'दलालहरु मृत्युको ब्यापार गर्दा रहेछन्'

  • चैत्र २३, २०७६
  • ३८८४ पटक पढिएको
  • प्रा. डा. राजेन्द्र शर्मा
alt

कोरोना त्रासः
अहिले संसारभर कोरोनाको महामारीले विश्व आक्रान्त छ । चीनबाट सुरु भई गत २०१९ डिसेम्बरमा पत्ता लागेको कोरोना भाइरसले आज अप्रिल ५ को बिहानीसम्म आइपुग्दा झण्डै १२ लाखलाई संक्रमण गराइसकेको र यसले विश्वभरिबाट झण्डै ६५ हजार जीवन समाप्त पारिसकेको छ । सामाजिक दुरी कडाईका साथ पालन गरेका देशहरुमा यसको फैलावटको गति सुस्त छ भने सामाजिक दुरीलाई कडाई नगरेका र खेलाँचीको रुपमा लिएका मुलुकहरु यतिबेला भाइरसबाट आफ्ना नागरिकको सुरक्षा गर्न संघर्षरत देखिएका छन् । धन¸ भौतिक सुविधा र प्रविधिको पर्याप्तता जस्ता कुराहरु आज कोरोनाको नियन्त्रणमा पर्याप्त सहयोगी हुन सकीरहेका छैनन् । त्यसैले संसार अहिले एउटा कुरामा सहमत देखिएको छ कि ‍औषधी पत्ता लागि नसकेको अहिलेको अवस्थामा थप मानिसहरुमा यसको संक्रमण हुन नदिन सामाजिक दुरीको विकल्प छैन । झन नेपाल जस्तो गरीब देश¸ जहाँ हामीसंग औंलामा गन्न सकिने संख्यामा मात्र भेण्टिलेटर सुविधा छ¸ कोरोनाले व्यापक रुप लियोभने न हामी कोरोना परीक्षण गराउने किट जुटाउन सक्छौं न त स्वास्थ्यकर्मीलाई सुरक्षित बनाउने पिपिई नै ल्याउन सक्छौं । संक्रमितका लागि राम राम भन्नु बाहेक हामीसंग अर्को विकल्प नै हुनेछैन । एउटा भयावहको स्थितिमा हामी पुग्छौं । त्यसैले सामाजिक दुरीको कडाइका साथ पालन गर्ने र गराउने यो नि:शुल्क उपाय हाम्रा लागि अति नै आवश्यक पनि हो । किनभने हामीसंग 'न धन छ, न त प्रविधि' ।

नियन्त्रण र कमिसन चासोः
यो विश्वभर फैलिएको महामारीको आगोबाट बच्न हाम्रो देशले पनि पटक पटक गरेर चैत्र ११ गतेदेखि चैत्र २६ सम्म लकडाउनको घोषणा गरिसकेको छ । यसलाई अरु बढाउने र कडाई गर्ने काममा सरकार अझै पछि त नपर्ला तर सरकारको पछिल्लो निर्णय जसमा कारखाना र ठूला परियोजना नियन्त्रित रुपमा खुल्न दिने कुरा उल्लेख थियो त्यो अलिक हतार गरिएको झैं लाग्छ यतिबेला । नेपालमा पहिलोपल्ट देशभित्रै संक्रमित व्यक्तिबाट अर्का व्यक्तिमा संक्रमण हिजो नै फेला परेकोले नेपाल अब बोर्डर पारीबाट आएका संक्रमितहरु मात्र भएको अवस्थाबाट दोस्रो चरणको अवस्थामा प्रवेश गरेको छ । यसलाई त्यति मै सीमित राख्न पनि लक डाउनलाई अरु कडा पार्नु जरुरी छ ।
यस्तो परिस्थितिमा पनि परीक्षण गर्ने किट र पिपिइ पनि कमसल र नक्कली अथवा गुणस्तरहीन पाइनुले त्यस्ता बस्तुका उत्पादक र व्यापारीहरुको नैतिकता संगै ती बस्तु खरीद गर्ने संझौताकर्ताको नैतिकताको पनि प्रश्न उठीरहेको छ । तर यो घटना नेपालमा मात्र नभएर चीनमा बनेका त्यस्तै सामान गुणस्तरीय नभएको भनी फ्रान्सले पनि फर्काएको समाचार सार्वजनिक भएको छ । मानव जाति नै संकटमा परेको घडीमा समेत उद्योगी-ब्यापारी/ दलाल/ मध्यस्थकर्ता/ ब्युरोक्रेट/ नेता अझै कमिसनको चक्करमा तल्लीन देखिनुले यस गोलार्द्धको सर्वोत्कृष्ट प्राणी हो मानव भन्ने तर्कलाई ठूलो चुनौति दिएको र उपहास गरेर गिज्याईरहे जस्तो लाग्छ । अझ नेपालमा यो खरीद प्रकृया विवादमा परेपछि गैह्र सैनिक कृयाकलापमा सेनाको प्रयोग गर्ने गलत परिपाठीलाई प्रश्रय दिइएको खबर सार्वजनिक भएको छ । सेना फेरि कुन दूधले नुहाएको संस्था हो र ? सेनाको बाटो पकड्ने एकमात्र उद्देश्य के हुनसक्ला भने¸ सेनालाई अख्तियार लाग्दैन । काले काले मिलेर खाँउ भाले नहोला भन्न सकिन्न ।

अलपत्र नागरिकको सुरक्षाः
संसारका अरु मुलुकहरुले अलपत्र परेका आफ्ना नागरिकलाई उनीहरुले चाहेभने आफ्नु मुलुक फर्काउने गरेका छन् र फर्काई रहेका पनि छन् । नेपालले चीनको वुहानबाट पहिलो चरण मै आफना नागरिकहरुको उद्धार गरेर आफ्नो सक्षमता प्रमाणित गरिसकेको छ । अब संसारभर छरिएका आफना नागरिकको सुरक्षा र संरक्षण गर्ने उपायका बारेमा पनि नेपालले सोच्न ढिलो गर्नु हुदैन । सम्बन्धित राष्ट्रसंग G2G विधिबाट तत्काल वार्ता गर्ने¸ जो जो जहाँ जहाँ छन् तिनलाई त्यहीँको सरकारले हेरचाह गरिदिने र त्यसको फर्छयौट नेपालले गरिदिने नीति अवलम्बन गर्नु बुद्धिमानि हुन्छ ।

वितरण र आपूर्तिमा हस्तक्षेपः
लक डाउनले सिर्जना गरेको दैनिक उपभोग्य बस्तु तथा औषधीको अभाव र बजार सन्तुलन कायम गर्न सरकारले सामानको भण्डारण¸ ढुवानी¸ आपूर्ति र व्यवस्थापनमा हस्तक्षेपको नीति लिनुपर्छ । परिआए अत्यावश्यक सेवाका क्षेत्रहरुलाई राष्ट्रियकरणको लागि पनि सरकार तयार हुनुपर्छ । हामीलाई के थाह छैन भने यो सङ्कटको आयु कति लामु हुनेछ । त्यसैले सरकारले यस्ता जटिल समयमा पूर्ण-अभिभावक बन्ने मौका चुक्न दिनु हुदैन । समाजवादी वितरण तथा पूँजी निर्माणको सुनौलो मौका हुनसक्छ यो विपत्ति पनि । सरकारले गृहकार्य प्रारम्भ गर्नुपर्छ । दैनिक श्रम गरेर गुजारा गर्ने विपन्नहरुका लागि विशेष राहत कार्यक्रम स्थानीय सरकारको अगुवाई र समाजका दाताहरु समेतको सहकार्यमा देशव्यापि जालो बनाउनु जरुरी छ ।

कृषिक्षेत्रको सुरक्षाः
कृषिप्रदान देशका हामी नेपालीको दोस्रो ध्यान दिने क्षेत्र कृषि हो । कृषिको उत्पादकत्व कायम राख्न कृषि क्षेत्रमा  अनुदान¸ कृषि ऋण/कर्जा जस्ता कुराको तयारी सुरुगर्नु जरुरी छ । पशुपालकहरुलाई परेको पीडा तत्कालै राहत तथा आपूर्ती प्रदान गरेर सुरु नगरे पशुहरुको विचल्ली हुनेकुरा निर्विवाद छ । मानव ज्यान जोखिममा परेका बेला पशुहरुको ज्यान पनि उत्तिकै जोखिममा छ । दूध¸ अण्डा¸ कुखुरा¸ फलफूल तथा तरकारी नासवान प्रकृतिका हुन्छन् । उत्पादकसंग समन्वय गरेर वितरण प्रणालीमा त्यसलाई जोड्न सरकारले नै पहल गरेन भने उत्पादित बस्तु नोक्सान हुने र आवश्यक पर्नेले नपाउने एउटा जटिल अवस्था सिर्जना हुन्छ । त्यसैले उत्पादन र वितरणको सन्तुलन कायम गराउन कृषिमा सरकारको जबरजस्त हस्तक्षेप जरुरी छ ।

शवदाह र विश्वले सिकाएको पाठः
इटालीले हामीलाई सिकाएका पाठहरु मध्ये शवदाह तथा व्यवस्थापनको पाठ पनि महत्वपुर्ण छ । संक्रमितहरुको मृत्यु पश्चात तिनीहरुको अन्त्येष्टि अनिवार्य हुन्छ जो सुरक्षित पनि हुन जरुरी छ । किनभने संक्रमणको खतरा शवदाहका समयमा पनि मलामीहरुमा उत्तिकै हुन्छ । त्यसलाई जोगाउन आजै योजना बनाउनु जरुरी हुन्छ एउटा इन्सिनरेटर यसक्षेत्रमा तत्काल जडान गर्नुपर्ने हुनसक्छ । मुलुमभरी धेरै सहरका आसपासका दाहस्थलहरुमा स्थानीय प्रविधिबाटै बनाइएका इन्सिनरेटरहरु जडानको काम  गर्नुपर्ने हुन्छ ।

फजुल खर्चमा कटौतिः
महामारी वा युद्धका समयमा बजार ओह्रालो लागेको हुन्छ । मन्दीको समयमा उत्पादकत्व घटेर धनको सिर्ना कमजोर भएको हुन्छ । राष्ट्रिय तथा उद्यमक्षेत्रको बचत नकारात्मक हुन्छ । सामग्रीको आपूर्ति कम हुनुबाट सिर्जित अभावले बजार भाउ आकासिएको हुन्छ । सबै सूचकाङ्कहरु ओह्राले लागेका हुन्छन् । यस्तो बेलामा व्यक्ति¸ परिवार¸ समुदाय¸ समाज र राष्ट्रले फजुल खर्च कटौति गरेन भने एकातिर वृद्धिदर ओह्राले लाग्नु¸ उत्पादन नहुनु र धन नकारात्मक हुनुले कुल गार्हस्थ उत्पादन तथा बचत घट्न गई प्रति व्यक्ति आय घट्न थाल्छ । गरिबीको रेखामुनि आज पनि झण्डै २५ प्रतिशत जनता रहेको हाम्रो देशमा त्यसको संख्या अरु बढ्ने खतरा यो महामारीले उब्जाएको छ ।

आर्थिक मन्दी र विप्रेषणमा गिरावटः
अन्तराष्ट्रिय मुद्रा कोषले विश्वको अहिलेको अवस्थालाई विश्वयुद्धका बेलाको जस्तो तयार रहन संसारका सबै देशलाई आह्वान गर्नुले निकट भविष्यमा नै विश्व आर्थिक मन्दीको चपेटामा पर्नसक्ने संकेत गरेको छ । संसारभरी चलेको लक डाउनका कारण सम्पूर्ण उत्पादन प्रणाली अवरुद्ध भएपछि रोजगारीका अवसरहरु घटेका र विश्व नै अब अल्प रोजगारीको अवस्थामा वा वेरोजगारहरुको ठूलो भार बहन गर्नुपर्ने वाध्यतामा प्रवेश गरिरहेको छ । यस्तो हालतमा नेपाल जस्तो मुलुक जसका झण्डै ५० लाख कामदार विदेशमा काम गर्छन् । उनीहरुले सफेद मार्गबाट पठाएको विप्रेषणको मात्र हिसाब गर्ने हो भने पनि¸ गत आर्थिक वर्षमा ७.२२ बिलियन डलर बर्थात हाम्रो कुल गार्हस्थ उत्पादनको झण्डै २५ प्रतिशत रकममा अब आगामी वर्ष भारी गिरावटको संभावना देखिएको छ । विदेशबाट रोजगारी गुमाएर घर फर्किने ती तमाम नेपाली कामदारहरुको व्यवस्थापन हाम्रो देशका लागि अर्को ठूलो चुनौति हुने संत्रास हाम्रो सामु छ । सकारात्मक रोजगारीमा ठूला ठूला आयोजना निर्माण तथा कलकारखाना सञ्चालनका वृहद योजना बनाउन सकियो भने उक्त चुनौति भावी वर्षहरुमा नेपालको लागि अवसर सावित हुन पनि सक्छ । तर योजना विहीन चुप लागेर बसियो भने राष्ट्रका लागि वेरोजगारी एउटा समस्या र त्यसले जन्माउने विविध सामाजिक हिंसा तथा अपराध अर्को ठूलो पहिरो बन्न सक्छ नेपाललाई ।

कोरोनाको लक डाउन र आर्यघाटको शान्तिः
भर्खरै प्रकाशित नेपाली मिडियाले कोरोनाका कारण देश लक डाउनमा गएपछि विभिन्न क्षेत्रमा परेका असरहरुको विश्लेषण गर्ने क्रममा काठमाण्डुको पशुपति स्थित आर्यघाटको चित्रण बडो अनौठो र गजबको छ । सारा संसारमा कोरोनाको त्रास छ । नेपालमा पनि निजी अस्पतालहरु बिरामी लिन मानिरहेका छैनन । बरु बिरामीलाई फोनबाटै सल्लाह दिइरहेका छन् । अस्पतालका बेडहरु रित्ता छन् । तर घर-घर मै बसीरहेका नेपालीहरुको मृत्युदर एक्कासी घटेको छ । आर्यघाटमा दैनिक २५ ओटासम्म ल्याइने गरेका शवहरु अहिले स्वात्तै घटेर ८-९ ओटामा आएको छ अरे । के अस्पतालले बिरामी भर्ना गर्न नमान्दा चैं यसरी दैनिक मर्नेहरुको संख्या घट्नुले एउटा अनौठो प्रश्न खडा गर्दैन त? कतै अस्पताल नै पो पैसा होउञ्जेल चुस्ने र मर्नु नपर्ने बिरामीलाई मार्ने अड्डा त हैनन्? यस घटना र खबरले नेपाली अस्पतालहरुको गतिविधि माथि कडा निगरानी र अनुगमन गर्नुपर्ने खाँचो सरकारका सामु देखापरेको छ । यसै छाडा छोडेर निजी अस्पताललाई नेपालीको धन र स्वास्थ्यमाथि खेल्न दिइरहनु हुदैन होला । लक डाउन र कोरोना त्रासले पर्दाको पछाडि उब्जन सक्ने यस्तो अर्को पाटो तर्फ पनि राज्यलाई सतर्क/सचेत गराएको छ ।

कष्ट र पाठः
भयावह स्थितिको सिर्जना गरेको कोरोना भाइरसले संसार कै जनजीवन प्रभावित बनाएको छ । नेपालको जीवन पद्धतिलाई पनि यसले नराम्री गाँजेको छ । धेरै कष्टकर जीवन बाँचिरहेका अति विपन्न र विपन्न नेपालीहरुलाई अझै हातमुख जोड्न नसक्नेगरी थलाएको छ । मध्यमवर्गीय परिवारहरु पनि उठ्न नसक्ने गरी आर्थिक भारमा जाकिएका छन् । कोरोनाले¸ बाँचिने हो कि मरिने हो¸ भन्ने एउटा त्रास बिहान जुरुक्क उठ्तादेखि बेलुका सुत्न ओछ्यानमा पस्दासम्म जीवित रहने गरी हाम्रो जीवनलाई लाचार र कष्टकर पारेको छ । त्यसका बाबजुद केही सकारात्मक पाठहरु पनि यो कष्टको घडीले सिकाएको छ । हाम्रो खानपान, रहनसहन, दैनिकी, स्नेह, सहृदयता, एकआपसमा मेलमिलाप, आपसी सहयोग, सामाजिक भावना, पारिवारिक एकता, स्वस्थकर जीवन प्रणाली तथा मितव्ययिता जस्ता कुराहरु "ग्याजेट जीवन" बाँचीरहेका हाम्रा आधुनिक युवा एवम् बालबालिकामा चेतना भरिदिएको छ । यो पाठ दीर्घकालिक बनोस भन्ने शुभेच्छा सहित कोरोनाको कहर/ त्रास यो विश्वबाट चाँडो भन्दा चाँडो अन्त्य होस् कामना व्यक्त गर्दछु । आ-आफ्नो घर बाहिर कोही पनि ननिस्की दिनुहोस् । सामाजिक दुरी नै यसबाट आफू बच्ने एकमात्र उपाय हो । आफूले नचिनेका मानिस छर छिमेकमा आए भने सोधी खोजी गर्नुहोस् र बाहिरबाट आएका मानिस कहीँ पनि देख्नु भयो भने उहाँलाई पनि बचाइदिनुस आफू पनि बच्नुहोस् ।

अस्तु
२०७६ चैत्र २३

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • बिनय बाह्रकोटी (ईटहरी)
  • कृष्ण 'बहाब' भट्टराई (इटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • बिज्ञापन प्रमुख सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved