धरान : जिल्ला प्रशासन कार्यालय सुनसरीले आज देखि लागु हुने गरी १३ बुँदे आदेश जारी गरेको छ ।

नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको जोखिम सुनसरी जिल्लामा पनि बढ्दै गएको हुँदा उक्त संक्रमणको रोकथाम र नियन्त्रणका लागि केन्द्रीय कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस र गृह मन्त्रालयको पत्र बमोजिम तथा जिल्ला कोभिड-१९ व्यवस्थापन समिति, सुनसरिको निर्णय साथै सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी अर्को आदेश नभए सम्मको लागि आज देखि यस जिल्लाभर लागू हुने गरी १३ बुँदे आदेश जारी गरेको हो ।

कोभिड-१९ संक्रमणको जोखिमलाई ध्यानमा राखी तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्डहरू(मास्कको उचित प्रयोग, स्यानिटाइजरको प्रयोग र भौतिक दुरी कायम) अनिवार्य रूपमा पालना गर्ने गराउने, २५ जना भन्दा बढी सहभागी हुने भिडभाडजन्य मेला महोत्सव, सभा, सेमिनार गोष्ठी लगायतका कुनै पनि कार्यक्रम नगर्ने नगराउने नगरी नहुने नियमित कार्यक्रमको हकमा तोकिएको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण रूपमा पालना गरी भिडभाड नहुने प्रबन्ध मिलाई स्थानीय प्रशासनलाई जानकारी गराएर मात्र गर्ने आदेशमा भनिएको छ ।

यसै गरी माघ १ गते देखि सार्वजनिक सेवा (कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रङ्गशाला आदि) आदी प्रवेशका लागि कोभिड खोपको कार्ड अनिवार्य रूपमा (मोबाइलमा फोटो भए पनि हुने देखाउने व्यवस्था लागू गर्ने गराउने व्यवस्थाका लागि जिल्ला स्थित स्थानीय तहहरूले सेवा प्राप्तिको सिफारिस गर्दा वा सेवा प्रवाह गर्दा खोप कार्ड अनिवार्य भएको ब्यहोरा सम्बन्धित सेवाग्राहीलाई जानकारी गराई मात्र सेवा उपलब्ध गराउने उल्लेख छ ।

यस्तै जिल्लास्थित सेवा प्रदायक निकायहरूले सेवा प्रवाह गर्दा सम्भावित सङ्क्रमण जोखिमलाई ध्यानमा राखी तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी गराई उपलब्ध खुल्ला स्थानको अधिकतम उपयोग गरी सकेसम्म खुल्ला स्थानबाट सेवा प्रवाहको व्यवस्था मिलाउने, कोभिड सङ्क्रमित व्यक्तिहरूको उपचारका लागि विगतमा सञ्चालनमा भएका आइसोलेसन सेन्टरहरू सम्बन्धित सरोकारवाला निकायहरूले आपसी समन्वय गरी सञ्चालनका लागी तयारी अवस्थामा राख्ने, जिल्लाको कुनै क्षेत्रमा कोभिड सङ्क्रमण देखिएमा स्थानीय अवस्था हेरी जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि, २०७८ बमोजिम सम्बन्धित स्थानीय तहले जोखिमको अवस्था विश्लेषण गरी यस कार्यालयलाई जानकारी गराउने आदेशमा उल्लेख छ ।

सबै आधारभूत तथा माध्यमिक विद्यालयहरू सञ्चालनको हकमा नेपाल सरकार, शिक्षा मन्त्रालयको निर्णयअनुसार गर्ने, विश्वविद्यालय, क्याम्पस लगायत सबै शैक्षिक प्रतिष्ठानका पूर्व निर्धारित सेमेस्टर र वार्षिक परीक्षाहरू जनस्वास्थ्य र सुरक्षा मापदण्ड पालना हुने गरी सिफ्ट अनुसार जेड आकारमा बसाइँको व्यवस्था गरी सञ्चालन गर्ने । परीक्षा केन्द्रमा मास्क र स्थानीटाईजरको प्रयोग अनिवार्य गर्ने र भौतिक दुरीको प्रावधान कडाइका साथ परिपालना गर्ने ।

सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीको बढी चाप हुने कार्यालयहरू (जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, यातायात व्यवस्था कार्यालय सबै आन्तरिक राजश्व कार्यालय, बैङ्क तथा वित्तीय संस्था आदी) मा भिडभाड नहुने उपयुक्त तरिका सम्बन्धित कार्यालय प्रमुखले अवलम्बन गरी गराई स्वास्थ्य मापदण्डको पालना हुन गरी सेवा प्रवाहको प्रबन्ध मिलाउने आदेशमा उल्लेख छ ।

औद्योगिक तथा व्यवसायी संस्था, फर्म, तथा पसलहरूले जनस्वास्थ्यका निर्धारित मापदण्ड अनिवार्य रूपमा पालना गरी/गराई औद्योगिक तथा व्यवसायी गतिविधि सञ्चालन गर्ने, औषधी लगायत अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सृजना गर्ने, मूल्य वृद्धि गर्ने, लुकाउने, सहज आपूर्तिमा अवरोध गर्ने उपर कानुन बमोजिम कारबाही गर्ने, कोभिड-१९ को सम्भावित तेस्रो लहरबाट जोगिन उपयुक्त स्वास्थ्य सतर्कता अपनाउने र जनस्वास्थ्य मापदण्डको कडाइका साथ पालना गर्ने गराउने सम्बन्धित सूचना प्रकाशन तथा प्रसारणका लागि जिल्ला स्थित सबै स्थानीय तह, सञ्चार माध्यमहरूलाई विशेष अनुरोध गर्ने आदेशमा उल्लेख छ ।

सवारी साधनको हकमा जिल्ला भित्र सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधनमा सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, सबै यात्रुहरूले अनिवार्य रूपमा मास्क लगाउने , मास्क नलगाउने यात्रुहरूलाई सवारी साधनमा प्रवेश गर्न रोक लगाउने । चालक र सहचालकले अनिवार्य मास्कको प्रयोग गर्ने । सवारी साधनको ढोकामा स्थानीटाईजरको व्यवस्था गर्ने र सवारी साधन दैनिक रुपमा निसंक्रमित गर्नुपर्नेछ ।

यसै गरी कोभिड-१९ सम्बन्धी आदेशको प्रभावकारी पालना सम्बन्धमा सुरक्षा निकायबाट नियमित तथा आकस्मिक अनुगमन गरिने छ । अनुगमनका क्रममा यस आदेशको अवज्ञा भएको पाइएमा सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही हुने जिल्ला प्रशासन कार्यालयको आदेशमा उल्लेख छ ।

JIPRAKA-1 JIPRAKA-2