इटहरी : कोशी प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र इलामलाई सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । असोज १७ देखि २० गतेसम्म आएको बाढीको कारण भौतिक तथा मानवीय क्षति ब्यहोरेको इलामलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर पुनर्निर्माण गरिने भएको हो ।
यही बेला कोशी प्रदेश सरकारले १० लाख पर्यटक ल्याउने योजना सहित घोषणा गरेको पर्यटन वर्ष ओझेलमा परेको छ । प्राकृतिक विपत्ति देखि जेनजी आन्दोलन र सरकारकै आन्तरिक समस्याले पर्यटन वर्ष थला पर्ने अवस्थामा पुगेको छ । उद्घाटन समारोह देखी नै विवादमा पर्दै आएको कोशी पर्यटन वर्षलाई सफल बनाउनुपर्ने विभागीय मन्त्रालयमै समस्या देखिएको हो ।
पर्यटन वर्ष निर्देशक समितिको सदस्य सचिवको समेत जिम्मेवारी लिएका पर्यटन वन तथा वातावरण मन्त्रालय सचिव अहिले कार्यालयमा छैनन् । विवादमै आएर पर्यटन मन्त्रालयका सचिव विशाल घिमिरे सरुवा भएका हुन् । सचिव सरुवा भएको दुई महिना सम्म पनि प्रदेश सरकारले निमित्तको जिम्मेवारी दिन सकेको छैन । पर्यटन वर्ष मनाइरहेको बेला विभागीय सचिवको अभावमा मन्त्रालय चलिरहेको छ । प्रदेश सरकारले निमित्तको जिम्मेवारी समेत प्रवाह गर्न नसकेको स्वयम् मन्त्रीले बताएका छन् ।
मुख्यमन्त्री हिक्मत कुमार कार्की संयोजक रहनेगरि मूल आयोजक समिति छ । त्यस बाहेक निर्देशक समिति देखि विभिन्न उपसमिति गठन भएका छन् । अहिलेसम्म अन्य उपसमितिले एक पटक पनि बैठक बस्न नसकेको समितिकै सदस्यहरू बताउँछन् । समिति सदस्य देखि सरकारका मन्त्रीहरू समेत पर्यटन वर्षको तयारीको विषयमा सन्तुष्ट छैनन् ।
पर्यटन वर्ष २०८२ मार्फत धार्मिक तथा साहसिक पर्यटक नेपाल ल्याउने योजनामा थियो सरकार । भारत, बङ्गलादेश र भुटानका पर्यटक ल्याउने उद्देश्यले सञ्चालित अभियानलाई जेनजी आन्दोलनले थप प्रभावित पारेको छ । भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा मुख्यमन्त्री कार्यालय देखि पर्यटन मन्त्रालय समेत जलेको छ । त्यस बाहेक अन्य विभागीय कार्यालयमा भएको क्षतिको कारण पर्यटन वर्ष अभियान नै स्थगित हुनसक्ने आकलन गरिएको छ ।
पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले आन्दोलन अगाडी नै सचिव सरुवा भएपछि धेरै कामहरू प्रभावित भएको बताउँछन् । मन्त्रालय जलेर नष्ट भएको अवस्थामा कसरी काम गर्ने भन्ने केही सोच्नै नसकिएको उनले बताए । उनले भने, ‘निमित्त समेत तोक्न सकिएको छैन । अब हामी सरकारको छलफल गरेर नयाँ सचिव ल्याउन पहल गर्छौँ । मन्त्रालय नै जलेर नष्ट भएको कारण के गर्ने कसो गर्ने अलमलमा परिएको छ ।’
पर्यटन वर्ष तोकीएपनि कसरी पर्यटक ल्याउने बारे अन्योल छन् मन्त्री मण्डल । आन्दोलनको कारण पर्यटकहरू आउन नमानेको र बाढी पहिरोले पर्यटकीय क्षेत्रमा क्षति पुगेको कारण थप छलफल जरुरी रहेको उनले बताए ।
कोशी सरकारले पर्यटन वर्ष मनाइरहँदा स्वदेशी तथा विदेशी आगन्तुकले धमाधम बुकिङ रद्द गर्न थालेका छन् । इटहरीमा सञ्चालित सोल्टी वेस्टेण्डमा पनि बुकिङ रद्द भइरहेका छन् । जेनजी आन्दोलन पछि कर्पोरेट इभेन्ट्सहरु धमाधम रद्द भएको म्यानेजर निगम खनालले बताए ।
आगामी सेप्टेम्बरमा मात्र कर्पोरेट ७ वटा अन्य विदेशी आइएनजीओको कार्यक्रमहरू स्थगित भएको उनको भनाइ छ । त्यसबाहेक कोशी पर्यटन वर्ष आधारित अहिलेसम्म एक जना पनि पर्यटकले होटेल बुक नगरेको खनालले प्रस्ट पारे ।