख्ने बानी नै हो । उदाहरणार्थ, म पाख्रीबास कृषि केन्द्रमा काम गर्दा प्रत्येक हप्ता सेमिनार हुन्थ्यो, एक जनाले कार्यपत्र प्रस्तुत गर्दथे । सूचना शाखाको प्रमुख अहिलेका वरिष्ठ साहित्यकार पवन आलोक हुनुहुन्थ्यो । वहाँको अङ्ग्रेजी त विशिष्ट श्रेणीको थियो नै, अनि सूचना अधिकृत चैँ तोया गौतम हुनुहुन्थ्यो । वहाँ नेपाली भाषाको विज्ञको रूपमा केन्द्रमा प्रवेश गर्नुभएको थियो ।
तोया गौतमले सेमिनार सञ्चालन गर्दा चार-पाँच जना विदेशीहरू भएपनि नेपालीमै गर्नुहुन्थ्यो । किनकि वहाँको अङ्ग्रेजी कमजोर भएर बोल्न हिचकिचाउनु हुन्थ्यो । नेपालीमा भने लमतन्न तन्काएर भन्ने गर्नुहुन्थ्यो । एक दिन मैले वहाँलाई भने, तोयाजी, तपाई सेमिनार सञ्चालन गर्दा नेपालीमा गर्नुहुन्छ, विदेशीहरू पनि छन्, तपाईँको कुरा उनीहरूले बुझ्दैनन्, त्यसैले अंङ्गेजीमै गर्नुस् । त्यसले तपाईँको अङ्ग्रेजी पनि राम्रो हुँदैजान्छ ।
वहाँले भन्नुभयो, ठिक छ दाइ, राम्रो सुझाव, अब म अर्कोपल्टबाट कोसिस गर्छु । नभन्दै अर्कोपल्ट वहाँले अङ्ग्रेजीमा कनीकुथी गरेर बोल्नुभयो, छोटो पनि भन्नुभयो, र निरन्तरता दिँदै जानुभयो, र पछि राम्रो अङ्ग्रेजी बोल्ने हुनुभयो । त्यसैले नडराई बोल्दै जाने र अभ्यासरत भएमा अङ्ग्रेजी राम्रो अवश्य हुने रहेछ ।
कतिपय नेपाली साहित्यकार, समालोचकहरूको सन्दर्भमा भन्नुपर्दा अङ्ग्रेजी र नेपाली उत्कृष्ट स्तरको पनि देखेको छु । पुरानो शिक्षा पढेपनि अङ्ग्रेजहरूलाई नै पछि पार्ने नेपाली विद्धानहरू पनि छन् यहाँ । सबै त मलाई थाहा नहुन सक्छ, तर केही म सँग नजिक भएकाको र थाहा पाएकाको नाम लिनुपर्दा, प्राध्यापक डा.अभि सुबेदी, महेश पौडेल, पवन आलोक, डा.विष्णुहरि बराल, नेपाल सरकारका पूर्व सचिव कृष्ण ज्ञवाली, पूर्व वन विभागका महानिर्देशक डा.राजन पोख्रेल आदि ।
अझ कृष्ण ज्ञवाली त संस्कृत पढेर आठ कक्षाबाट अङ्ग्रेजी पढे पनि अङ्ग्रेजी, नेपाली र संस्कृतमा धुरन्धर नै हुनुहुन्छ । पूर्व त्रिवि उपकुलपति डा. तीर्थ खनिया म सङ्गै अठ्तिसबर्ष अगि एडिनबरा विश्वविद्यालय, स्कटल्याण्डमा पढ्दा भन्नुहुन्थ्यो, खनालजी यो अङ्ग्रेजी पनि बुझिनसक्नु अपरम्पार नै रहेछ । वहाँ त्यतिखेर अङ्ग्रेजी भाषामा स्नातकोत्तर गर्दै हुनुहुन्थ्यो, अनि पछि अङ्ग्रेजी भाषामा नै विद्यावारिधि पनि गर्नुभयो ।
अरुपनि धेरै नेपालीहरू हुनुहुन्छ जसको अङ्ग्रेजी र नेपाली भाषा उच्चस्तरको छ । कति साहित्यकारहरू दूबै अङ्ग्रेजी र नेपालीमा बराबर कलम चलाउनुहुन्छ । मेरो एउटा नेपाली कविता सङ्ग्रह ‘मृगनयनी‘ अङ्ग्रेजीमा प्राध्यापक महेश पौडेलज्यूले अनुवाद गर्नुभएको थियो ।
जसलाई वहाँले ‘कर्डस आफ रोमान्स‘ नाम दिनुभएको थियो । त्यति राम्रो अनुवाद मैले अहिलेसम्म देखेकै थिइन, अन्तर्राष्ट्रियस्तरको नै थियो । पछि त्यो अङ्ग्रेजी एकपल्ट हेरिदिनु न दाइ भनेर डा.अभि सुबेदीलाई आग्रह गरे । वहाँले कसले गरेको भन्नुभयो, मैले महेश पौडेलले भने । ए, महेशले गरेको भए, केही हेर्नु पर्दैन भन्नुभयो ।
त्यसैले पढेर मात्र अङ्ग्रेजीको विकास पनि नहुने रहेछ । अब भनौँ हाम्रा एमालेका नेता, केपी अाेली, आठ कक्षा पढेको भनेर खिसीट्युरी गर्छन् । वहाँले लेखेको त मैलै देखेको छैन, तर वहाँको अङ्ग्रेजी बोल्ने लवज, अनि प्रयोग गरिएका शब्द, कूटनीतिक पारामा पत्रकारलाई अङ्ग्रेजीमा दिएको जवाफले म त वहाँको फ्यान नै बने । त्यति राम्रो र स्तरीय अङ्ग्रेजी नहेरीकन, अनि अन्तर्राष्ट्रियस्तरका पत्रकारसँग सवाल जवाफ गर्न सक्नु ठुलो खुबी हो ।
उहाँको जति अङ्ग्रेजी मलाई लाग्दैन अरू पढेका र विद्यावारिधि गरेका नेताहरूमा वा अरूमा नै छ ? त्यस्तै पोखरा लेकसाइडका नाउ चलाउनेहरू, पर्वतारोहण गराउने गाइडहरू, पर्यटकीय क्षेत्रमा सामान बेच्नेहरूको अङ्ग्रेजी हेर्नुस् त? पढ्नुपर्दो रहेछ त?
अर्को उदाहरण, एकपल्ट म र मेरो एक जना साथी बेलायतमा दुई जना बेलायती महिलाहरू सँग बेग्लाबेग्लै कुरा गर्न थाल्यौ । कुरा सकिएपछि साथी छेउमा आएर भन्यो, होइन, तिमी त्यो सँग त्यत्रो बेर के कुरा गरिरह्यौ । मेरो त भन्ने कुरा भनेपछि, बोल्ने कुरा (स्टक) नै सकियो भन्थ्यो ।
तसर्थ अरूको कुरा पनि ध्यान दिएर सुन्ने बानी बसाल्नुस् । आफ्नो कुरा मात्रै सासै नफेरी भन्ने बानी छोड्नुस् । अनि के बोल्ने, कति बोल्ने भनेर तौलिएर सोचेर मात्र बोल्ने बानी बसाउनु राम्रो हुनेछ । जति कम बोल्नुहुन्छ, त्यति गल्ती कम हुन्छ ।
सारांशमा भन्दा, विदेशी भनेर उ धेरै जान्दछ, म त कम जान्दछु भनेर आफूलाई कहिले पनि कमसल नठान्नुस्, अपमानित हुन नदिनुस् । किनकि तपाईँमा अपार ज्ञान छ । त्यो पानी–पधेरो, घाँस–दाउरा, पाखा–पर्वत, ओराली–उकाली, भन्ज्याङ–चौतारी हिँडेको, बुझेको, नेपाली संस्कृति, समाज, प्रकृति, पुस्ता हस्तान्तरणको अनुभव पनि छ ।
सेतो छालामा त्यो अनुभवको कमी छ । त्यसैले तपाई आफूलाई अझ सशक्त बनाउन चाहनुहुन्छ भने अङ्ग्रेजीको अभ्यासलाई निरन्तरता दिनुस्। अहिलेका यूवाशक्ति विदेश उच्च अध्ययनमा जानेहरूमा यो समस्या केही हदसम्म नहोला? तर आम नेपालीहरूमा अहिले पनि अङ्ग्रेजी भनेपछि कतै नै कतै मार खाईहाल्छन । अस्तु !
विजयपुर, धरान (हाल काठमाडौँ)
































































