राई जातिको साझा संस्था किरात राई यायोक्खाको १० औं राष्ट्रिय महाधिवेशन फागुन १८, १९ र २० गते धरानमा हुदैछ । यो महाधिवेशनमा देशभरका २६ जिल्ला कार्यसमिति, २८ भाषिक तथा थरगत संस्था, ८ भातृसंगठन, ७ सम्बन्धन संस्था र प्रबासमा रहेका शाखाहरुबाट पनि हजार बढी प्रतिनिधि तथा पर्यवेक्षकहरु सहभागी हुदैछन् । ‘इतिहास, भूगोल, संस्कृति र सभ्यताको सम्मान, एक नम्बर प्रदेश ‘किरात’ प्रदेश समग्र देशबासीको आह्वान’ भन्ने नाराका साथ हुन लागेको राष्ट्रिय महाधिवेशनको सन्दर्भमा यायोक्खाका केन्द्रीय अध्यक्ष तिलक राईसंग कपुरीकर्मी बसन्त बान्तवा राईले गरेको कुराकानी प्रस्तुत छ:

प्रश्न: १० औं राष्ट्रिय महाधिवेशन नजिक आइसक्यो, तयारी कस्तो भइरहेको छ ?

: किरायाको १० औं राष्ट्रिय महाधिवेशन प्रस्तावित किरात प्रदेशको सुन्दर नगरी धरानमा भब्य तयारी लगभग पुरा गरिसक्यौ । विभिन्न समिति, उपसमितिहरुले आ–आफ्नो जिम्मेवारी अनुसार काम गरेका छन् । संस्थाको सांगठनिक प्रतिवेदन, प्रगति प्रतिवेदन, विद्यान मस्यौदा समितिको प्रतिवेदन, राजनीतिक प्रतिबेदन तयार भइरहेको छ । प्रदेश १ को १४ जिल्लासहित उपत्यकामा मातहतका सबै प्रारम्भिक समितिमा हाम्रो प्रचारप्रसारको पर्चा पम्प्लेटहरु तीब्ररुपमा भयो । स्थानीय पत्रपत्रिका, एफएम, सामाजिक सञ्जालबाट प्रचार भइरहेको छ । यसपटक सबै विकल्पहरु प्रयोग गरेर प्रचार गरिरहेका छौं ।

प्रश्नः यसपटक प्याराग्लाइडिङ, हाइकिङ, फुटसल खेल, बास्केटललगायतका कार्यक्रमहरुसंग जोडेर प्रचार अभियान गर्नुभयो ? किन यस पटक यत्रो प्रचार गर्नुपर्यो ?

: यायोक्खाले छैठौं महाधिवशेनबाट किरात प्रदेशको कुरा उठायो, यो उठाइरहदा खेरी यो विचमा सातौ, आठौ, नवौं, महाधिवेशन भइसकेको छ । यसमा नवौं महाधिवेशनको कार्यसमितिले काम गरिरहेको छ । अहिले नै संविधान अनुसार प्रदेशसभाबाट नामाकरणको टुङगो लगाउने कुरा उठिरहेको छ । हाम्रो नियमित अधिवेशनको प्रक्रिया त गरिरहेका छौ, थप नामाकरणको विषयलाई मुख्य मुद्दा बनाएर प्रचारात्मक ढंगबाट दबाबमुलक अभियानहरु चलाएका हौ । सम्बन्धित पक्षबाट के कुरा गरिरहेको छ भन्ने ध्यानाकर्षण गर्नको लागि रचनात्मक कार्यक्रमहरु गर्नुपर्ने नै रैछ, त्यसैको लागि पनि हामीले प्रचार अभियानमा धेरै कार्यक्रमहरु जोडेको हो ।

प्रश्नः धरानमा तेस्रो पटक यायोक्खाको महाधिवेशन हुदैछ, यसपाली धरानलाई नै किन रोज्नु भयो ? यहाँबाट किरात प्रदेशको लागि दबाब सिर्जना गर्न सकिन्छ भनेर नै हो ?

: हामी यस भुगोलमा बस्छौं, हाम्रो धेरै साथीहरु काठमाडौमा बस्नुहुन्छ तर, जो भुगोलमा बस्छ, प्रत्यक्ष असर भुगोलमा बस्नेलाई हुन्छ । यही भुगोलमा नामाकरणको विषय उठिरहेकोले महाधिवेशनसँगसँगै अभियान चलाउन सक्यौ भने दबाब सिर्जना गर्न सक्यौ भने एकै पटक दुईवटा काम हुने भयो । किरात प्रदेशको अभियान र महाधिवेशन अनि अर्को कुरा धरान पहिचानबादीहरुको मुख्य थलो, सञ्चार माध्यम, प्रबुद्ध व्याक्तिहरुको थलो भएकोले हामीले गरेको अभियानको प्रचार दुर–दुरसम्म जानेभयो । हाम्रो मुख्य एजेण्डा पनि यही भुगोलमा रहेकोले किरात प्रदेशको अभियान चलाउनको लागि हाललाई यहीँ उपयुक्त देख्यौं । त्यसैले यही ठाउँ रोज्यौं । हामी अरु ठाउँपनि गर्न सक्थ्यौं तर, सुनसरी चलायमान जिल्ला पनि हो र मेरो गृह जिल्ला पनि भएकोले काम गर्न सहज हुने हुँदा धरानलाई नै रोज्यौं ।

प्रश्नः किरायाको १० औं राष्ट्रिय महाधिवेशनको मुख्य एजेण्डा चै के छ ?

: हाम्रो मुख्य एजेण्डा भनेको प्रदेश नं १ को नामकरण ‘किरात’ प्रदेश नै हो । किनकी हामीले छैठौ महाधिवेशनदेखि लगातार किरातको मुद्दा उठान गरेर आइरहेका छौं र अहिले प्रदेश सभामा हिउदे अधिवेशनले नामाकरणको टुङगो लगाउने भएकोले यसैमा हामी केन्द्रीत छौं ।

प्रश्नः ‘किरात’ भन्ने वित्तिकै गैरकिराती र किरात भित्रकै जाती पनि तर्सिन्छन्, यस बारे प्रष्ट पारिदिनस् न ?

: किरात नाम हुने वित्तिकै अलमलिनु पर्ने, भ्रम पर्नुपर्ने त म देख्दिन । तर, विगतमा अलिक पहिचानबादीहरुको आन्दोलनको क्रममा त्यो अलिक भड्कीलो स्वभावमा भयो । अन्य समुदायले बस्नै नपाउने जस्तो, खेदिने जस्तो, करै उठाउला जस्तो भएकोले अन्य समुदाय सशंकित भएको हो । हामी के आग्रह गर्न चाहन्छौं भने नाम राख्ने वित्तिकै त्यही समुदायको हाली मुहाली कदापी हुदैन, अहिलेकै राज्यव्यावस्था र कानुन चल्ने हो । हामीले हाम्रो पहिचान देउ, पहिलाको संस्कृति, सभ्यतालाई निरन्तरता देउ मात्र भनेको हो ।

पहिचानको कुरामा तथ्यसहित भएको ‘किरात’ भन्दा अरु के हुन सक्छ त ? केही छ त ? छैन नी हैन, त्यसैले यसलाई निरन्तरता दिउ मात्र भनेको हो । अनि हामीले मात्र ‘किरात’ को कुरा उठाइरहेकोले अन्य साथीहरुले जातीय मुद्दा पो होकी भन्ने सोचिरहनुभएको होला तर, हैन किरात भनेको सभ्यता हो, सँस्कृति हो, धेरै बुद्धिजिवीहरु यसैमा सहमत हुनुहुन्छ र बोल्नु पनि भएको छ । त्यसैले ‘किरात’लाई साझा रुपमा हेर्नुपर्यो ।

प्रश्नः किरातको विषयमा अन्य पहिचानबादी संगठन, शक्तिहरु नै विमति जनाइरहेका छन् नी ?

: प्रदेश १ को नामाकरण पहिचानको आधारमा हुनपर्छ भनेर अन्य पहिचानबादी शक्तिहरुले पनि कुरा उठाइरहनुभएको छ, यो राम्रो कुरा हो यसमा हाम्रो पनि सहयोग छ । त्यसमा पनि पहिचानको आधारमा लिम्बूवान राख्ने कि, किरात राख्नेकी यसमा छलफल गर्न सकिन्छ । तर, पनि हाम्रो मुद्दा ‘किरात’ नै हो, लिम्बुवान साथीहरुको ‘लिम्बूवान’ नै हो, तर हामीले अब निर्णय गर्नपर्ने समयमा आइपुगेको छौं । अब निर्णय गर्नुपर्ने बेला भयो, नत्र हामी बाझीराख्यौ भने हामीलाई अलमलाएर अन्य भुगोलको नाममा अन्य प्रदेशमा भएजस्तो नाम आयो भने के गर्ने ? त्यसैले अहिले हामी सचेत हुने बेला आयो । त्यसको लागि लिम्बूवानबादी संस्था मोर्चाहरुलाई म के आग्रह गर्न चाहन्छु भने अहिले निर्णय गर्ने समय आइसकेको छ । यसलाई हामीले त्यतिकै उम्किन दियौ भने फेरी हामीले धेरै लामो अध्याय पार गर्नुपर्ने हुन्छ । त्यसैले, एक ठाउँमा आउँ ।

प्रश्नः अहिले पहिचानबादी शक्तिहरु एक हुन सकेको छैन, त्यस्तो कुनै शक्ति छ ? एक हुन नदिने ?

: अहिलेको मुल राजनीतिक दलहरु त त्यस्तै देखियो त, नत्र के समस्या छ ? नामाकरण गर्नको लागि दुई तिहाइको सरकार छ, सविधानले नै व्यावस्था गरेको छ प्रदेशसभाको दुई तिहाइ सांसदले निर्णय गर्ने अधिकार छ भनेर । विभिन्न राजनीतिक घटना क्रममा उहाँलहरुले पनि पहिला उठाएको मुद्दा हो । सबै दलहरु मिल्दा त १ सय प्रतिशत नै छ नी । त्यसैले, पहिचान पक्षधरहरुलाई निस्तेज पार्ने अघोषित रुपमा धेरै काम भएको छ । खेल्न सक्ने धेरै ठाउँहरु छन् । सङका गर्ने ठाउँ धेरै छ ।

प्रश्नः किराया एउटा सामाजिक संस्था किरायाले उठाएको अहिलेको मुद्दा राजनीतिक दलले उठाउनुपर्ने हो ?

: हामी हाम्रो समुदायको सर्वाङगीण बृद्धि विकासको लागि स्थापना भएको हो । त्यसमा माग र मुद्दाहरु राजनीतिक प्रकृतिको हुनसक्छ, आर्थिकसँगको पनि हुनसक्छ । सभ्यता र संस्कृतिको पनि हुनसक्छ तर देशमा जुन राजनीतिक परिवर्तन भएको छ, त्यसले त समुदायलाई छुन्छ । छुइसकेपछि पहिचानको कुरा र हक अधिकारको कुरा आयो । पहिचान र हक अघिकार सबैको कुरा आइसकेपछि त्यसलाई के ले स्थापित गर्छ भन्दा राजनीतिक बाटोबाटै स्थापित हुने हो । त्यसैले हामीले यो माग र मुद्दालाई राजनीतिक रुपमा पनि उठाएका छौं । हामीले यो माग र मुद्दा उठाइरहदा खेरी अरुलाई किरायाले राजनीतिक मुद्दा उठायो भन्ने लाग्न सक्छ । स्वभावीक पनि हो ।

प्रश्नः किरात राई यायोक्खाले कुनै योगदान अथवा आन्दोलन नगरी माग सम्बोधन हुनलाग्यो भन्ने पनि होला नी ?

: हामीले पनि लामो त्याग तपस्या गर्यौ, वलिदानी गरेका छौ । हामी निरन्तर रुपले यो भुगोलमा बस्यौ, यायोक्खा स्थापना हुनभन्दा अघि पनि हामी विभिन्न संघसंस्थामा बसेर विभिन्न अभियान चलायौ । किरायाको दर्ता संस्थागत रुपमा पछि भयो होला तर हाम्रो भाषा, संस्कार संस्कृतिको कुरामा कुनै न कुनै रुपमा हाम्रो अगुवाहरुले आवाज उठाएका थिए । त्यसवेला अगुवाहरु थिए, र त्यसैको निरन्तरता हो यो । यो समुदायले राणाकालिन अवस्था, २००७ सालदेखि ०३६ सालको क्रान्ति ०६२–०६३ को जनआन्दोलन धेरै भोग्दै आएको छ । त्यसैले जुन ठाउँमा पहिचानको कुरा उठ्यो भने सबैको त्यसमा योगदना निश्चय पनि हुन्छ ।

प्रश्नः ३ वटा प्रदेशको नामाकरण भुगोलको आधारमा भयो, अब १ नम्बर प्रदेशलाई ‘किरात’ नामाकरण गर्ला त ?

: दलका नेता र दलहरुलाई अहिले यो एउटा मौका छ । अरु प्रदेश भन्दा एक नम्बर प्रदेश हरेक हिसावले तथ्य, इतिहासको आधारमा ‘किरात’ राख्नको लागि उपयुक्त छ । अनि, राजनीतिक दलहरुले विभिन्न काल खण्डमा समुदायको आधार बनाएर यो भुगोल, संस्कृति सभ्यतालाई आधार बनाएर कुनै–कुनै आन्दोलन भएको छ त्यसकारणले अहिले एक नम्बर प्रदेशलाई पहिचानको आधारमा नामाकरण गर्न दलहरुको लागि मुख्य अवसर हो, अरु प्रदेशमा चुकेको छ । राजनीतिक दलहरुले सहमती सहकार्य गरेर अब एक नम्बर प्रदेशबाट अभ्यास गर्न सक्छन् । यदी त्यो अभ्यास गर्दा फरक ढंगबाट केही कुरा आए छलफल गरौला ।

प्रश्नः तपाइको भनाइ अनुसार प्रदेश १ लाई किरात नामाकरण गर्न धेरै तथ्य आधार छन् ?

: छन् त्यो आधार र तथ्यहरु छन् । तर, किरात नामाकरण गरेपछि परिणाम के आउला भन्नुहोला । त्यो परिणाम देखिएपछि मात्र थाहा हुन्छ । पहिला नामाकरण गरौ न, परिणाम गलत आयो भने छलफल गरौला । तर, काम नै नगरी परिणाम के आउला भनेर सोच्यौ भनेत केही पनि निर्णय गर्न सक्दैनौ नी त ।

प्रश्नः तपाईको तिन वर्षे कार्यकाल कस्तो रहयो ? के–के कामहरु भए ?

: सहज ढंगबाट सबैको सल्लाह सुझाबबाट हामीले राम्रो काम गरेका छौं । रामै ढंगबाट कार्यकाल सकिदैछ । अब महाधिवेशनको अन्तिम दिन २१ गते यसलाई परिणामुखी ढंगबाट सकिएपछि रामो हुन्छ ।

प्रश्नः अस्थीर राजनीति चलिरहेको अवस्थामा तपाई नेतृत्वमा पुग्नुभयो, तपाई नेतृत्वमा रहदा धेरै राजनीतिक घटनाक्रमहरु जस्तो की संविधान लेखन, घोषणा गर्ने काम, तीन तहको चुनाव भए ?

: किरात राई यायोक्खा ठुलो संगठन हो, यसको २८ वटा जिल्ला संगठन छ एक हजार भन्दा बढी प्राकासहरु छन् । भातृ भाषिक र विदेशमात्र १७ वटा शाखाहरु छन् । यसको आयतन र आकार ठुलो भइसक्यो । यसको नेतृत्व गर्न ठुलो बद्धिमता चाहिन्छ । धेरै राजनीतिक घटनाक्रम भएर संविद्यान लेखन, घोषणा, सविद्यान कार्यान्वयन राज्यपुर्नरसंरचना भए । तिनै तहको निर्बाचन भए । कतिमा हामो प्रतिनिधि साथीहरु उठ्नुभयो, हामी पनि उठ्यौ तर, व्यापक राजनीतिक धु्रविकरण हुने सम्भावना थियो तर, त्यसलाई पनि राजनीतिक ध्रविकरण नगरी पूर्वाग्राही नराखी यायोक्खालाई राजनीतिक हस्तक्षेप र आग्रह पूर्वाग्रहविना अहिलेसम्म ल्याएको छौं । यो एउटा हाम्रो राम्रो पक्ष हो । अहिले पनि सहमतीको आधारमा १० औं राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयन गदैछौं ।

प्रश्नः अबको नेतृत्व कस्तो हुनुपर्छ होला ?

: यायोक्खाको आयातन र आकार बढिसकेको छ । त्यसैले हामीले नेतृत्व क्षमता बढाउन जरुरी छ । सबैलाई मिलाएर लान सक्ने हुनुपर्यो । परिपक्क साथीहरु हुनुहुन्छ, त्यसमा साथीहरुलाई मेरो सुझाब भावनात्मक सम्बन्धमा बनेको संस्था कसैलाई सानो चोक पर्यो भने पनि काम गर्न गन्तव्यमा पुग्न गाह््रो हुन्छ । अग्रजहरुले जुन अपेक्षा गर्नुभएको हुन्छ, त्यही अनुसार अग्रजहरुको सल्लाह सुझाब अनुसार काम गर्नुपर्यो । समय पर्याप्त दिनुपर्छ । सामाजिक संस्था हो यसको आम्दानी छैन् । आफैले खर्चको व्यावस्था गरेर चलाउनुपर्ने । सबै मातहतका संगठनहरुलाई चुस्त बनाउनुपर्यो । सबैलाई सम्मान र चनौतीहरुलाई स्विकार गर्ने हुनपर्यो ।