इटहरी : हिमाली क्षेत्रको भ्रमणबाट फर्किएपछि प्राध्यापक अर्जुन उप्रेतीसँग संवादको अवसर मिल्यो । हिमाल घुम्न नगएपनि घुमन्तेको अनुभवले श्रोतालाई ऊर्जाशील बनाउँछ । समाजशास्त्र विषयका प्राध्यापक उप्रेतीले सामाजिक संस्था र विभिन्न समुदायको अध्ययनमा आधारित विभिन्न पुस्तक प्रकाशन गरिसकेका छन् । पछिल्लो समय हिमाली क्षेत्रमा पाइने लाप्चा समुदायमा आधारित पुस्तक ‘लाप्चा’ प्रकाशित गरेका छन् ।

विभिन्न समुदायको सँगै पर्यावरणको अध्ययनमा समेत जोड दिएका छन् । कोभिड महामारी पछि साइक्लिङ मार्फत पर्यावरणमा नजिकिएका उनी हिमाल सम्मै पुगे । शारीरिक र मानसिक स्वास्थ्यको लागि साइक्लिङ उनको रोजाइमा पर्‍यो । भारत भ्रमणको क्रममा अरुविन्दू आश्रममा पुगेर उनले साइकलको यात्रा र त्यसको महत्वबारे बुझेको सुनाए । सोही महत्वलाई कोभिड महामारीको बिचमा गाउँ र जङ्गलको यात्रामा उजागर गरे ।

जङ्गलमा पोजेटिभ इनर्जीले दैनिक जीवनमा समेत फाइदा पुग्ने उनको भनाइ छ । त्यसपछि पर्यावरण र पारिस्थितिक प्रणालीबारे धेरै बुझाई भएको अनुभव सुनाउँछन् उप्रेती । एक दिनमा ९० किलोमिटर सम्म साइक्लिङ गरेका उनले त्यसबाट धैर्यता र निरन्तर मेहनतले मानिसमा थकान नहुने अनुभव सुनाए ।

वातावरणमा रुचि बढ्दै गएपछि उनलाई खोला र हिमालको आकर्षण तान्यो । पहिलो पटक कंचनजङ्गा बेसक्याम्प जाने निर्णयमा पुगे । ग्याब्ला भन्ने ठाउँको छिङ शेर्पा नाम गरेका व्यक्ती सँग भेट भयो । ७२ वर्षका शेर्पाले सञ्चालन गरेको होटेलमा उनी आफै सबै काम गर्छन् । अन्य कर्मचारी भन्दा फुर्तिला शेर्पाको सक्रियताले उप्रेतीलाई चकित बनायो । १२ बजे सुतेर ४ बजे उठ्ने उनको आदत र ऊर्जाको फ्यान भए उप्रेती । उनका अनुसार ६० वर्ष कटेपछि हिमाल जान छाडेका उनले ७ करोडमा होटेल खोलेका रहेछन् ।

हिमाली उपत्यकामा देखिएका दृश्यले थप उत्साहित भएका उनी ७४ वर्षका विदेशी नागरिक बेस क्याम्प पुगेर फर्किएको देखेर अचम्मित भए । स्वर्ग भन्ने ठाउँ हिमालमा रहेछ भन्ने बुझेर फर्किएका उनलाई हिमालको लत लाग्यो ।

त्यसपछि केही महिनामै मकालु बेसक्याम्प जाने निधो गरे । उनका अनुसार कंचनजङ्गा तर्फ धेरै जङ्गल नभएकोले यात्रा अलिक सहज छ । तर मकालु तर्फ धेरै जङ्गली क्षेत्र भएकाले अलिक यात्रामा डरमर्दो देखिन्छ । भालुहरू प्रशस्त पाइने र मकालुको लागि होटेलको व्यवस्थापन भरपर्दो नभएकाले अलिक समस्या छ । तर राजनीतिक र पर्यटन क्षेत्रको नेतृत्वले अलिक ध्यान दिने हो भने मकालु धेरै सहज र सस्तो यात्रा हुने उनको बुझाइ छ ।

मकालुले समेत हिमालको भोक मेट्न सकेन । केही महिनाकै बिचमा उनी मनासलुको यात्रामा लागे । जापानी पर्यटकले बढी प्रचार गर्ने हिमालमा मकालु पर्छ । ट्रेकिङ रुट सजिलो भएकाले जानलाई सहज भएको उनको भनाइ छ । गोर्खाको माछा खोला र कहिलेकाहीँ तातोपानी सम्म गाडी पुग्ने गरेको छ । त्यसपछि बाइक रिजर्भ गरेर केही माथिसम्म पुग्न सकिने उनले बताए । सुविधा सम्पन्न होटेलहरू धेरै भएको र फाँटहरूमा फलफूलहरू प्रशस्त भएकाले एकदमै रमाइलो यात्राको अनुभव सुनाउँछन् उनी ।

तीन वटा हिमालको बेसक्याम्प पुगेपछि प्राध्यापक उप्रेतीले बुझेको सत्य भनेको पृथ्वीको शिर नेपालमा भएकाले नेपाल सबैभन्दा धनी देश हो । एक जना स्पेनिसले १५ वर्ष देखिको तयारीमा मनास्लु बेसक्याम्प पुगेको अनुभव सुनाउँदा अचम्मित भए उनी । स्पेनिस नागरिकले अबको पाँचबर्षमा एभरेस्ट बेसक्याम्प पुग्ने योजना रहेको सुनाउँदा हिमाल प्रति गर्व महसुस भएको बताए ।

‘हिमालले बाच्न सिकाउँछ । सङ्घर्ष र सचेतताको सूक्ष्म अनुभव गराउँछ । असहज परिस्थितिमा समेत कसरी जिउन सकिन्छ भनेर हिमालले मात्र सिकाउँछ । वास्तवमा हिमाल एउटा छुट्टै विश्वविद्यालय हो । जसलाई अनुभवले मात्र अध्ययन गर्न सकिन्छ,’ हिमालको महत्त्व दर्साउँदै उनले भने ।

उत्साहित हुँदै उनले थपे, ‘हिमालसँग यस्तो पोजेटिभ इनर्जी छ कि जसले नेगेटिभ इनर्जीलाई नष्ट गरिदिन्छ । हिमालमै तपस्या किन भयो ? हिमालमै साधना किन गरियो, भन्ने कुरा बुझ्दा हामी हिंसालाई हैन मानवतामा रमाउँछौ भन्ने देखिन्छ । त्यो सकारात्मक ऊर्जा हिमालले मात्र दिन्छ । मैले आफैपनि हिमालको यात्रा पछि १० वर्षमा नगरेको काम २ वर्षमा सम्पन्न गरेको छुँ ।’

यात्रा अनुभवको आधारमा जलवायु परिवर्तनको कारण ठुलो सङ्कटको सङ्केत देखिएको बताउँछन् उनी । स्थानीय सँगको कुराकानीको आधारमा उप्रेती भन्छन् , ‘हिमाली प्रजातिका जन्तु र पंक्षीहरु लोप भइसकेको छन् । पहिला सानो पानी चुहिने ठाउँमा खोला बग्न थालेको कारण गम्भीर सङ्कटको सङ्केत देखिएको छ । चौँरी खर्कहरू गर्मीको कारण माथिल्लो भेगमा सर्न थालेका छन् । ३७ सय मिटरको उँचाइबाट ४४ सयको उचाइमा खर्क गर्दै गएको छ । यो दु:खद कुरा हो ।

himal 2