इटहरी : जेनजी आन्दोलनको कारण आगजनीमा परेका प्रहरी कार्यालयको अवलोकन गर्न प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुबेर खापुङ आएका छन् । पूर्व भ्रमणमा रहेका खापुङले आन्दोलनको क्रममा भत्किएका र पुनर्निर्माण भएका कार्यालयको अवलोकन गरेका हुन् ।

सोमबार मात्र झापा, मोरङ र सुनसरीको विभिन्न इलाका र जिल्ला प्रहरीका कार्यालयको निरीक्षण गरे । सोही क्रममा इटहरी पुगेका उनले आगलागीमा परेको भवन र निर्माणाधीन भवन दुवैको अवलोकन गरेका हुन् । इटहरीमा अस्थायी रूपमा रङ्गशालामा रहेका संरचनालाई प्रयोग गर्न लागिएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको भवन जलेर नष्ट भएको छ । हाल अस्थायी रूपमा बसपार्कमा रहेको टर्मिनल भवनलाई प्रयोग गर्ने तयारी भइरहेको छ ।

प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै उनले स्थानीय नागरिकले देखाएको सदाशयता र सहयोगको प्रशंसा गरे । खापुङले कोशी प्रदेश भरिका अधिकांश कार्यालयको निरीक्षक गरेका छन् ।