तिहार धार्मिक तथा सांस्कृतिक महत्वको पर्व हो, जसले अध्यारोबाट उज्यालोतर्फ, अभावबाट समृद्धितर्फ, निराशाबाट आशातर्फ र दुःखबाट सुखतर्फ ल्याउन अभिप्रेरित गर्ने जनविश्वास छ । विशेषगरी तिहार कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि पाँच दिनसम्म मनाइन्छ, जसलाई यमपञ्चक पनि भनिन्छ । धार्मिक मान्यताअनुसार, मृत्युका देवता यमराज आफ्नी बहिनी यमुनाको निम्तोलाई स्वीकार गरी पृथ्वीलोकमा आउने विश्वास गर्दै यमपञ्चक मनाइने गरीन्छ । परापूर्वकालमा यमुनाले सधैँ व्यस्त रहने आफ्ना दाजुलाई आफ्नो घर बोलाउन चार दिनसम्म लगातार काग, कुकुर, गाई र गोरुमार्फत निम्तो पठाएकी थिइन् । र, पाँचौँ दिन यमराज यमलोकबाट बहिनीलाई भेट्न पृथ्वीलोक आएका थिए । त्यसै दिनदेखि हिन्दू धर्मावलम्बीले लगातार काग, कुकुर, गाई, गोरु र भाइको पूजा गर्दै आएको धार्मिक किवंदन्ती छ । यसैलाई आजभोलि तिहार वा दीपावलीका रूपमा मनाइन्छ ।

त्यसैले साक्षात् मृत्युका देवताको सम्मानमा दीप जलाई वर्षभरि घरभित्र प्रवेश नगरी अपमृत्यु, दुर्घटना आदि नगर्न आग्रह गर्दै दीपावली गरिन्छ । काग र कुकुरलाई यमपाशबाट जोगाउन सक्ने दूतका रूपमा पूजा गरिन्छ भने आर्यवेदका देवता धनवन्तरीलाई समेत सिद्धि र आरोग्य प्राप्तिका लागि पूजा गरिन्छ । यसैगरी गाईलाई लक्ष्मीका रूपमा पूजा गर्ने चलन छ ।

“नयाँ पत्रिकाबाट साभार गरिएको”