धरान : भारत सिक्किम विश्वविद्यालय स्नातकोत्तर तहका विद्यार्थीहरूको टोलीले मुन्धुममा वर्णित तत्कालीन लिम्बुवान, कोशी प्रदेश पहाडी क्षेत्रको स्थलगत अध्ययन अवलोकन गरेका छन् । उनीहरूको भ्रमणले प्रदेशको पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास गरिएको छ ।

साता दिनको भ्रमण सकेर फर्कने बेला आज मङ्गलवार लिम्बु पत्रकार सङ्घ सुनसरीद्वारा आयोजित अन्तरक्रियामा उनीहरूले भाषा, संस्कृति र मुन्धुमको पढाइमा आउने स्थलहरूको अध्ययन अवलोकन गर्न आएको बताए ।

विश्वविद्यालय लिम्बु भाषा विभाग प्रमुख सहप्राध्यापक डा. मुगिबहाङ मुरिङलाले भने ‘मुन्धुममा उल्लेख भएका स्थलहरूको भौतिक अस्तित्व अहिले छ छैन भन्ने विद्यार्थीहरूको जिज्ञासा अध्ययन भ्रमणको मुख्य उद्देश्य थियो ।’

लिम्बु भाषा, संस्कृति र इतिहासको अध्ययनको क्रममा पटक पटक आउने मन्धुमी स्थलहरू सबै नेपालको तत्कालीन लिम्बुवान क्षेत्रमा रहेकाले स्थलगत अवलोकन विद्यार्थीहरूका लागि ठुलो चासोको विषय रहँदै आएका उनले बताए ।

विभाग प्रमुख मुरिङलाले भने ‘मुन्धुमी इतिहासका ती स्थलहरूको भौतिक अवस्था अहिले छ कि छैन, छन् भने कस्तो अवस्थामा होला ?’ स्थलगत अध्ययन अवलोकनले भाषिक, सांस्कृतिक अनुसन्धानमा सघाउ पुग्ने उनको भनाई थियो ।

विश्वविद्यालयको टोलीले धरान, धनकुटा, तेह्रथुमका विभिन्न तत्कालीन लिम्बुवानका ऐतिहासिक स्थलहरूको अवलोकन अध्ययन भ्रमण गरेका हुन । प्रदेशको ऐतिहासिक मन्धुमी स्थलहरू अहिले पर्यटकीय स्थलहरू बनेको पाइएको विभाग प्रमुख मुरिङलाको भनाई थियो ।

टोलीमा सहभागी विद्यार्थी लावती लिम्बूले भ्रमणको क्रममा मुन्धुमका ज्ञाताहरूसँग पनि साक्षात्कार गर्ने अवसर पाएको उल्लेख गर्दै भनिन् ‘मुन्धुमी स्थलहरूको अवलोकन मुन्धुमका जानकारहरुसंगको भेटघाटले भ्रमण उपलब्धि मूलक बन्यो । मुन्धुमी स्थलहरूको अवलोकन मुन्धुमका जानकारहरुसंगको भेटघाटले भ्रमण उपलब्धि मूलक बन्यो ।’

लिम्बु पत्रकार सङ्घका केन्द्रीय सल्लाहकार हर्ष सुब्बाले भाषा, साहित्य, संस्कृतिको अध्ययन अनुसन्धानकामा पत्रकारिताको माध्यमबाट गरिने खोजमूलक सामाग्री सहायक बन्न सक्ने बताउँदै पत्रकारितामा लिम्बु समुदायका सक्षम जनशक्तिलाई प्रोत्साहित गरिनु पर्नेमा जोड दिए ।

अभियन्ता जेन्टल लावतीले लिम्बु समुदायका पहिचान जनिज भाषिक, सांस्कृतिक र राजनीतिक अधिकारका लागि भइरहेका आन्दोलनहरूका बारेमा जानकारी दिए । क्षितिज लिम्बू लावतीले लिम्बु समुदायले आर्थिक लगानीको क्षेत्रमा उत्पादनमूलक रणनीति अपनाउनु पर्ने कुरामा प्रकाश पारे ।

लिम्बु पत्रकार सङ्घ सुनसरीका अध्यक्ष स्वर्णिमहाङ लिम्बुले सङ्घले लिम्बु समुदायका भाषिक, सांस्कृतिक, ऐतिहासिक विषयहरूलाई उजागर गर्न पत्रकारिता क्षेत्रलाई उत्प्रेरित गर्न पुरस्कार कोषको लागि एक सुका अभियान सञ्चालन गरेको बारेमा जानकारी गराए ।

सङ्घका सल्लाहकार भैरव आंङ्गलाले स्वागत भाषण गरेको अन्तरकृयाको सहजीकरण अमित थेबेले गरेका थिए । कार्यक्रममा चुम्लुङ केन्द्रीय सदस्य सङ्गीता सुब्बा, केन्द्रीय सल्लाहकार चन्द्रमाया लिम्बु, राष्ट्रिय चुम्लुङ सदस्य ताजुब लिम्बु, जिल्ला अध्यक्ष शिव सुब्बा इस्वो, सदस्यव्दय अमर इजम, सागर सरगम लिम्बु लगायतको उपस्थिति थियो ।