धरान : धरान-१४ को खत्रीधारा दाहसंस्कार स्थलमा कोरोना सङ्क्रमित भएर मृत्यु भएकाको दाहसंस्कार गर्न स्थानीयले अवरुद्ध गरेका छन् । 

धरान-१४ र १५ को सङ्गम स्थलमा रहेको खत्रीधारा दाहसंस्कार स्थलमा कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको दाह संस्कार गरिएकोमा स्थानीय बासिन्दाहरूले आपत्ति जनाएका हुन ।

Khatridhara-1

धरान उपमहानगरको शव व्यवस्थापन समितिले खत्रीधारा, हरियाली र लाङघालीमा कोरोना सङ्क्रमणबाट मृत्यु भएपछि  परिवारहरूले धार्मिक परम्परा अनुसार शव जलाउन वा गाड्न पाउने जनाएको थियो । 

२०७८ वैशाख २३ गते खत्री बम खानेपानी संस्थाका कर्मचारी र झिँगु समाजका कर्मचारी सन्दीप थापा र कर्ण खड्कालाई जानकारी नदिईकन धरान-३ की एक महिला कोरोना सङ्क्रमणबाट मृत्यु भए पछि  आफन्तले खत्री धारामा अन्तिम दाह संस्कार गराएका थिए । 

Khatridhara-4

कोरोना सङ्क्रमित महिलाको शव जलाएर दाह संस्कार गरेको कुरा थाहा पाए पछि स्थानीय बासिन्दाहरूले आपत्ति जनाएर आन्दोलित भएका हुन भने कर्मचारी थापा र कर्णलाई  जानकारी नदिएकाले सबैतिर घुलमिल भएकाले उनीहरूको पिसिआर परीक्षण गर्न पनि माग गरेका छन् । 

शनिवार साँझ धरान-१६ का एक संक्रतिको शव ल्याएर जलाउने भएपछि स्थानीयले दाहसंस्कारमा अवरोध गरेका छन्। खत्रीधारामा दाहसंस्कार गर्न स्थानीयले नदिए पछि शवको चारकोशे जङ्गलमा दाहसंस्कार गरिएको नगर प्रहरी प्रमुख विष्णु कोइरालाले जानकारी दिए ।

स्थानीयहरूलाई असर गर्ने तथा शव त्यहाँ ल्याउँदा स्थानीयलाई सङ्क्रमणको त्रास हुने पर्वत राईले बताएका छन् । उनले खानेपानीको पनि मुहान खत्री धारामा भएकाले मानिसको बसोबास नभएको जङ्गल क्षेत्रतिर शवको दाह संस्कार गराउन माग गरेका छन् । 

मृतक सङ्क्रमितबाट भाइरस सर्ने डर नहुने धरान स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहता बताउँछन् । जब  सङ्क्रमितको मृत्यु हुन्छ भाइरस पनि निष्क्रिय हुने भएकाले ९० प्रतिशत भाइरस नसर्ने उनले दाबी गरे । 

Khatridhara-3

धरानका मेयर तिलक राईले सबै सङ्घ संस्था र उपभोक्ता समितिले हस्ताक्षर गरेर सहमतीका आधारमा सङ्क्रमितको  लागि दाह संस्कार स्थल तोकेको बताए ।

यस विषयमा मेयर राई भन्छन् 'स्थानीयमा सङ्क्रमित र मृतक सङ्ख्या बढे पछि एक प्रकारको त्रास बढेको हुन सक्छ हामी सल्लाह गर्छौं ।'