आज हरिबोधिनी एकादशी। हरिबोधिनी एकादशी, वर्षमा चौविसवटा एकादशीमध्ये सबैभन्दा महत्त्वपूर्ण एकादशीको रूपमा मान्ने लौकिक एवम् वैदिक परम्परा रहेको छ। परम्परा छ । त्यसैले सामान्य बोलीचालीको भाषामा यो ठुलो एकादशीका नामले परिचित छ । यसै दिनबाट चतुर्मास पूरा हुन्छ।

वैदिक सनातन धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने दिनका रूपमा लिइन्छ । एकादशीको दिन अन्न ग्रहण गर्नुलाई पाप मानिएको छ । सामान्यतया भगवान् विष्णुलाई अक्षता चढाइँदैन । तसर्थ एकादशीका व्रत बस्नेले अन्न ग्रहण गर्दैनन् र गर्नुहुँदैन ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीको दिनबाट भगवान् विष्णु सुत्ने, हरिपरिवर्तनी एकादशीका दिन कोल्टो फेर्ने र हरिबोधिनी एकादशीका दिन जागा हुने विश्वास गरिन्छ । भविष्य पुराणका अनुसार अन्य एकादशीमा भन्दा हरिबोधिनी एकादशीको दिनमा गरिने विष्णु भगवानको उपासना धेरै फलदायी रहेको छ ।

यसैअनुसार वैदिक धर्मावलम्बीहरूले बिहानै नुवाई धुवाई गरी व्रत बसेर भगवान् विष्णुको पूजा आराधना गर्छन् । अन्य एकादशीमा व्रत नबस्ने वा बस्न नसक्ने वैदिक धर्मावलम्बीहरू यो एकादशीका दिन भने व्रत बस्दछन् । ८ वर्ष पूरा भएका ८० वर्षसम्मका अर्थात् अशक्तदेखि बाहेकले आजको दिन व्रत बस्नै पर्ने पौराणिक कथन छ ।

आजकै दिन गत असार शुक्ल एकादशीमा रोपेको तुलसी रुपी लक्ष्मीको विवाह नारायणसँग भएकाले यस दिनलाई तुलसी विवाहको रूपमा पनि लिने गरिन्छ । पौराणिक कालमा ऋषि कनककी छोरी किशोरीले यसै दिन सन्ध्याकालमा तुलसी विवाह सम्पन्न गराइएको स्कन्द पुराण वैष्णव खण्ड कार्तिक मास माहात्म्यमा उल्लेख गरिएको छ।

वाणै वाणहरूको शैयामा सुतेका भीष्मको अनुरोधमा अर्जुनले यसै दिन आफ्नो वाणको बेगले पाताल गंगाबाट गङ्गा अवतरित गरी पानी निकाली उनको प्यास बुझाइदिएको महाभारतमा किंवदन्ती रहेको छ।