धरान : जेन-जीको नाममा भदौ २३ र २४ गते भएको तोडफोड, लुटपाट, आगजनीजन्य फौजदारी अपराधमा संलग्न जोकोहीलाई तत्काल अनुसन्धान र कारबाही गर्न प्रहरी, प्रशासनले उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन पर्खनु नपर्ने भएको छ ।

‘भाद्र २३ र २४ को घटना सम्बन्धी जाँचबुझ अयोग २०८२’ द्वारा आज मङ्गलवार प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी सार्वजनिक गरेको हो ।

विज्ञप्तिमा भनिएको छ ‘सो सम्बन्धमा फौजदारी कसुरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने ब्यहोरा सूचित गरिएको छ ।’

आयोगले २०८२ भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौँ लगायत मुलुकका विभिन्न भागमा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गर्ने कार्य असोज ९ गते देखी प्रारम्भ गरेको जनाएको छ ।

यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ बमोजिम आयोग गठन भएको जनाउँदै विज्ञप्तिमा फौजदारी कसुरमा संलग्नहरूलाई तत्काल अनुसन्धान गरी कारबाही गर्न आयोगको प्रतिवेदन पर्खन नपर्ने स्पष्ट गरिएको हो ।

जेन-जीको नाममा धरानमा भदौ २४ गते धरानमा व्यक्तिगत घर, सम्पत्ति, होटेल र व्यवसायी केन्द्र तोडफोड, लुटपाट र आगजनी गरिएको थियो ।

त्यसमा संलग्नहरूको नाम किटान सहित पीडितहरूले इलाका प्रहरी कार्यालयमा किटान जाहेरी दिएका छन् । आयोगको विज्ञप्तिले अब प्रहरीलाई अनुसन्धान प्रक्रिया अघि बढाउन बाटो खोलेको छ ।

आयोगको विज्ञप्तिमा गृह मन्त्रालयबाट असोज ९ गते जारी विज्ञप्तिमा ‘नेपाल सरकारको कानुन बमोजिम गर्ने’ भन्ने कार्यदिशाप्रति आयोगको ध्यानाकर्षण भएको उल्लेख छ ।

विज्ञप्तिको पुरा विवरण :

aayog-PR