विराटनगर : शनिबार साँझ सुनसरीको रामधुनी नगरपालिका-२, शिवनगरस्थित चौधरी परिवारको आँगनमा खुसीको सानो दियो झिलिमिलाउँदै थियो । ४७ वर्षीय दिनेश चौधरीको मनमा उल्लास थियो, किनकि उनले दिउँसो मात्रै जेठो छोरा एसकुमारका लागि झुम्का बजारबाट एउटा नयाँ साइकल किनेर ल्याइदिएका थिए । छोराको आँखामा चम्किएको खुसीले उनको दिनभरिको थकान मेटिदिएको थियो ।
परिवारको यही सानो सुखमा रमाउने दिनेश साँझमा एउटा धार्मिक अनुष्ठानको तयारीमा जुटेका थिए । उनले आफ्नी श्रीमतीको हातमा पाँच सय रुपैयाँ थमाउँदै भने, ‘पूजाको लागि परेवा लिएर आउनू ।’ घरमा पूजाको कार्यको वातावरण बन्दै थियो, तर सायद क्रूर नियतिले अर्कै षड्यन्त्र रचिसकेको थियो । एउटा यस्तो षड्यन्त्र जसले पूजाको दियो निभाएर रगतको खोला बगाउने वाला थियो ।
श्रीमतीलाई पूजाको तयारीमा लगाएर दिनेश ‘एकैछिनमा आइहाल्छु’ भन्दै आफ्नो गुजाराको माध्यम, सिटी सफारी लिएर बजारतिर निस्किए । साँझको करिब ५ बजेको थियो । उनका भतिज अरमान चौधरी सम्झिन्छन्, “दिउँसो भाइलाई साइकल किनेर ल्याइदिनुभएको थियो। त्यसपछि घरबाट बजार जान्छु भनेर निस्किनुभएको हो ।’ घरबाट निस्कँदा दिनेशको मनमा परिवारको भलो र हुन लागेको पूजाको मात्रै ध्यान थियो होला । तर, त्यो सामान्य यात्रा नै उनको जीवनको अन्तिम यात्रा हुन पुग्यो ।
शनिबार साँझ उनको रगतले रामधुनीको माटो मात्रै पोतेन, एउटा सिङ्गो परिवारको सपना र सिङ्गो गाउँको शान्तिलाई समेत भङ्ग गरिदियो । घरबाट निस्केको आधा घण्टा पनि बितेको थिएन, घरदेखि करिब दुई किलोमिटर पूर्व-दक्षिणमा रहेको सुनसरी-मोरङ सिँचाइ आयोजनाको नहरको एकान्त बाटोमा समय एकाएक रोकियो । जुन बाटो हुँदै उनी आफ्नो परिवारका लागि खुसी खोज्न निस्किएका थिए, त्यही बाटो उनको रगतले रङ्गियो । रामधुनी नगरपालिका-२, करमनीया टोलमा उनको बीभत्स हत्या भयो ।
त्यो कहालीलाग्दो क्षण हुनुभन्दा अगाडि एक जना प्रत्यक्षदर्शी थिए, छिमेकी नरेश चौधरी । उनका अनुसार, नहरको बाटोमा दिनेशलाई मोटरसाइकलमा आएका तीनजना अपरिचित व्यक्तिहरूले रोकेका थिए । उनीहरूबिच चर्को स्वरमा भनाभन भइरहेको थियो । केही अनिष्टको आशङ्कामा नरेश त्यहाँ पुगेर सोधे, ‘यहाँ के भइरहेको छ ?’ तर, उनको प्रश्नको जवाफमा मोटरसाइकलमा सवार एक व्यक्तिले उनलाई झम्टिँदै ज्यान मार्ने धम्की दियो, ‘तँ यहाँबाट खुरुक्क गइहाल, नत्र तँलाई पनि यहीँ सिध्याइदिन्छौं ।’
यो धम्कीले नरेशको सातो गयो । उनी त्यहाँबाट ज्यान जोगाउन भागे र सिधै दिनेशको घरमा खबर गर्न पुगे । उनले हतारिँदै परिवारलाई घटनाबारे बताए । जबसम्म परिवारका सदस्य र अन्य छिमेकी घटनास्थलमा आइपुगे, त्यतिबेलासम्म धेरै ढिलो भइसकेको थियो ।
आक्रमणकारीहरू आफ्नो आपराधिक कर्म सकेर त्यहाँबाट फरार भइसकेका थिए । नहरको किनारमा दिनेश रगतको आहालमा लडिरहेका थिए, उनको प्राणपखेरु उडिसकेको थियो । उनको सिटी सफारी त्यहीँ थियो, तर चालकले संसार छोडिसकेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानले उनको बायाँ छातीमा गोली लागेको जस्तो गहिरो प्वाल देखिएको बताएको छ, जबकि केही स्थानीयले छातीमा गहिरो चोट देखेको बताए ।
सुनसरी प्रहरी प्रमुख केशवकुमार थेबेले घटनाको पुष्टि गर्दै भने, ‘मानिस रक्ताम्य अवस्थामा सडकमा ढलेको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको हो । गोली हानिएको हो वा अन्य धारिलो हतियार प्रयोग भएको हो भन्नेबारे अनुसन्धान भइरहेको छ ।’
प्रहरीले यो आक्रमण योजनाबद्ध थियो वा व्यक्तिगत रिसइबीको परिणाम हो भन्नेबारे विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको छ । आक्रमणकारीको खोजीका लागि विशेष टोली परिचालन गरिएको र सम्भावित संलग्नताको पहिचान गर्न सिसिटिभी फुटेज र मोबाइल कल विवरणको समेत अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
दिनेश एक सोझा र मिहिनेती व्यक्ति थिए । विगत एक वर्षदेखि सिटी सफारी चलाएरै उनले आफ्ना दुई छोरा, एक छोरी र श्रीमतीको पालनपोषण गर्दै आएका थिए । उनको हत्याले परिवारको आशा र भरोसाको खम्बा नै ढलेको छ ।
आइतबार साँझ, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमपछि उनको शव परिवारलाई जिम्मा लगाइयो । जुन घरमा शनिबार साँझ पूजाको तयारी हुँदै थियो, त्यही घरबाट आइतबार दिनेशको शवयात्रा निस्कियो । परिवारले गह्रुँगो मनका साथ उनको अन्तिम संस्कार गरे ।
यो घटनाले रामधुनीको शिवनगर र वरपरका क्षेत्रमा त्रासको वातावरण सिर्जना गरेको छ । दिउँसै मानिसको चहलपहल हुने बाटोमा यस्तो क्रूर हत्या हुनुले स्थानीयको सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ ।सिङ्गो शिवनगर गाउँ अहिले शोकमा डुबेको छ ।स्थानीयवासी र परिवारजनले हत्यामा संलग्न अपराधीहरूलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाहीको माग गरेका छन् ।
हाम्राेमत दैनिकबाट