धरान : असोज १८ र १९ गतेको अविरल वर्षाले कोसी प्रदेशका अधिकांश जिल्लाहरू प्रभावित बनेका छन् । विशेषगरी इलाम, मोरङ, सुनसरी र झापा जिल्लामा मानवीय तथा भौतिक क्षति बढी मात्रामा भएको छ ।
विपद्को अवस्थामा नेपाली सेनाले हवाई तथा स्थलीय फौज परिचालन गरी विभिन्न स्थानमा उद्धार, तटबन्ध निर्माण तथा शव सङ्कलनजस्ता महत्त्वपूर्ण कार्य सम्पन्न गरेको छ । सो अवधिमा करिब ६०८ जना प्रभावित व्यक्तिहरूको सफल उद्धार गरेको नेपाली सेना पूर्वी पृतना हेडक्वाटरले जानकारी दिएको छ।
यसबाहेक, सम्भावित क्षतिको जोखिमलाई न्यूनीकरण गर्न पूर्वी पृतना हेडक्वाटरबाट संवेदनशील स्थानहरूमा सेनाको पूर्व तयारी तैनाथी तथा हवाई साधन स्ट्यान्डबाई राखिएको थियो । यसले उद्धार कार्यलाई सहज बनाउँदै क्षति कम गर्न निर्णायक भूमिका खेलेको सेनाले जनाएको छ ।



































































