धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक वर्ष २०८१/०८२ एक वर्षका अवधिमा विविध प्रकारका क्यान्सर रोगको ४२५ वटा शल्यक्रिया गरिएको छ । सोही अवधिमा किमो थेरापी लिनेका सङ्ख्या ३ हजार ६५० रहेको प्रतिष्ठानले जनाएको छ ।
प्रवक्ता प्रा.डा.अञ्जु प्रधानद्वारा जारी तथ्याङ्कमा उक्त सङ्ख्या उल्लेख छ । उनका अनुसार प्रतिष्ठानमा आवश्यक सम्पूर्ण प्रविधि, पद्धतिहरू उपलब्धता नभए पनि क्यान्सर उपचारमा उल्लेखनीय भूमिका निर्वाह हुँदै आएको छ ।
हाल प्रतिष्ठानले क्यान्सरको उपचारमा शल्यक्रिया तथा सिस्टेमिक (किमो, हर्मोनल तथा टार्गेट) थेरापी सेवा प्रदान गर्दै आइरहेको र सो को समय सापेक्ष स्तरोन्नति पनि गर्दै आएको उनले जनाएकी छन् ।
क्यान्सरको शल्यक्रियाको तथ्याङ्क अनुसार ब्रेन ट्युमर ४१ जना, थाइरोइड क्यान्सर ५ जना, ओरल क्याभिटीको क्यान्सर ३७ जना, ब्रेस्ट तथा इण्डोक्राइन क्यान्सर ८० जना, स्पाइन ट्युमर ३ जना, मेडियास्टिनल ट्युमर १ जना, ग्यास्ट्रोइन्टेस्टाइनल क्यान्सर ५४ जनाको शल्यक्रिया भएको छ ।
यस्तै हेपाटोबिलियरी एण्ड पेंक्रियाटिक क्यान्सर ३५ जना, रेनल क्यान्सर ६ जना, यूरिनरी ब्लाडर क्यान्सर २४ जना, प्रोष्टेट क्यान्सर ११ जना, ओभेरियन क्यान्सर २५ जना, सर्भाइकल क्यान्सर ८ जना, इन्डोमेट्रियल क्यान्सर १० जनाको शल्यक्रिया भएको छ ।
साथै प्रि क्यान्सर गोइनेकोलोजिकल लिजनको लूप इलेक्ट्रोसर्जिकल इक्सिजन शल्यक्रिया ४० जना, युरेथ्रल क्यान्सर १ जना, पेनाइल क्यान्सर २ जना, भल्भल क्यान्सर ३ जना, बोन ट्युमर २१ जना, अन्य क्यान्सर सम्बन्धित १९ जनाको शल्यक्रिया गरिएको छ ।
शल्यक्रिया बाहेक क्यान्सर रोकथामका लागि प्रतिष्ठानमा सञ्चालित सिस्टेमिक (किमो, हर्मोनल तथा टार्गेट) थेरापी सम्बन्धी सेवामा बहिरङ्ग सिस्टेमिक थेरापी लिनेको सङ्ख्या २ हजार ७२८ जना रहेको तथ्याङ्कमा उल्लेख छ । उक्त सेवा अन्तरङ्ग सिस्टेमिक (किमो, हर्मोनल तथा टार्गेट) थेरापी सेवा लिनेको सङ्ख्या ९२२ जना रहेको जनाइएको छ ।
प्रतिष्ठानले क्यान्सर रोकथाम सम्बन्धी, स्क्रिनिङ्ग ओपिडी, ग्यास्ट्रोइन्टेस्टाइन इन्डोस्कोपी, ब्रेष्ट क्लिनिक तथा ब्रेष्ट क्यान्सर अवेयरनेस प्रोग्राम, भिजुअल इन्स्पेक्स्सन वीथ एसिटिक एसिड, एचपिभिडिएनए टेष्टिङ्ग र कोल्पोस्कोपी सेवा सञ्चालन गर्दै आएको छ ।
प्रतिष्ठानको सेवाले क्यान्सर उपचारको ३ प्रविधि मध्येका २ शल्यक्रिया र किमो थेरापीको उपयोग विशेष गरी देश बाहिर उपचार गराउन जान नसक्ने सर्वसाधारणलाई सहज पहुँच पुर्‍याएको प्रतिष्ठानले विश्वास व्यक्त गरेको छ ।
प्रतिष्ठानले क्यान्सर उपचारका सरोकारवालाहरूलाई क्यान्सर उपचारको तेस्रो प्रविधिको रूपमा रहेको रेडियो थेरापी पनि प्रतिष्ठानमा उपलब्ध रहेको जनाएको छ ।
operation