इटहरी : नेपाल पत्रकार महासंघ सुनसरी शाखाले प्रेस वक्तव्य जारी गर्दै तथ्यपरक सूचना सहितको सामाग्री मात्र प्रकाशन वा प्रसारण गर्न आग्रह गरेको छ ।
मिथ्या सूचनाले समाजमा भ्रम सृजना हुने र द्वन्द्व बढ्ने भन्दै सामाजिक सद्भाव कायम गर्ने गरी प्रमाणसहितका समाचारमा जोड दिन आग्रह गरेको हो ।
पछिल्लो समय विभिन्न अनलाइन तथा व्यक्तिगत अकाउन्टबाट मिथ्या र भ्रमपूर्ण समाचार प्रकाशन भएको प्रति महासंघ सुनसरीले सचेत गराएको छ ।
जेनजी आन्दोलन पछि पत्रकारिताको आडमा धाकधम्की दिने र नागरिकमा त्रास बढाउने घटनाहरू भइरहेको प्रति महासङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘जेनजी पत्रकार भन्दै प्रशासन, सरकारी निकाय र नागरिकलाई त्रसित बनाउने गरेको गुनासो आएकाले त्यस्ता गतिविधि रोक्न चेतावनी दिन चाहन्छौँ ।
पत्रकारितालाई बदनाम गराउने गतिविधिमा संलग्न जो कोहीलाई कारबाही गर्न प्रशासन लाई आग्रह गर्दै कसैले पत्रकारिताको नाममा बार्गेनिङ गर्ने वा धम्की दिने गतिविधि गरे महासङ्घमा खबर गर्न अनुरोध गर्दछौँ,’ आइतबार जारी वक्तव्यमा भनिएको छ ।
लोकतन्त्रको मुख्य आधार स्तम्भ मानिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर बनाउने उद्देश्यले पत्रकारिता माथि नियोजित रूपमा आक्रमण गर्ने काम भइरहेका महासङ्घले ठहर गरेको छ ।
जननिर्वाचित प्रतिनिधिहरू नै लोकतन्त्रलाई कमजोर बनाउन लागेको प्रति महासंघ खेद व्यक्त गर्दै महासंघ व्यावसायिक पत्रकारको साथमा रहेकाले विचलित नभई रिपोर्टिङ गर्न आग्रह गरेको छ ।